‘अखिल (क्रान्तिकारी) सडक बाघका रूपमा गर्जिन आवश्यक’

दाङ :अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज समर, अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही र नेकपाका दाङ जिल्ला सेक्रेटरी भगवानराजको विशेष उपस्थितिमा उक्त प्रशिक्षण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समरले प्रतिबन्धपछि सरकार निरङ्कुश फासिस्ट शैलीमा पार्टीमाथि आएको बताउँदै विद्यार्थी आन्दोलनमा समेत सरकार दमनमा उत्रिएको बताए । साथै उनले आफ्नो पार्टीलाई यो व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी राज्य व्यवस्था निर्माणको महाअभियानबाट कसैले रोक्नै नसक्ने दाबी गरे ।

एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी शिक्षा स्थापना गरेर अगाडि बढ्न विद्यार्थीलाई आह्वान गर्दै समरले राष्ट्र र राष्ट्रियताका विषयमा अखिल (क्रान्तिकारी) अब सडक बाघका रूपमा गर्जिनुपर्ने र युवा विद्यार्थीले क्रान्तिका महान् कार्यभार पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा सङ्गठनका महासचिव प्रकाश शाहीले विद्यार्थीले राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विकृतिका विरुद्ध सङ्घर्षको जेहाद छेड्नुपर्ने आवश्यकता भएको र त्यसको नेतृत्व आफ्नो सङ्गठनले गर्ने बताए । नेपालको शिक्षा क्षेत्रको विकृतिविरुद्ध सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादी शिक्षा स्थापना गरेरै छोड्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक दीपक बिष्टले गरेका थिए । कार्यक्रममा राप्तीभरका विद्यार्थी सङ्गठनका पदाधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :