विद्यालय र क्याम्पसहरूमा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

काठमाडौँ : कैलालीमा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको र शैक्षिक सत्र खेर जाने देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् ।

ती सङ्गठनहरूको बैठकले कोरोनाकै कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुर, कोठाभाडा र राहत प्याकेज घोषणा गर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्नुपर्ने, जिल्लाभित्रका निजी विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेकाले भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थाहरूलाई कारबाही गर्नुपर्ने, जिल्लाभित्रका विभिन्न शैक्षिक संस्थानहरूले दिँदै आएको छात्रवृत्तिलाई वृद्धि गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाई पारदर्शी ढङ्गले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा अनेरास्ववियुका संयोजक कुमार बडैला, अखिल (क्रान्तिकारी) का अध्यक्ष पुष्कर जोशी, अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुवासकिरण जोशी, अखिल (छैटौँ) अध्यक्ष जनक आचार्य, नेविसङ्घका सदस्य ओमजङ्ग सिंह, समाजवादी विद्यार्थी युनियनका प्रतिनिधि निलमकुमारी चौधरी रहेका छन् ।

८ बुँदे संयुक्त विज्ञप्तिमा निम्नलिखित निर्णय सार्वजनिक गरिएको छ–

१) कोरोना (कोभिड १९) भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको छ । वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएको हुनाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गर्दछौँ ।

२) कोरोनाकै कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुरी, कोठाभाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ ।

३) जिल्लाभित्रका निजी विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेका छन् । भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थाहरूलाई कारबाही गर्न माग गर्दछौँ ।

४) जिल्लाभित्रका विभिन्न शैक्षिक संस्थाहरूले दिँदै आएको छात्रवृत्तिलाई वृद्धि गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाई पारदर्शी ढङ्गले कार्यान्वयन गर्न माग गर्दछौँ ।

५) वर्तमान अवस्थामा चल्ने सार्वजनिक सवारीसाधनहरूको लुटतन्त्रलाई नियन्त्रण गरी भाडावृद्धिलाई तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वन गर्न माग गर्दछौँ ।

६) सरकारी शिक्षकहरूको सरुवामा हुने गरेको चलखेल र अनियमिततालाई तत्काल नियन्त्रण गर ।

७) कोरोना महामारीको बेला जिल्लाभरि भइरहेको भ्रष्टाचार नियन्त्रण गर ।

८) पेय तथा खाद्य पदार्थमा कालोबजारी र मूल्यवृद्धि भइरहेको अवस्थामा कडाभन्दा कडा रूपमा अनुगमन गरी दोषीउपर कारबाहीको जोडदार माग गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :