‘नागरिक र प्रेस स्वतन्त्रता झनै कुण्ठित’

 

जनकपुर  : धनुषाका अधिकारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताले सङ्घीय सरकारले जस्तै प्रदेश २ सरकार पनि जनभावनाविपरीत जान थालेको भन्दै आलोचना गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा धनुषाको जनकपुरमा भएको अन्तरक्रियाका वक्ताहरूले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर झनै विभेद गर्न खोजेको भन्दै सरकारको आलोचना गरे ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल कर्णले सङ्घीय सरकारले मात्रै नभएर प्रदेश २ सरकारले समेत पत्रकारलाई नियन्त्रण गर्ने गरी कानुन ल्याउन लागेको भन्दै आपत्ति जनाए । उनले पहिले विभेदका विरुद्ध लडेकाहरू सत्तामै पुगेर फेरि विभेद गर्न थालेको गुनासो गरे ।

नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कर्णले अहिले पनि सरकारले पत्रकारलाई विभिन्न नाममा झूट्टा मुद्दा लगाएर फसाउने प्रयास गरेको बताए । उनले प्रदेश २ सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन ल्याउन खोजेको भन्दै आपत्ति व्यक्त गरे ।

नेपाल बार एसोसिएसन धनुषाका अध्यक्ष रामनेक शाहले सरकारको राजनीतिक चरित्र नफेरिएको टिप्पणी गरे । उनले पटकपटक हुने आन्दोलन त्यसै खेर गइरहेको पनि बताए ।

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर कार्यालयका निमित्त प्रमुख इन्द्रजित सोहनीले सरकार मानवअधिकार कुण्ठित गर्न अग्रसर रहेको भन्दै आपत्ति व्यक्त गरे । प्रदेश २ मा मानवअधिकारको अवस्था दयनीय रहेको भन्दै उनले थप बहसको आवश्यकता रहेको बताए ।

नेकपाका सल्लाहकार समितिका सदस्य रामलखन महतोले सरकार निरङ्कुश बन्दै गएको भन्दै विद्रोह आवश्यक रहेको धारणा व्यक्त गरे । वैज्ञानिक समाजवाद नआएसम्म कुनै समस्या समाधान नहुने उनको भनाइ थियो ।

वामपन्थी बुद्धिजीवी रोशन जनकपुरीले अहिलेसम्म सरकारले मान्छे हुन नै नदिएको टिप्पणी गरे । अहिले पनि मालिक र दासको जस्तो अवस्था रहेको भन्दै उनले मानव बनेको दिन मात्रै मानवअधिकार हुने उल्लेख गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता उग्रनाथ झा र अधिवक्ता हेमन्तकुमार कर्णले सरकारले संविधान कार्यान्वयनमा चासो नदेखाएको भन्दै आलोचना गरे ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले अभियान देशभर सञ्चालन गरिरहेको छ । कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट र सचिव सिर्जना तिम्सिना जनकपुर पुगेका थिए । जनकपुरपछि सिन्धुलीमा कार्यक्रम आयोजना गरिएको छ ।

२०७५ कात्तिक २० गते मंगलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :