भारतमा कोरोना फैलाउने योजना नेपालमा बनेको भारतीय दुष्प्रचार

नेपालको सार्वभौमिकतामाथि फेरि गम्भीर हमला


काठमाडौँ : नेपालबाट भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलाउन योजना निर्माण गरिएको भन्दै भारतीय पक्षबाट फेरि नेपालको सार्वभौमसत्तामाथि आँच आउने निन्दनीय काम सुरु गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूले त भारतमा कोरोना सङ्क्रमण फैलाउन नेपालमा योजना निर्माण गरिएको मिथ्या र सनसनीपूर्ण समाचार प्रसारण नै गरिरहेका छन् । नेपाली सीमासँग गाँसिएका केही भारतीय प्रशासकहरूले पनि यस सम्बन्धमा नेपाली प्रशासकहरूलाई पत्र लेखेका समाचारहरू सार्वजनिक भइरहेका छन् । यसलाई नेपालका देशभक्त र विश्लेषकहरूले नेपाली सार्वभौमिकतामाथि भारतीय मिडिया हस्तक्षेपका रूपमा विश्लेषण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिममियाँ मुखियाको नाम लिएर चैत २८ गतेदेखि लगातार भारतीय सीमा सुरक्षा बल एसएसबीको स्रोत उद्धृत गर्दै कोरोना प्रकोप विस्तार गर्न नेपालमा योजना निर्माण भएको हल्ला फैलाइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूले जालिममियाँ मुखियाले नेपालबाट ४०–५० जना कोरोना सङ्क्रमित मुसलमानहरूलाई भारत पठाएर सिङ्गो भारतलाई कोरोना प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । विश्लेषकहरूका अनुसार यो दुई देशबीचको मैत्री तथा कूटनीतिक क्षेत्रमा निकै ठूलो र अत्यन्त गम्भीर सवाल हो । यस विषयमा नेपाल पक्षले पनि यथाशीघ्र छानबिन गर्नुपर्नेमा केन्द्रीय तहबाट कुनै प्रतिक्रिया जनाइएको छैन ।

भारतीय सञ्चारमाध्यमहरूले चैत २८ गते ‘बहुत बडी खबर’ भन्दै नेपालको सीमाबाट भारतमा कोरोना फैलाउने भीषण षड्यन्त्र भएको ‘सनसनीपूर्ण’ समाचार प्रसारण गरेका हुन् ।

भारतीय टीभी च्यानलहरूले ब्रेकिङ न्युजका रूपमा प्रसारण गरेको समाचारमा उल्लेख गरिएका व्यक्ति जालिममियाँ मुखिया हुन् । उनी नेपाली नागरिक त हुन् नै, स्थानीय जनप्रतिनिधि र सरकारी नेकपाका नेता पनि हुन् । भारतीय सञ्चारमाध्यमहरूले उनले ४०–५० जना कोरोना सङ्क्रमित मात्र नभएर करिब दुई सयजति पाकिस्तानबाट आएका भारतीय मुसलमानलाई एउटा मस्जिदमा राखेर अवैध तरिकाले भारत पठाउन लागेको आरोप लगाएका छन् । जी न्युजलगायत भारतीय न्युज च्यानलहरूले यो झूट र निन्दनीय समाचारलाई ब्रेकिङ न्युजका रूपमा प्रसारण गरेका हुन् । उक्त समाचारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्रोतका रूपमा उल्लेख गरिएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र नै देखाएको छ । ४७ औँ बाहिनी बटालियन सीमा सुरक्षा बल पनटोका रामगढवाका कमान्डरले लेखेको उक्त पत्र पनि सार्वजनिक भइसकेको छ । पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षड्यन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरू त नेपालका विरुद्ध निरन्तर रूपमा हावादारी समाचार प्रसारण गरेर भारतीय जनमतलाई मात्र होइन, सरकारलाई नै नेपाल भनेको भारतका विरुद्ध षड्यन्त्र गर्ने अखडा रहेको भ्रम छरिरहन्छन् । जहाज अपहरणकाण्डमा नेपाल र नेपालीविरुद्ध उनीहरूको षड्यन्त्र यसको एउटा ताजा उदाहरण हो । २८ गतेदेखि भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम चिर्ने मुख्य आधार प्रस्तुत गर्दै नेकपाका नेता ओमप्रकाश पुनले लेखेका छन् : नेपालमा हालसम्म देखापरेका ९ जना कोरोना सङ्क्रमित भनेका भारत र अन्य देशबाट आएका मात्रै छन् । नेपाल अहिलेसम्म पनि कोरोनाको उच्च जोखिममा छैन, बरु भारतमा अहिले मर्नेको सङ्ख्या तीन सयभन्दा बढी र सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा बढी भएकाले खतरा नेपालबाट भारतलाई हैन, भारतबाट नेपाललाई खतरा छ । फेरि जालिम मुखियाले पठाउन लागेका भनिएका सङ्क्रमित पनि भारत प्रवेश नगरेको र सिटामोल खाएर नेपालकै मस्जिदमा रहेको भन्ने भारतीय मिडियाकै समाचारले पनि यसको आफैँ खण्डन गर्छ । यो भ्रामक ‘प्रोक्सी वार’ हो ।

अर्को कुरा जालिम मुखियालाई कोरोना फैलाउने उद्योग गरेको भनिए पनि त्यसमा भारतीय मिडियाले उनलाई अवैध हतियार, लागूपदार्थ र जाली नोटको कारोबार गर्ने अपराधी भनेकाले यो कोरोनाभन्दा पनि अन्य उद्देश्यले अभिप्रेरित समाचारजस्तो देखिन्छ । यसो हो भने यो नेपाली, भारतीयलगायत सिङ्गो मुस्लिम समुदायमाथिको भारतीय हस्तक्षेप हो । त्यसो नभए आफ्नै देशका भनिएका मुस्लिमलाई भारत पठाउँदा किन यत्रो आपत्ति ? नेपालमा पनि कोही समुदाय भारतबाट असुरक्षित छ भने त्यो मुस्लिम समुदाय नै हो । नेपालका मुस्लिम अगुवाहरूको हत्या लगातार भारतीय पक्षले गर्दै आएको इतिहास साक्षी छ ।

नेता पुनले टिप्पणी गर्दै भनेका छन्, ‘कोरोनाको महामारीका कारण भारत र नेपाल दुवै देशमा लकडाउन गरिएको छ । यसलाई थप बलियो बनाउन नेपाल पक्षले सिमानामा व्यापक सशस्त्र प्रहरी परिचालन गरेको छ । कोरोना प्रभाव र सुरक्षा संवेदनशीलताका कारण नेपालबाट भारत हैन, बरु भारतबाट नेपाल आउने मानिसको सङ्ख्या धेरै छ र नेपाली मात्रै नभएर भारतीय नागरिक पनि नातागोताको संरक्षणमा नेपाल आइरहेको समाचार सम्प्रेषण भैरहेका छन् । त्यसकारण भारतीय मिडियाको यो समाचार भ्रामक र राजनीतिक अभिप्रेरित छ । यो भारतीय सत्ताधारी वर्गको अक्षमतालाई ढाकछोप गर्न ल्याइएको गलत अफवाहशिवाय केही होइन । यस्ता गलत लाञ्छनाले नेपाललाई हैन, भारतलाई नै नोक्सान गर्छ र सबैभन्दा झूट्टो बोल्ने भनेका भारतीयहरू नै हुन् भन्ने विश्व–मान्यतालाई पुष्टि गर्छ ।’

यस सम्बन्धमा अनलाइन खबरले अलि तथ्यपूर्ण समाचार सार्वजनिक गरेको छ । उसले लेखेको छ :

गत ३ अप्रिलमा प्रेषित पत्रको बेहोरा यस्तो छ, ‘अत्यन्त विश्वस्त सूत्रहरूबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला (नेपाल), जानकी टोला, जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका छन् । उनी नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नसमेत संलग्न छन् । यसका साथै उनले लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् । सूत्रका अनुसार ५–६ जना पाकिस्तानी नागरिकसहित दुई सय जनाजति भारतीय मुस्लिम (मुस्लिम राष्ट्रमा काम गरिरहेका) नेपाल आएका थिए र उनीहरू अहिले चन्दनबस्रा र खैरवा गाउँमा रहेका मदरसाहरूमा बसिरहेका छन् । सूत्रका अनुसार ४०–५० संदिग्ध भारतीय मुस्लिम नागरिकहरू आज आइपुग्नेछन् र आगामी दिनमा अरू धेरै आउन सम्भावना छ । सूत्रका अनुसार यी नागरिकहरूले शरीरको तापक्रम घटाउन प्यारासिटामोल ट्याब्लेट खाइरहेका छन् र उनीहरू कोरोना पोजिटिभ हुन सक्छन् । तपाईंको सूचनाका लागि यो पत्र प्रेषित गरिएको छ र सरोकारवाला निकायका साथै नेपालको जिल्ला प्रशासनका अधिकारीहरूलाई सतर्क तुल्याउन अनुरोध गरिन्छ ।’

उक्त समाचारमा अघि लेखिएको छ : एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र संदिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरूले थानेदारलाई चिठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरूमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यस विषयमा बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले भारतीय च्यानल टीभी नाइनसँग भनेका छन्, ‘हाम्रो नेपालसँग जोडिएका बोर्डरका सबैलाई सतर्क रहन भनिएको छ । अर्को देशबाट भारत छिर्न असम्भव छ ।’

अनलाइन अगाडि लेख्छ : एसएसबीको पत्रमा जालिम मुखियाको नाम–ठेगाना उल्लेख भए पनि परिचय खुलाइएको छैन । तर इन्डिया टीभीको रिपोर्टमा भने उनी जगरनाथपुर गाउँपालिकाका प्रमुख भएको उल्लेख गर्दै तस्बिर पनि देखाइएको छ । जालिम मियाँ पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष हुन् । उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । मधेसी समुदायमा गाउँका अगुवालाई मुखिया भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसैले एसएसबीले इङ्गित गरेका व्यक्ति उनै अध्यक्ष जालिम मियाँ नै भएको अनुमान गरिएको छ ।

समाचारमा अगाडि भनिएको छ : एसएबीले उनी जाली नोट र अवैध हतियार ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप लगाएको छ । उनी नेकपा अध्यक्ष प्रचण्डसँग निकट नेता हुन् । उनी विगतमा काठ तस्करीलगायत केही विवादमा मुछिए पनि जाली नोट र अवैध हतियारको कारोबारमा संलग्नताबारे पर्साको प्रहरी स्रोतले अनभिज्ञता दर्सायो ।

मियाँले भ्रममूर्ण समाचारको खण्डन गरेको सन्दर्भ उल्लेख गर्दै समाचारमा भनिएको छ : भारतीय मिडियाले आफ्नो तस्बिर राख्दै समाचार प्रसारण गरेपछि मियाँले फेसबुकबाट सङ्क्षिप्त प्रस्टीकरण दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘(भारतसँग) हाम्रो मित्रताको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ । जालिम मियाँले यस्तो षड्यन्त्र गर्ने कारण के छ ? चाइनामा जालिम मियाँले कोरोना फैलाएको हो ? अमेरिका, फ्रान्स, इटली सारा देशमा जालिम मियाँले फैलाएको हो ? यो सङ्कटको समयमा केही राजनीतिक व्यक्तिबाट मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । कि ममाथि लागेको आरोप प्रमाणित गरियोस्, सजाय भोग्न तयार छु होइन भने ममाथि षड्यन्त्र गर्नेहरूलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गर्छु । यस विषयमा मैले गृह मन्त्रालयलाई एसएमएस पठाएको छु । जिल्लाका सीडीओसँग पनि समन्वय गर्नेछु ।’

जगरनाथपुर गाउँपालिकाले पनि विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उक्त समाचारमा जनाइएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत अमितकुमार गिरीले जारी गरेको विज्ञप्तिमा कुनै तथ्य–प्रमाणबिना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।

यस विषयमा आनलाइन खबरले पर्सा जिल्ला प्रशासन र प्रहरीसँग कुरा गर्दा दुवैले यस विषयमा भारतीय पक्षबाट कुनै पत्र वा सूचना नआएको बताएको उल्लेख गरेको छ । अहिलेको अवस्थामा सीमा वारपार गर्न सम्भव नै नरहेको उनीहरूको भनाइ छ ।

समाचारमा पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘अहिले नेपाल र भारत दुबै देशमा पूर्ण लकडाउन छ । भारतपट्टि अझै बढी कडाइ छ किनकि उनीहरूसँग एसएसबी धेरै सङ्ख्यामा छन् । यस्तो अवस्थामा कसैलाई लुकिछिपी नेपालबाट सीमा पार गराउन सम्भव नै छैन । एसएसबीले छिर्न दिन्छन् र ? त्यसैले यो आधारहीन कुरा हो । जिल्लामा हामीले लकडाउन कडाइका साथ पालना गराइरहेका छौँ । यसका लागि हामीलाई कसैको पत्र आउनै पर्दैन । हामी सतर्क नै छौँ । जिल्लाका सबै गाउँपालिकासँग निकट रहेर काम गरिरहेका छौँ ।’

उक्त समाचारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको भनाइ उद्धरण गर्दै भनिएको छ, ‘भारतीय मिडियामा आएको समाचारका बारेमा सुनेको छु । तर हामीसँग भारतीय पक्षबाट औपचारिक रूपमा कुनै कुरा आएको छैन । सीडीओ सा’ब आज व्यस्त हुनुहुन्छ । भोलि बसेर छलफल गर्नेछौँ । यतिबेला कसैले सीमा वारपार गर्ने अवस्था हुँदैन । लकडाउन भएपछि हाम्रोतर्फ एपीएफको जनशक्ति बढाएर आई टु आई कन्ट्याक्ट गर्न मिल्ने अवस्था बनाइएको छ । कोही पनि प्रहरीको आँखा छलेर छिर्न सम्भव छैन । पहिलेचाहिँ लुकिछिपी आउने गरेका थिए । केही दिनअघि जालिमजीको गाउँमा भारतबाट लुकिछिपी आएका केही मुस्लिम नेपालीलाई हामीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका थियौँ । त्यही आधारमा उनीहरूले शङ्का गरेका हुन् कि ? उनीहरूलाई हामीले पर्सामा एक दिन क्वारेन्टाइन राखेर सम्बन्धित जिल्लामा पठाइसकेका छौँ । उनीहरूमध्ये १४ जना रौतहटका, १३ जना सप्तरीका र ८ जना बाराका थिए । उनीहरू सबै अहिले आआफ्नै जिल्लामा क्वारेन्टाइनमा छन् । पर्साका व्यक्तिहरूलाई चाहिँ हामीले यहीँ क्वारेन्टाइनमा राखेका छौँ । उनीहरू दिल्लीमा भएको जमातमा भाग लिएर आएका हुन् कि भनेर स्थानीय समुदाय पनि सतर्क छन् ।’

यसै सन्दर्भमा ‘मिर्मिरे अनलाइन’ लेख्छ, ‘नेपालमा रहेका मुसलमानहरूमाथि शृङ्खलावद्ध हत्या र ज्यादती अघोषित रूपले भारतीय खुफिया एजेन्सीको भूमिकामाथि प्रश्न उठ्ने गरको छ तर समाधान हुन सकेको छैन । आम रूपमा नेपालमा बसेर पाकिस्तानसँँग सम्बन्धित मुसलमानहरू मदरसा आदिमार्फत भारतविरुद्ध गतिविधि गर्ने, हतियार र जाली नोटको तस्करी गर्ने भारतीयहरूको दृष्टिकोण रहँदै आएको छ । एक दर्जनजति मिर्जादेखि सलमान खुर्सिदसम्मको हत्यामा को थिए, किन मारिए भन्ने प्रश्नको समाधान नेपालले दिन सकेको छैन । यसैबीच अहिले कोरोनाको महामारी फैलिरहेको बेला भारतीय खुफियातन्त्रले फेरि अर्को एक नेपाली मुसलमान लक्षित पत्राचार गरेको पाइएको छ । सो पत्रअनुसार नेपालको पर्सा जिल्लाको जगन्नाथपुर निवासी जालिम मुखियाले भारतमा कोरोना फैलाउने योजना बनाएको, उनी हतियार तस्करीमा संलग्न रहेको भन्दै आन्तरिक सुरक्षा एजेन्सीहरूलाई पत्राचार गरेको खुलेको छ । जालिम नेपालको पर्सा जिल्ला जगरनाथपुर गाँउपालिकाका अध्यक्ष हुन् ।’

समाचारमा अगाडि लेखिएको छ, ‘भारतमा पहिल्यै नै कोरोना फैलिएर करिब ६ हजारमाथि सङ्क्रमित छन् भने २ सय नजिक मृत्यु हुनेको सङ्ख्या पुगिसकेको छ । यस्तो स्थितिमा बिहारको पश्चिमी जिल्ला चम्पारण जिल्ला अधिकारीले एसएसबीलाई उद्धृत गर्दै प्रहरी अधिकारीलाई लेखेको पत्रमा नेपालमा रहने जालिम मुखिया नामका एक व्यक्ति भारतमा कोभिड–१९ फैलाउने योजना बनाइरहेको उल्लेख छ । साथै ती मुखिया नेपालबाट अवैध हतियारको तस्करी गरीरहेको समेत आरोप लगाइएको छ । अप्रिल ७ मा लेखिएको पत्रमा ४० देखि ५० जनासम्म संदिग्ध कोरोना सङ्क्रमित भारतीय मुसलमानहरू आउने जानकारी पनि दिइएको छ । यसैबीच गृह मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव उमाकान्त अधिकारीले यस विषयमा सरकारलाई कुनै जानकारी प्राप्त नभएको दाबी गरे ।’

नेकपाका नेता ओम पुनले लेखेका छन्, ‘यो भारतीय पक्षद्वारा नेपालको सार्वभौमिकता र मुस्लिम समुदायमाथिको नाङ्गो हस्तक्षेप हो । सरकारी नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालले कोरोनाका विरुद्ध भारतसँग मिलेर लड्ने अभिव्यक्ति दिएसँगसँगै यो सवाल भारतीय मिडियामा उठेको छ । विषय उठानका पात्र पनि स्वयम् सरकारी पार्टीकै जनप्रतिनिधि भएकाले यसमा सम्बन्धित पक्ष गम्भीर भएर छानबिन गरोस् र आधिकारिक धारणा सार्वजनिक गरोस् । दोषी भए कारबाही गरोस् । हैन भने सरकार र सरकारी पार्टी पनि त्यसको मतियार साबित हुनेछ । तर नेपाली जनताले भने राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेपविरुद्ध सङ्घर्ष जारी राख्नेछन् ।’

मुलुक कोरोना भाइरसको सङ्क्रमणबाट संत्रस्त बनिरेको समयमा भारतीय पक्षहरूबाट लगातार नेपाल र नेपालीमाथि आँच आउने गरी भ्रम फैलाइरहँदा पनि नेपाली पक्षले सशक्त प्रतिक्रिया नजनाउनु नेपाल सरकारको लाचारी हो । कोरोना त्रास फैलिरहेकै बेला भारतसँग सीमा जोडिएका दाङलगायत नेकपाका विभिन्न जिल्ला समितिहरूले नेपाल–भारत खुला सीमा र नाकाहरू बन्द गरेर भारतीय हस्तक्षेप बन्द गर्न माग गरिरहेको सन्दर्भमा भारतीय पक्षबाट मच्चाइएको होहल्लाले नेकपाको मागलाई सही साबित गरेको छ । नेपाल–भारत खुला नाका र सीमाहरू स्थायी रूपले बन्द नगरिएसम्म भारतीय पक्षबाट नेपालमाथि निरन्तर हुँदै आएका अतिक्रमण, हस्तक्षेप र षड्यन्त्रहरू अझै बढिरहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :