समृद्धिको उल्टो यात्रामा सरकार

अम्बिका चन्द / काठमाडौँ : आफूलाई शक्तिशाली बताउने सरकारले व्यवहारमा नागरिकलाई महसुस हुने खालका केही काम गर्न नसके पनि दिनहँु शान्ति, समृद्धि र विकासको नारा दिइरहेको छ । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छिटै नै पानीजहाज र रेल चलाउने रटान लगाइरहँदा सुन्नेहरूले आजभोलि रेल र पानीजहाज भन्ने थेगोलाई नै मजाकको विषय बनाउने गरेको पाइन्छ । सामाजिक सञ्जालका भित्ताहरूमा होस् वा चौतारीका चियापसलमा, सार्वजनिक सवारीसाधनमा अटाइनअटाई ठेलमठेल यात्रा गर्नेहरू किन नहोऊन्, केपीले भन्ने गरेको पानीजहाज र रेलका विषयमा गतिलै तरिकाले व्यङ्ग्य गर्दछन् । सोमबार मात्र काठमाडौँ रिङरोडमा महानगरको बसमा यात्रारत एकजना यात्रु भन्दै थिए, ‘केपीले पानीजहाज र रेल ल्याउनुभन्दा काठमाडौँ सडकको जाम हटाएको भए हुने थियो ।’

माथि गाडीमा सवार ती युवाले भनेजस्तै सरकारले जनतालाई ठूला परिवर्तन, विकास र समृद्धिका सपना मात्र देखाएको छ । जनतालाई सामान्यतः यो सरकार कम्युनिस्ट र शक्तिशाली सरकार हो भन्ने अनुभूति हुने काम गरेको छैन । अहिले समाजमा हत्या, हिंसा र बलात्कारका डरलाग्दा घटनाहरू वृद्धि हुँदै गएका छन् । आइतबार मात्र राजधानीमै एक अबोध ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको र समयमै सूचना पाएर पनि प्रहरीले बालकलाई बचाउन नसक्नुले राज्यको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने कुरा प्रमाणित गरेको छ । राजधानीभित्रै भएको उक्त बालक हत्याको विषयलाई लिएर अन्य विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकहरू त्रसित भएको अवस्था छ । यस्तै दिनदिनै बलात्कार र हत्याहिंसाका घटनाहरू भइरहेका छन् । यस्ता विषयमा घटनामा संलग्नलाई सुरक्षा संयन्त्रले पक्राउ गर्ने, आवश्यक दण्ड दिने र जनतालाई शान्तिसुरक्षाको बोध गराउन सकेको छैन । दिनदहाडै हुने व्यक्ति हत्या, आतङ्क, लुटपाट, बलात्कार, कालोबजारी कमिसनका घटना रोक्नेतर्फ सरकार उदासीन देखिएको छ । उल्टै सरकार यो देशमा जनताको उन्नत समाजवादी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुनुपर्दछ भन्ने मान्यतामा अघि बढेको राजनीतिक पार्टी नेकपाका नेता–कार्यकर्ताहरूलाई जेल र हिरासत हाल्न र झूट्टा मुद्दा लगाउनेतर्फ अग्रसर छ । सरकारी अधिकारीहरू भन्ने गर्दछ– यो देशमा विप्लव सबैभन्दा सुरक्षा चुनौती हो । राज्यले के बुझ्नु पर्दछ भने नेकपा समस्या होइन, समाधान हो । दलाल संसदीय व्यवस्थाविरुद्ध समाजको आमूल परिवर्तनका पक्षमा आवाज उठाउने क्रान्तिकारी तप्का हो । बरु समस्या त दिनदहाडै व्यक्ति अपहरण गरी हत्या गर्नेहरू हुन् । समाजमा निर्दोष बालिका बलात्कार गर्नेहरू समस्या हुन् । टेबुलमुनिबाट घुस लिने कमिसनखोर र दलालहरू समस्या हुन् । यस्तै बढ्दो बेरोजगारी र महँगी अर्को समस्या हो ।

समृद्ध नेपालको भाषण गरेर नथाक्ने सरकारले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बाढी र पहिरोमा परी दर्जनौँ मानिसको ज्यान जाँदा पनि उद्धार र राहतमा तदारुकता देखाउन सकेन । तराई क्षेत्रमा सयौँ बस्ती डुबानमा परेर ठूलो धनजनको क्षति हुँदा सरकारी निकाय मूकदर्शक बन्यो । देशका विभिन्न ठाउँमा मानिसको ज्यान गइरहँदा र अझै पनि कतिपय नदीआसपासका दर्जनौँ बस्ती उच्च जोखिममा रहँदा पनि उक्त बस्ती स्थानान्तरण, उद्धार र राहतका लागि कुनै पहल र पूर्वतयारी गरेको छैन । सचेत रहनु भनी मौखिक आदेश दिनेबाहेक अन्य कुनै ठोस कार्यक्रम अगाडि ल्याउन सक्ने अवस्थामा सरकार देखिँदैन । समाजमा दिनदिनै हत्याहिंसाका घटनामा कुनै कमी नआउँदा र प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति हुँदा पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन सरकार असफल देखिएको छ । यावत् कारणहरूले गर्दा आफूलाई राष्ट्रवादी भन्ने केपी सरकार दिनदिनै असफल र आलोचित बन्दै गएको छ । आममानिसलाई सरकार समृद्धिको दिशामा नभई उल्टो दिशामा अघि बढिरहेको अनुभूति भइरहेको छ ।
२०७५ साउन २३ गते बुधबार दिउँसो १२ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :