सञ्चार कि दलाल सत्ताको मतियार

Money nepसञ्चारलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक मानिन्छ । यो भनाई सुन्दा जति आकर्षक र आदर्शमय छ, त्यतिकै भ्रमित र झुठको पोको हुने गर्दछ । यथार्थमा सञ्चार सधैं आर्थिक र राजनैतिक मिशनबाट स्थापित र परिचालित हुन्छन् । सत्ता र विदेशी शक्तिकेन्द्रको तावेदारी गरेर पेट पाल्नु र विवेक बेच्नु उनीहरुको मूल प्रवृत्ति बन्ने गर्दछ । नेपालका ठूला सञ्चार गृह र हर्ताकर्ता त्यो रोगबाट पृथक छैनन् । आइतबारको नागरिक दैनिकको सम्पादकीय हेर्दा त्यसप्रकारको दलाली, झूठ, गैरजिम्मेवार र विवेकको बिक्रि गरेर पेट पाल्ने सञ्चारमध्ये नेपालमा ‘नागरिक’ दैनिक अग्रपङ्तीमा रहेको छ । 

सबैलाई थाहा नै छ चितवनस्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका चर्चित डाक्टर भक्तमान श्रेष्ठलाई पेशेवर अपराधीहरुले अपहरण गरेका थिए । त्यसबेला हामी हाम्रो पार्टीका समर्थकसमेत रहेका श्रेष्ठको खोजिमा भौतारिइरहेका थियौं । सामान्य मानवियता र अनुसन्धान तथा निम्नतम प्रमाणसमेत नखोजि नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरे (हाल सांसद) ले श्रेष्ठको अपहरण माओवादीले गरेको आरोप लगाए । उनले सो आरोप एक सार्वजनिक कार्यक्रममा लगाएका थिए । सञ्चारले त्यो आरोपको छानविन गरेर वा पक्ष–विपक्षको प्रतिकृयासहित समाचार बनाउन सक्थ्यो तर कांग्रेस भन्दा पनि बढी कांग्रेस बनेर ‘नागरिक दैनिक’ ले व्यक्तिगत रुपमा मैले नै अपहरणको नेतृत्व गरेको भनेर समाचार बनायो । केही दिनपछि भक्तमान श्रेष्ठको अपहरण कसले, किन गरेको रहेछ प्रष्ट भयो । त्यसपछि पनि नागरिक दैनिकले क्षमायाचना गरेन र अझसम्म गल्तिको जिम्मेवारी लिएको छैन । कांग्रेसबाट नागरिक दैनिकले कति रकम लियो ? प्रभुहरुको आशिर्वाद के कति पायो ? प्रश्न अझै अनुत्तरित छ । नागरिकको त्यो हर्कत भ्रष्टाचार (भ्रष्ट आचरण) र हिंसा होइन ? कलमको हिंसाका विरुद्ध कलम नहुनेले तरबारले प्रतिरोध गर्न पाउने कि नपाउने ? सायद त्यही प्रकारको आक्रोसमा त्यसैबेला चितवनमा ‘नागरिक दैनिक’को पत्रिका र बाहनमा आगो झोसिएको थियो ।

अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज
अनिल शर्मा (विरही)

सञ्चारलाई गुप्तचर बनाउने, कालो धन छोप्न मकुण्डो बनाउने र नागरिकका विरुद्ध भ्रमात्मक जनमत बनाउने कार्यमा दुरुपयोग गर्ने चलन विश्वभरी छ । नागरिक नामको अनागरिक दैनिकको हर्कत हेर्दा अनेक आशंका उठेका छन् ।

कालिकोटमा विवाहमा हस्तक्षेप गर्न प्रहरी जाने नेकपालाई दोषी देख्ने, चितवनमा ४ वर्षका आमा–छोरा पक्राउ पर्ने, बैद्य माओवादीका उमेदवारलाई सरकारको आलोचना गर्‍यो भनेर पक्राउ गर्ने, रातीराती चोर–डाँका झैं सरकार (प्रहरी) ले पक्राउ गर्ने, व्यक्तिलाई पक्राउ पुर्जी त के लुगा लगाउनसमेत नदिइ अर्धनग्न अवस्थामा पक्राउ गर्ने, राजनीतिसँग सम्बन्धै नभएका–नबुझेका सयौं जनतालाई सोहोरेर थुन्ने, राज्य आतङ्क दलालको मतियार नागरिक दैनिकले देख्दैन । शान्तिपुर्ण सभा, प्रचार र जुलुशबाट राज्य त्रसित हुने, राजनीतिक विरोधको प्रतिरोध बन्दुकले दिने कार्य राज्यले गर्छ भने बन्दुक कसैको बपौती होइन । त्यो नागरिक दैनिक र उसका मालिकको विर्ता होइन । भ्रष्टाचार र विकृतिको पर्याय बनेको दलाल सरकारले न्यायलयमा के गर्दैछ ? सांसद किन्न पैसा कताबाट ल्याउँदैछ नागरिक देख्दैन । यो देश विगार्ने नेकपा र क. विप्लव हुन् कि डाँकाका सरदार, दिल्लीका चाटुकार प्रचण्ड–देउवा हुन् ? सञ्चारको काम को–कसलाई के के गर्ने भनेर गृह प्रशासनलाई सुझाउने हो ? सञ्चार र कार्यपालिकाका बीचमा भेद हुँदैन ? ‘नागरिक दैनिक’ ले त्यसप्रकारको चरित्रमा सुधार गर्ने, नगर्ने उसको कुरा हो । सत्ताको चाकरप्रति नागरिक र नेकपाले पनि सामान्य सञ्चारको घेरा बाहिरबाट ‘नागरिक दैनिक’ लाई हेर्नुपर्ने बाध्यता आएको अवस्था भने यथार्थ हो । (लेखक रातोखबर साप्ताहिकका निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!