रास्कोट पहिरोको उच्च जोखिममा, स्थानीय सरकारको बेवास्ता

काठमाडौँ : कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर १ को बस्ती पहिरोको उच्च जोखिममा परेको छ । उक्त वडामा रहेका ९० घरधुरी उच्च जोखिममा परेपछि नेकपा निकट युवाहरूले उक्त बस्ती स्थानान्तरणको माग गरेका छन् ।

गाउँको माथिको जमिन फुटेकाले उक्त पहिरो गाउँमा खसेमा ठूलो मानवीय तथा भौतिक क्षति गर्ने देखिएको भन्दै स्थानीय युवाहरूले उक्त बस्ती स्थानान्तरणको माग गरेका हुन् । नेकपा निकट अखिल क्रान्तिकारीका स्थानीय कार्यकर्ता दयारामसिंह लुवरले उक्त बस्ती निकै जोखिममा परे पनि स्थानीय सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको बताए ।

पूरै गाउँ पुरिने डरले स्थानीयहरू अरूको घरमा बसेको र लामो समयसम्म अरूको घरमा बस्न समस्या हुने भएको भन्दै युवाले स्थानीय सरकारले जोखिममा परेका मानिसहरूको उचित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । साथै अस्थायी रूपले अरूको घरमा आश्रय लिन पुगेकाहरूलाई शुद्ध पिउने पानी, खाद्यान्न र शौचालयको समेत निकै समस्या भएको लुवरले बताएका छन् । सोही गाउँमा शुक्रबार मात्र पहिरोमा पुरिएर एकजना महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :