जनगणतन्त्र कोरियाको ७२ औँ स्थापना दिवस मनाइयो

सेप्टेम्बर ७ तारिख अर्थात् भदौ २२ गते नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूतावासले कोरिया स्थापनाको ७२ औँ वर्षगाँठ मनाएको छ ।
नेपालस्थित जनवादी गणतन्त्र कोरियाका राजदूत जो योङ मानले कोरियाली राजदूतावासमा आयोजना गरेको वर्षगाँठ कार्यक्रममा कोरियासँग सम्बन्धित नेपालका विभिन्न सामाजिक तथा मैत्री सङ्घसंस्थाका प्रमुखहरूले जनगणतन्त्र कोरियाका संस्थापक तथा राष्ट्रपति किम इल सुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उन र कोरियाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा कोरियाको समृद्धि तथा स्थायी शान्ति तथा बलियो समाजवादी व्यवस्थाका लागि उपस्थित सबैले हार्दिक शुभकामना व्यक्त गर्दै कोरियाका संस्थापक महान् नेता किम इल सुङको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
उक्त भेटघाट कार्यक्रममा रातो खबर प्रकाशन गृहका प्रबन्धनिर्देशक भीमप्रसाद चापागाईं, सङ्गुन समर्थन समूहका अध्यक्ष तथा नेपाल कोरिया मैत्री सङ्घका केन्द्रीय उपाध्यक्ष माणिक लामालगायत विभिन्न सङ्संस्थाका प्रमुखहरूको उपस्थिति थियो ।
उक्त कार्यक्रममा प्रकाशनका तर्फबाट रातो खबर प्रकाशन गृहबाट प्रकाशित पुस्तक, पत्रिका तथा म्यागेजिनहरू प्रबन्धनिर्देशक चापागाईंले कोरियाली राजदूत जो योङ मामलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कोरियाली राजदूत जो योङ मामले रातो खबरले कोरियाका बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गरेको गलत सूचना दूतावासमा आएको भनी राखेको जिज्ञासाका बारेमा जबाफ दिँदै प्रबन्धनिर्देशक चापागाईंले रातो खबरले कहिल्यै पनि कोरियाका बारेमा भ्रमपूर्ण समाचार नलेखेको प्रस्ट पारेका थिए । उनले आफ्नो प्रकाशनले जनगणतन्त्र कोरिया, कोरियाली जनता, कोरियाका संस्थापक नेता, सर्वोच्च नेता मार्सल किम जोङ उनको सम्मान र कदर गर्ने गरेको प्रस्ट पारेका थिए । उनले रातो खबर प्रकाशन र जनगणतन्त्र कोरियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध धुमिल पार्न साम्राज्यवादका एजेन्टहरूले कठिन समयको फाइदा उठाउँदै मिथ्या सूचना प्रवाह गरेको हुनसक्ने सङ्केत गर्दै त्यस्तो भ्रम र षड्यन्त्रलाई आफूहरूले खारेज गर्ने बताएका थिए ।
कोरियाली राजदूत जो योङ मामले कोरियाली जनताले साम्राज्यवादविरुद्ध गरेको सङ्घर्ष र कोरियाली सर्वोच्च नेता किम जोङ उनले गरेको अथक मेहनतले आज कोरियाले समृद्धि हासिल गरेकाले नेपालमा पनि यस्तै किमिमको अभियान थाल्नुपर्ने सुझाव दिँदै कोरियाले आफ्नै विशिष्टतामा क्रान्ति गरेर सफलता हासिल गरेकाले नेपालका क्रान्तिकारीहरूले पनि त्यसको अनुसरण गर्नुपर्ने बताएका थिए ।
प्रबन्धनिर्देशक चापागाईंले नेकपाका महासचिव विप्लवले संसारका क्रान्तिहरूबाट पाठ सिक्दै एकीकृत जनक्रान्ति अघि बढाइरहेकाले आम शोषितपीडित जनतामा देश र जनताको मुक्तिप्रति आशा पैदा भएको र यो अभियानले सार्थक रूप लिनेमा आफूहरू विश्वस्त भई काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा सङ्गुन समर्थन समूहका अध्यक्ष तथा नेपाल कोरिया मैत्री सङ्घका केन्द्रीय उपाध्यक्ष माणिक लामाले नेपाल र कोरियाबीचको असल र मैत्रीपूर्ण सम्बन्ध युगयुगसम्म अटल रहनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :