समृद्धि कसका लागि ?

समृद्धि, सुख, सुरक्षा, उचित मूल्य, स्वतन्त्रता यी सबै कुरा जनताका लागि छैनन् । दलाल माफियाहरू उत्पादन गर्ने सामाजिक दलाल सरकारमा बसेका शोषक जनताको श्रमको पसिना, रगत चुस्ने जुकाहरूका लागि भएका छन् । आज सत्ताधारीहरूले समृद्धिको नारा लगाउँदैछन् । ती देखावटी समृद्धिको नारा लगाउँदै गर्दा नेपाली जनताले समृद्धि हो कि होइनन् भन्ने कुरा छुट्ट्याउन नसकेका भने होइनन् ।

काठमाडौँलगायत केही सहर र आसपास विकास निर्माणका केही काम गर्दैमा नेपाल समृद्ध भो भनेर नारा लगाउन यिनीहरूलाई लाज लाग्नु पर्ने हो तर आफ्नो मातृत्वलाई पनि बेच्नसक्ने बलात्कारीहरूलाई केको लाज लाग्नु ! जनताको आँखामा छारो हाल्न देवावटी नाटक त गर्छन् यिनीहरू तर वास्तविकता भने ‘हामी यस्तै त हो नि ब्रो’ भनेजस्तो छ । उपत्यका र सहर क्षेत्र तथा आफ्नो घरवरपर बाहेकका अन्य बस्तीका जनताको अवस्था र आवश्यकता के छ ? भन्ने कुनै मतलब छैन । अधिकांश गाउँहरूमा यातायत छैन, खाने पानी छैन, बिजुली बत्ति छैन । अझ धेरै पहाडी क्षेत्रमा यो समस्या रहेको छ । स्थानीय सरकारले बजेट बाँडफाँट गर्दा पनि आफ्ना कार्यकर्ता र आफन्तलाई ध्यानमा राखेर गरेका छन् । जनताको आँखा टालेर बजेट कुम्ल्याउन व्यस्त रहेका छन् । यसको विरोधमा कोही बोले गुन्डा लगाउने धम्की दिने गरिरहेका छन् । यिनीहरूको ध्यान जनताको समस्या समाधानमा भन्दा पनि कसरी आफू धनी हुने भन्नेमा छ । यस्ता विकृतिहरूको विरोध गर्नु हामी युवाहरूको कार्यभार हो ।

यी फासिस्टहरूका हरेक चुनावका एजेन्डा एउटै हुन्छ । अर्को होस् पनि कसरी ! चुनाव पछिको अर्को चुनावसम्मको अवस्था जस्ताको तस्तै भएपछि । दलित, मजदुर र किसानहरूलाई विभिन्न आश्वासन दिने, सुकुमबासीहरूलाई १ वर्ष, २ वर्ष, ३ वर्षभित्रमा पुर्जा दिन्छु भन्ने भ्रम दिएर राजनीति गर्ने, चुनाव जित्नलाई जनतासामु भलाद्मी बनिटोपल्ने, चुनाव जितेपछि सामन्ती महाराजाहरूजस्तो व्यवहार प्रदर्शन गर्छन् । जनताका एजेन्डा के हुन्, थाहा छैन । चुनाव जित्न केके बोलेँ भन्ने कुराको हेक्का छैन । जितेपछि राज्यको ढुकुटी लुट्न ज्यान दिएर लाग्छन् । आफ्ना आसेपासेलाई शक्ति लगाएर सकेसम्म माथि पुर्याउँछन्, रोजगारी दिलाउँछन् अनि आफ्नो पेट भरेपछि नेपाली जनताको समृद्धि भयो भनेर नारा लगाउँछन् । सुख र शान्ति आयो भन्छन् । विचरा ! नेपाली जनतालाई हेरेको हेर्यै ‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तो बनाइदिन्छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासको बेलामा जनताको जीवनलाई भन्दा कमिसन खाने र भ्रष्टाचार गर्ने कामलाई प्राथमिकतामा राख्ने, सरकारकै षड्यन्त्रमा सांसद अपहरण हुने अवस्था छ । सहर बसेर पढ्दै गरेका गाउँका विद्यार्थीहरूले लकडाउनका कारण खाद्यान्न नपाएर सरकारसँग उद्धारको माग गर्दा सरकारकै षड्यन्त्रमा कुटिनुपर्ने अवस्था छ । अनि यस्ता दलाल, माफियाहरू उत्पादन गर्ने कमिसनखोरहरूको सुरक्षाका लागि नेपाली जनता लुटिनुपर्ने कुरा मान्य छैन र यसको प्रतिरोधमा न्यायप्रेमी, देशभक्त, विद्यार्थी, शिक्षक, अभिभावक सम्पूर्ण एकजुट हुन आवश्यक छ ।

हरेक यु्वा विद्यार्थीहरूले आफ्नो भविष्य विदेशमा बनाउनुपर्ने, आफ्नो परिवारलाई आवश्यक आयस्रोत बनाउनसमेत बिदेसिनुपर्ने अवस्था उत्पन्न भएको छ । अनि देशको सामाजिक दलाल सरकार भने आफैँले निर्माण गरेको संविधानमा शिक्षासम्बन्धमा लेखिएको प्रावधानविरुद्ध काम गरिरहेको छ । शिक्षा क्षेत्रमा माफियाकरण, व्यापारीकरण दलालीकरण बढ्दै गएको छ । जनताका छोराछोरीले शिक्षा पाउने कुरा अधिक महँगिएको छ । सत्ताधारी राजनीतिक दलका नेताहरू नै शिक्षाको व्यापार गर्न अहोरात्र खटेका छन् । शिक्षा क्षेत्रलाई दलालहरूले वस्तुको मोलमोलाई गरेजस्तै व्यापारको साधन बनाएका छन् । धनी–गरिबबीच खाडल बढाउने शिक्षा खडा गरिएको छ । यस्ता दलाल, माफियाहरूको विरोध गर्दा सरकार आफैँ त्यसको संरक्षणमा उत्रिन्छन् । यस्तो निहित स्वार्थमा लागेको सरकारलाई बिदा गर्नु जरुरी छ ।

(लेखक अखिल क्रान्तिकारी चितवनका जिल्ला संयोजक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :