झूट्टो सरकार, झूट्टो मुद्दा र २५ दिन प्रहरी हिरासत

२७ साउन, २०७५ का दिन दिउँसो ३ः३० बजे नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लक्ष्मण उप्रेती र म वीरगन्जको पावर हाउस चोकबाट पूर्वतर्फको सडकमा हिँडिरहेका थियाैँ । एक्कासि प्रहरीका दुईवटा भ्यान हामीनजिक रोकिए । २०/२२ जना बन्दुकसहितका प्रहरीले अपहरणशैलीमा हामीलाई घेरा हाली गिरफ्तार गरेर भ्यानमा बसाले । हामीलाई सरासर जिल्ला प्रहरी कार्यालय पर्सामा पु¥याएर प्रहरी हिरासतका बेग्लाबेग्लै कोठामा हुलियो । जबर्जस्ती चन्दा असुली र सङ्गठित अपराधको थुनुवापुर्जी बुझाइयो । हाम्रो साथमा रहेको ब्याग, मोबाइल, एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद लेखिएको जनमार्च मासिक पत्रिका, विज्ञापन बिल र रसिद खोसेर लिइयो । गिरफ्तार गरेको भोलिबाट म्याद थप्न अदालतमा लगियो । न्यायाधीशसमक्ष हामीले हामीमाथि लगाइएको अभियोग सरासर झूट्टा हो भन्ने बयान दियौँ । प्रहरीले पटकपटक नेकपाका लागि तिमीहरूले जबर्जस्ती विभिन्न व्यक्ति, सङ्घसंस्था, सरकारी कार्यालयबाट जबर्जस्ती चन्दा किन उठाएका छैनौ ? ५/७ लाख चन्दा उठाएको प्रमाण हामीले सङ्कलन गरेका छौँ भन्ने प्रश्न सोध्यो । हामीले जबाफ जनमार्च मासिक पत्रिकाका लागि प्रस्तावित विज्ञापन, बिल र रसिद प्रयोग गरेका हौँ । नेकपाका लागि हामीले चन्दा उठाएका छैनौँ । कुनै पनि साङ्गठनिक अपराधमा संलग्न भएका छैनौँ भन्यौँ ।

मैले आफ्नो परिचय दिँदा– विप्लव नेतृत्वको नेकपाको विचार र कार्यदिशाको समर्थक हुँ । म उत्थान साप्ताहिकको सम्पादक, जनमार्च मासिकको अतिथि सम्पादक र रातो खबर साप्ताहिकको संवाददाता हुँ भनेँ । हामीसँग भएको मोबाइलको कल डिटेल लिएर– विभिन्न मानिससँग पार्टीको रणनीतिका बारेमा कुराकानी गरेको पाइयो । ती पार्टीका कुन हैसियतका, कोको व्यक्ति थिए भनियो । हामीले पार्टीका साथी, बाहिरका साथी, घरपरिवारसँग कुरा भएको हो भन्यौँ । बयान लिँदा शारीरिक यातना नदिए पनि मानसिक यातना भने हामीले महसुस ग¥यौँ । प्रहरीले हामीमाथि फौजदारी अभियोग लगाए पनि, राजनीतिक व्यवहार नदेखाए पनि मानवीय व्यवहार भने प्रस्तुत गरेको थियो । पत्रपत्रिका पढ्न दिएको थियो । बिहानबेलुकी दाल, भात र तरकारी उपलब्ध गराइएको थियो । प्रहरी हिरासतको ५ नं. कोठामा लक्ष्मणजी र मलाई एकैसाथ २३ दिनसम्म सुत्न र बस्न दिएको थियो । एकजना डीएसपीले हालै बजारमा उपलब्ध नेपाली काङ्ग्रेसका नेता एवम् हवाईजहाज अपहरणकर्ता दुर्गा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ शीर्षक पुस्तक उपलब्ध गराउनुभएको थियो । क्रान्तिकारीहरू सबैले पढ्नैपर्ने उक्त पुस्तक पढेर हाम्रो मनोबल उच्च बन्यो । सच्चा क्रान्तिप्रति उत्सर्ग हुन थप प्रेरणा मिलेको मैले महसुस गरेँ ।

पत्रकारिता पेसा एउटा कलम सङ्घर्ष हो । शासक–प्रशासकले देश र जनतामाथि गर्दै आएको ज्यादतीका विरुद्ध सत्य, न्याय, स्वतन्त्रता र समानताका पक्षमा शासकप्रशासकले थोपर्ने कुशासनका विपक्षमा मैले ३५ वर्षदेखि निरन्तर कलम चलाउँदै आइरहेको छु । पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थामा कलम सङ्घर्षकै क्रममा जेलनेल, प्रहरी हिरासत, सैनिक हिरासतमा बस्ने मौका पाएँ । यसलाई म राम्रो अवसरकै रूपमा लिन्छु । झूट्टो सरकारको असत्य बाटोका विरुद्ध कलमद्वारा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्दा सरकारले हतकडी लगाएर थुनामा राख्छ भने त्यसले मलाई फाइदा र शासनसत्तामा रहेका अन्धा मानिसलाई बेफाइदा पुगेकै हुन्छ । जनमुक्ति र राष्ट्रिय मुक्तिका पक्षमा लड्नेको यस संसारमा हार भएको इतिहास छैन । राष्ट्रघाती, जनघाती, दलाल अवसरवादी शासक, प्रशासकले आफूलाई जतिसुकै शक्तिशाली ठानेर ज्यादती गर्दै गएको खण्डमा उसको पतन निश्चित छ । शोषित, उत्पीडित, गरिब, बेरोजगार, श्रमिक जनताको बृहत् हित देशको सर्वोपरि हित र स्वार्थका पक्षमा हुने कुनै पनि सङ्घर्ष, आन्दोलन, युद्ध र जनक्रान्तिमा मेरो सक्रिय सहयोग हुनेछ । यो मैले गर्दै आएको प्रण हो । प्राण नै गए पनि म आफ्नो आत्मनिर्णयको अधिकार छोड्न सक्दिनँ । विप्लव नेतृत्वको नेकपाले अघि सारेको ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ र विचार नेपालको आवश्यकता र नेपालीको चाहना हो । यसको विकल्प छैन । समय र परिस्थितिको माग हो । नेकपा एक मात्र वैकल्पिक शक्ति हो । मेरो कलम सङ्घर्ष यसै सेरोफेरोमा अघि बढ्दै जानेछ । हरेक क्रान्तिकारी, देशभक्त पत्रकारले नेकपाका राम्रा कुरालाई औँल्याउने नीतिअन्तर्गत कमल सङ्घर्ष गर्ने हो भने मात्र नेपाल र नेपालीको सर्वोत्तम हित हुन जानेछ ।

हामीलाई थुनामा राखेको २५ औँ दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट जिल्ला अदालत पर्साको २ नं. इजलासमा लगियो । हाम्रातर्फबाट नेपाली काङ्ग्रेसका नेता एवम् वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली, कानुन व्यवसायी कमलमोहन पोखरेललगायत चारजना वकिलले बहस गर्ने क्रममा हाम्रो पक्ष निर्दोष भएकाले साधारण तारेखमा छाड्ने आदेश होस् भनेका थिए । न्यायाधीशले साधारण तारेखमा हामीलाई छाड्ने आदेश गरेका थियो । वरिष्ठ अधिवक्ता नेपालीले मेरो पक्षका अभियोगी नेकपा समर्थक रहेका र विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्धसमेत नलगाएको अवस्थामा ‘जनमार्च मासिक’ साथमा लिएर हिँड्दा पक्राउ गर्नु गैरकानुनी हो । प्रहरीले गिरफ्तार गरी २५ दिनसम्म थुनामा राख्दा उहाँहरूको ठूलो क्षति भएकाले दुःख दिनेहरूबाट क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ भन्ने मागदाबी गर्नु भएको थियो । प्रचलित कानुनले समेत नठहर्ने प्रमाणबेगरको झूट्टा मुद्दा लगाई हामीलाई सास्ती दिइयो । मानसिक तनावले गर्दा हाम्रो स्वास्थ्य स्थिति बिग्रिएको छ । पुँजीवादी दलाल सरकारका खराबीहरू निर्लज्ज तरिकाले जनसमक्ष प्रकट भएका छन् । म थुनामा रहेको बेला सहानुभूतिपूर्वक सहयोग गर्नुहुने पार्टीका कमरेडहरु, घरपरिवार, इष्टमित्र, साथीभाइ, पत्रकारकर्मी साथीहरू, मानवअधिकारकर्मी, कानुन व्यवसायीलगायत सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक सबैमा कृतज्ञता ज्ञापन गर्दछु । न्याय, स्वतन्त्रता, समानता र देशभक्तिका पक्षमा हुने सम्पूर्ण क्रान्तिकारी कदमहरूमा अग्रीम मोर्चामा रहने प्रण गर्दछु । कलम समाउने हातमा नेल लागेको छ । नेल मजस्ता क्रान्तिकारी, सङ्घर्षशील जीवन बिताउन चाहने पत्रकारहरूका लागि गहना साबित भएको छ । मेरो चाहना परिवर्तनका लागि शासन सत्ताका पक्षमा रहेर जनताका लागि कलम चलाउने हो । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक विकृतिपूर्ण दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध प्रखर ढङ्गले उभिएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले भनेझैँ क्रान्तिकारीहरूका निम्ति जेल एउटा सङ्घर्षको मोर्चा हो । उनीहरू सजिलै यो मोर्चालाई स्वीकार गर्छन् । उनीहरू क्रान्ति र परिवर्तनका लागि जेल, नेल र यातना स्वीकार गर्न हरपल तम्तयार हुन्छन् । जनतामा क्रान्ति र परिवर्तनको सपना बाँड्दै हिँडेका र अहिले मलगायत जेल–हिरासतमा रहेका नेकपाका नेता–कार्यकर्ताले पनि जेल हिरासतलाई सङ्घर्षको मोर्चा मानिरहेको बताउनुभएको छ । नेकपाका समर्थक, नेता, कार्यकर्ता सबैले यो भनाइलाई सहर्ष स्वीकार गर्न सक्नु पर्दछ । भयावह पीडाबाट छट्पटाइरहेको नेपालमा क्रान्तिकारी विचार र स्वभाव सबै न्यायप्रेमी, परिवर्तनकामी, देशभक्त नेपालीहरूमा लुकेर बसेको छ । यो अवश्य प्रकट हुन्छ नै । अहंवादी र अधिनायकवादी चरित्र र वर्तमान सरकारको व्यवहार विनास र पतनको बाटो हो । सबैको जीवनरक्षा र सम्मान महत्वपूर्ण कुरा हो । हामीले हरेक कुरा अझ बढी उन्नत रूपमा निर्माण गर्नुपर्दछ । राष्ट्र निर्माण स्वभिमान र स्वधीनताको रक्षा हाम्रो लक्ष्य हुनुपर्दछ । मेरो पत्रकारिता यात्रा निरन्तर यात्रा अझै बाँकी छ । म अथक प्रयासमा छु । मैले देश र जनताका लागि योगदान दिन सकिनँ भने मेरो जीवन तुच्छ हुन्छ । यसको के अर्थ रहन्छ । सर्वोच्च सगरमाथाझैँ उन्नत रहोस् । हामी सबैको क्रान्तिकारी नैतिकता र चरित्र माक्र्सवादको पक्षपोषण गर्न नसक्ने कम्युनिस्ट भनाउँदाहरूको के अर्थ हुन्छ र ? सङ्घर्षको सुख नै सर्वोत्तम सुख हो भनेर म्याक्सिम गोर्कीले यसै भनेका होइनन् ।

बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो । अपराधीहरूलाई नियन्त्रण गर्ने नाममा नेकपाका नेता प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरियो । ‘निश्चित रूपमा जसले कानुनलाई उल्लङ्घन गर्छ जसले विधिलाई उल्लङ्घन गर्छ त्यसलाई हामी अपराधी भन्छौँ । चन्दाआतङ्क र राज्यका विरुद्ध ध्वंसात्मक गतिविधिमा प्रकाण्डको समूह संलग्न भएकाले उनलाई पक्राउ गरिएको हो । उनी वान्टेड व्यक्ति पनि हुन्’ भनेर कडा रूपमा प्रस्तुत भएका गृहमन्त्री रामबहादुर थापाको यो भनाइले राजनीतिक समस्या समाधान राजनीतिक रूपमा हुन्छ त ? यो भनाइले वार्ताका लागि राजनीतिक वातावरण निर्माण गर्दछ कि मुठभेडको स्थिति निम्त्याउँछ ? अदालतले रिहा गरेको लगत्तै प्रहरीले पटकपटक गिरफ्तार गरेर कानुन र सुरक्षाको जुन खिल्ली उडाइरहेको छ, के यसले गृहमन्त्री थापालाई व्यक्तिगत लाभ पुग्ला ? तिम्रो यो संसारमा के नै छ र ? जसका लागि तिमी घमण्ड गर्छौ ? मूर्ख आफूलाई पनि जान्दैन, अरूलाई पनि मान्दैन भन्ने भनाई चरितार्थ नपार । सके सपार, नसके नबिगार । नेपालीलाई नेपाल बनाउने जिम्मेवारी देऊ । विदेशीको दलाल बनी विदेशी स्वार्थको रक्षा गरेर नेपाल र नेपालीको जय हुन सक्दैन । आमनेपाली जनताको क्वालिटी अफ लाइफ के हो ? के नेपाली जनताको साथी आँसु नै हो । अधिकार पदसँग आउँछ, पदसँग जान्छ तर प्रभाव चिरस्थायी हुन्छ भन्ने कुरा गृहमन्त्री थापाले बुझ्न जरुरी छ । एक थोपा मसीले भयानक विचारको प्रतिनिधित्व गर्दछ भनेझैँ विप्लवको इमानदारीपूर्ण राजनीतिक योगदानले यतिखेर लगभग ध्वस्तै हुन लागेको नेपालको सही प्रतिनिधित्व गरिरहेको छ । ओली, प्रचण्ड र बादलले चलाएको प्रशासनले झूट र असत्यको सहारा लिइसकेको छ । यसले नेपाल र नेपालीको कल्पना गर्न सक्दैन । दुईतिहाइ बहुमतको वामपन्थी सरकार छोटो अवधिमा नेपालकै इतिहासमा पहिलोपटक अति आलोच्य र बदनामी भइसकेको छ । ओली सरकार निकम्मा, निरीह र असफल बनिसकेको छ । निभ्ने बेलाको बत्ती भनेझैँ पतन हुने बेलाको यो सरकारको यतिखेरको बलियो अस्त्र भनेको चरम दमन नै हो । जहाँ दमन त्यहाँ विस्फोट । जनक्रान्तिको नियम नै हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ओली सरकारका लागि काउसो र आम नेपालीका लागि राष्ट्रिय बोझ साबित भइसकेको छ । दमन, झूट र असत्यको सहारा लिएको यो सरकारबाट सबै नेपाली जनताले सास्ती नै पाइहरेका छन् । ओली सरकारको झूट र दमन अब धेरै दिन टिक्न सक्दैन ।

२०७५ असोज २९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :