नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता

मजदुर दिवसमा घोषणा सभा हुने

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकताबारेमा पत्रकार सम्मेलन गर्दै आउँदो मजदुर दिवसमा घोषणासभा गर्ने सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टीले यस्तो जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले आजको दिन धेरै खुसीको दिन भएको भन्दै लामो समयपछि पार्टी एकताको प्रयत्न सफल भएको बताए । महासचिव किरणले समग्र पार्टी एकताबद्ध गर्ने प्रश्न एउटा महान् ऐतिहासिक अभियान भएको पनि बताए । उनले संयुक्त प्रेस वक्तव्यअनुसार आफूहरू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चनले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर तेस्रो जनआन्दोलनको घोषणा गर्ने प्रक्रिया नरोकिने बताए ।
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेपालको कम्युनिस्ट आन्दोलनमा हुने गरेका टुटफुट तथा विभाजनको विरासतलाई तोड्दै दुई कम्युनिस्ट क्रान्तिकारी पार्टीबीच एकता गर्ने ऐतिहासिक निर्णय भएको र यो प्रक्रिया निरन्तर अघि बढ्ने बताए ।


कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले गरेका थिए भने सञ्चालन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले गरेका थिए । कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :