बलिदान स्थलमै मनाइयो २६ औँ बेथान वीरता र स्मृति दिवस

दिलमाया बम्जन नेपाली क्रान्तिकी प्रथम वीराङ्गना : चन्द

बलिदान स्थलमै मनाइयो २६ औँ बेथान वीरता र स्मृति दिवस

पानीघाट, बेथान (रामेछाप) : महान् जनयुद्धको पहिलो सफल फौजी मोर्चा र उक्त मोर्चामा उच्च त्याग, शौर्य र साहस प्रदर्शन गर्दै बलिदान गर्ने तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया मम्जन (तीफदि) को स्मृति र सम्मानमा बलिदान स्थलमै २६ औँ बेथान वीरता र दिलमाया स्मृति दिवस मनाइएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा बेथान पानीघाटमा वीरता दिवसका साथै जनयुद्धकी प्रथम छापामार योद्धा सहिद दिलमाया बम्जनको २६ औँ स्मृति दिवस मनाइएको हो ।

२०५३ साल पुस १९ गते राती नेकपा माओवादी पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथान पानीघाटमा छापामार दस्ताले सशस्त्र फौजी हमला गरी चौकी कब्जा गरेर सम्पूर्ण हातहतियार कब्जामा लिएको थियो । फौजी कारबाहीका क्रममा पूर्वाञ्चल उपक्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर तीर्थ गौतम, छापामार सदस्यहरू दिलमाया बम्जन र फत्तबहादुर स्माली मगरको सहादत भएको थियो ।

जनयुद्धको दोस्रो योजनाअनुसार योजनाबद्ध ढङ्गले छापामार इलाका निर्माण गरौँ नारासहित योजना कार्यान्वयन गर्ने क्रममा छापामार इलाका निर्माण गर्ने, युद्ध सामग्री कब्जा गरी दुस्मनको शक्ति छिन्नभिन्न गर्ने र छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्ने तीनवटा उद्देश्य तीनजना योद्धाको बलिदानका साथ बेथानको लडाइँले पूरा गरेको पार्टीको निष्कर्ष थियो । बेथानको सफल फौजी कारबाहीपछि पार्टीले बेथान मोर्चालाई बेथान वीरता दिवसका रूपमा स्थापित गर्ने उद्देश्यले पुस १९ गते देशव्यापी वीरता दिवस मनाउन थालेको थियो । जनयुद्धको मुख्य नेतृत्व अर्थात् पुष्पकमल दाहाल–बाबुराम भट्टराईहरूको समूहले मालेमालाई वैचारिक, राजनीतिक तथा व्यावहारिक रूपमै परित्याग गरेपछि विप्लवको नेतृत्वमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीले केन्द्रदेखि जिल्ला तहसम्म बेथान वीरता दिवसको स्पिरिट कायम राख्दै दिवस मनाउँदै आएको थियो । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिले यही स्पिरिटलाई निरन्तरता दिँदै बेथान मोर्चा भएको पानीघाटमै केन्द्रीय स्तरको कार्यक्रम आयोजना गरी वीरता दिवसका साथै छापामार महिलाबाट जनयुद्धमा पहिलो र उच्चस्तरमा वीरता प्रदर्शन गरी बलिदान गर्ने योद्धा दिलमाया बम्जनको स्मृति दिवस मनाएको हो ।

वीरता दिवसमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले दिलमाया बम्जनलाई नेपालको समग्र वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना घोषणा गरिन् । जनयुद्धमा उच्च साहस, शौर्य, त्याग र समर्पण गर्दै वीरतापूर्वक बलिदान गर्ने दिलमाया र उनीसँगै बलिदान गर्ने तीर्थ गौतम र फत्त स्मालीले रगत बगाएर पनि पार्टीलाई विजयअभियानमा अघि बढाएकाले क्रान्तिकारीहरूका लागि यो दिन ऐतिहासिक र महत्वपूर्ण दिन रहेको उनले बताइन् । जनयुद्धमा महिलाहरूले प्रदर्शन गरेको त्याग, शौर्य र बलिदानका कीर्तिमानहरूको चर्चा गर्दै कार्यक्रमकी प्रमुख अतिथि महिलानेत्री चन्दले भनिन्, ‘हिजो वर्गसङ्घर्षमा रगत बगाउने सहिदका सपनाहरू अधुरै छन् । सहिद र बेपत्ता योद्धाका परिवारको बेहाल छ । हिजो नायकहरूले वर्गसङ्घर्षमा धोका दिएका कारण जनताका सपनाहरू अधुरै छन् । नेकपाले अघि बढाएको एकीकृत जनक्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवाद स्थापना भएपछि सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्ग योद्धा र जनताका सपना पूरा हुन्छन् । त्यो दिशामा अघि बढ्नु आवश्यक छ ।’

नेकपा नेत्री चन्दले जनयुद्धमा शौर्य प्रदर्शन गर्ने दिलमाया बम्जनका साथै कुमारी बुढा, गोरखाका जेल ब्रेकर, दुस्मनको हतियार खोसेर पार्टीलाई बुझाउने कालीकोटका महिलाहरूको विद्रोहका सबै कडीलाई एकीकृत जनक्रान्तिको ऊर्जा बनाउँदै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले ती दिवसहरूलाई क्रान्तिकारी पर्वका रूपमा मनाइरहेको पनि प्रस्ट पारिन् । क्रान्ति परित्याग गरेर पनि जनतामा भ्रम पार्न उद्यत अवसरवादी, संशोधनवादी तथा पलायनवादीहरूलाई खबरदारी गर्दै उनले भनिन्, ‘हामी नाफाको जीवन बाँचिरहेकाहरू सहिद दिलमाया, तीर्थ र फत्तका शवहरू गाडिएको यो ऐतिहासिक स्थलबाट प्रण गर्दैछौँ– हामीबाट देश, जनता र वर्गलाई धोका हुनेछैन । हामी तीफदिले बोकेको मालेमावादी विचार र उहाँहरूले प्रदर्शन गरेको व्यवहारलाई जीवन, पद्धति र उद्देश्य बनाउन प्रतिबद्ध छौँ । यहाँ अवसरवादीहरूको बिगबिगी छ । कम्युनिस्टको व्यापार गर्नेहरूबाट होसियार !’

कार्यक्रमका विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली इन्चार्ज भरत बम ‘रणवीर’ ले भने, ‘जनता त शान्तिपूर्ण बाटोबाट जीवनको आमूल परिवर्तन गर्न तयार छन् तर हतियार बोकेका सत्ताधारीहरू जनताको इच्छा, चाहना र आवश्यकतालाई हतियारबाटै रोकिरहेका छन् । त्यसैले जनता सहस्त्र सङ्घर्षका लागि बाध्य हुन्छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी जनताको चाहना, उद्देश्य र आवश्यकता पूरा गर्न बल प्रयोगको नेतृत्व गर्न बाध्य हुन्छ र त्यस्तो अवस्थामा त्यो अनिवार्य हुन्छ ।’

जनताको शान्तिपूर्ण परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्दै नेकपाले जनमतसङ्ग्रहबाट व्यवस्था परिवर्तन गर्ने क्रकार्यक्रम अघि सारेको प्रस्ट पार्दै नेकपा नेता रणवीरले पुँजीवाद आफ्नो बलमा नभएर कम्युनिस्टहरूलाई लडाएर टिकिरहेको र संशोधनवादी, क्रान्तिका दलाल र गद्दारहरू पुँजीवादी षड्यन्त्रका गोटी बनेर क्रान्तिकारी शक्तिहरूविरुद्ध खनिएको बताए । माओवादी आन्दोलनमा तत्कालीन नेतृत्वले गरेका गल्ती, कमजोरी, पलायन, विचार, राजनीति, कार्यदिशामा विकास हुन नसकेका विषयमा समीक्षा गरेर पूर्वमाओवादीहरूसँग एकताको वातावरण तयार पार्न सकिने धारणा राख्दै नेता रणवीरले भने, ‘कमरेड विप्लवसँग भेट हुँदा प्रचण्डले छिट्टै पार्टी एकता गरिहालौँ भनेका छन् तर विप्लवले फुटिहाल्ने एकता नगर्न सुझाउनुभएको छ । पहिला एमसीसीविरुद्ध लडौँ । एनसेलविरुद्ध लडौँ । भ्रष्टाचार, महँगी र घूसखोरीविरुद्ध लडौँ । दलाल पुँजीवादविरुद्ध लडौँ । कार्यगत एकता, संयुक्त मोर्चा हुँदै पार्टी एकताको वातावरण बन्दै जान्छ ।’

जनमतसङ्ग्रहको माग गर्नु अशान्ति मच्चाउनु होइन भन्ने धारणा राख्दै नेता रणवीरले संशोधनवादीहरूको वैचारिक, राजनीतिक र कार्यक्रमिक स्खलनलाई अन्त्य गर्दै क्रान्तिकारी विचार, कार्यक्रमका माध्यमबाट वैज्ञानिक समाजवाद– साम्यवाद निर्माण गर्ने उद्देश्यमा एकता आवश्यक रहेको पनि प्रस्ट पारे । निरपेक्ष र स्वार्थकेन्द्रित एकताका कुरा अघि सार्नुअघि ती समूह र पात्रहरूले तीर्थ गौतम, दिलमाया बम्जन, फत्त स्माली मगरलगायत जनयुद्धका दस हजार हाराहारी सहिदका सपना कसले, के स्वार्थमा अलपत्र पारेर वैभवपूर्ण निजी जीवन रोज्यो भन्ने विषय खोज्नुपर्ने पनि नेता रणवीरले बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले बेथानलाई नेपालको येनानको संज्ञा दिँदै बेथान पानीघाट मोर्चाले जनयुद्धलाई सफलतापूर्वक अघि बढाउन विजयको ढोका खोलिदिएकाले तीफदि नेपालको वर्गसङ्घर्षको इतिहासमा अमर योद्धाका रूपमा स्थापित भएको बताए । बीसको दशकको उत्तराद्र्ध र तीसको दशकको आरम्भमा असारे काकालगायत क्रान्तिकारीहरूले बेथान, डहुलगायत क्षेत्रमा बसेर पार्टी निर्माण गरेको र उक्त क्षेत्रलाई क्रान्तिकारी कम्युनिस्टहरूले आधारइलाका बनाएकैले क्रान्तिकारी कम्युनिस्टहरू जन्मिएको, २०५२ सालमा सुरु भएको जनयुद्धलाई सफल पार्न २०५३ साल पुस १९ गते तीफदिले बलिदान गरेर पनि मोर्चा जिती पार्टीलाई हतियार बुझाएको सन्दर्भ उनले उल्लेख गरे । तत्कालीन पार्टीको विचार, राजनीति, दृष्टिकोण, कार्यक्रम सही भएकैले तीर्थ, फत्त र दिलमायाहरूले गुलेली, ढुङ्गामुढा र केही भरुवा बन्दुकका भरमा बेथानको युद्ध जितेको स्मरण गराउँदै सुवेदीले दिलमायालाई नेपालकी चियाङचिङका रूपमा स्थापित गर्नुपर्ने धारणा पनि राखे । उनले दिलमायालाई नेपाली क्रान्तिकी पथप्रदर्शक भन्दै उनको स्मृतिमा १० वर्षअघि पार्टी अन्तरसङ्घर्ष चर्किएको बेला रचना गरेको दिलमाया शीर्षक कविता वाचन गरे । क्रान्तिकारीहरूको इतिहास विसर्जनवादीहरूले चोरिरहेको भन्दै उनले क्रान्तिको इतिहास क्रान्तिकारीले नै लेख्नुपर्ने धारणा राखे । तीफदिको बलिदान स्थलमा आएर केन्द्रीय कार्यक्रम आयोजना गरेकोमा उनले महिला सङ्गठनलाई बधाई तथा धन्यवाद पनि ज्ञापन गरे ।

सहभागीहरूलाई स्वागत गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी रामेछाप जिल्ला संयोजक सीता गौतमले बेथान वीरता दिवस र दिलमाया बम्जनजस्ता क्रान्तिकारीहरूलाई क्रान्तिकारीहरूले नै आदर्श बनाउनुपर्ने बताइन् । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ इन्चार्ज पवित्रा चँदराले दिलमायाजस्ता क्रान्तिकारी वीराङ्गनाहरूकै त्याग, शौर्य र बलिदानका कारण नेपाली महिलाहरू क्रान्तिको अग्रमोर्चामा लामबद्ध हुन सकेको बताइन् ।

कार्यक्रमको अध्यक्षता गरेकी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाहीले दिलमाया नेपालका सम्पूर्ण क्रान्तिकारी महिलाहरूका लागि प्रेरणा, त्याग, शौर्य र साहसकी प्रतिमूर्ति रहेकाले क्रान्तिकाल र त्यसपछि पनि सधैँ स्मरणीय रहने बताइन् । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा मगरले गरेकी थिइन् । सहिद दिलमाया बम्जनको बलिदान गाथाको स्मरण र सम्मान गर्दै पार्टी महासचिव विप्लव र सङ्गठनकी अध्यक्ष बन्धु चन्दले हस्ताक्षर गरेको सम्मानपत्र सहिद परिवारलाई हस्तान्तरण गर्न नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठलाई नेत्री चन्दले हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा नेकपा रोमछापका सेक्रेटरी इन्द्र श्रेष्ठ, सहिद परिवारका सदस्य गुन्जनलगायत पार्टी जिल्ला समिति सदस्यहरू, सङ्गठनकी सदस्य भावना चन्द, जनक महतारा, जवसका पदाधिकारीलगायत सदस्य र बेथानबासी सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा माओवादी केन्द्रका प्रेमसागर थापालगायतले पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालको केन्द्रीय प्रकाशन र अशोक सुवेदीको सम्पादन रहेको ‘बलिदान गाथा’ पुस्तक लोकार्पण गरेकी थिइन् । कार्यक्रममा सहिद सुवर्ण ओलीकी बहिनी एवम् जन बिहानी मासिककी प्रकाशक विपना ओली र रातो खबर प्रकाशन गृहको ईरातो खबर अनलाइनका व्यवस्थापक झनक श्रेष्ठले बेथान पानीघाटमा बलिदान गर्ने तीनजना सहिद परिवारका लागि प्रदान गरेको ६ हजार रुपैयाँ प्रकाशनका सम्पादक सुवेदीले प्रमुख अतिथि चन्दलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :