जहाँ सरकारी प्रतिबन्धको कुनै प्रभाव छैन

एकीकृत जनक्रान्तिको उद्गमथलो कर्णाली–भेरी ब्युरोअन्तर्गत कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीको ठूलो प्रभाव छ । त्यहाँको करिब १,३६,९४८ जनसङ्ख्यामध्ये यो पार्टीमा ४५ प्रतिशतभन्दा बढी जनता आबद्ध छन् । पलाता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, सान्ने त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिका नेपाल कम्युनिस्ट पार्टीको आधारइलाका हो भने शुभकालिका गाउँपालिका, तिला गुफा नगरपालिका र खाँडाचक्र नगरपालिका महत्वपूर्ण क्षेत्र हुन् । २०७५ साल फागुन २८ गते केपी वली सरकारले प्रतिबन्ध लगाएपछि देसैभरि त्यसको ठूलो प्रभाव प¥यो तर कालीकोट एउटा जिल्ला होला जहाँ प्रतिबन्धको केही प्रभाव परेको छैन । राजनीतिक क्रान्तिप्रतिको चेतनाले कालीकोटे जनतामा विद्रोहको भावना प्रबल भएर प्रकट भएको छ ।
हामीले ४३ वटा ठूला जनसभा गरेका छौँ । करिब ४५,००० जनता प्रत्यक्ष रूपमा सहभागी भए । अप्रत्यक्ष रूपमा ६०,००० जनताले हाम्रो कार्यक्रम हेरे । केन्द्रीय सामना परिवार भन्नेबित्तिकै जनताले असाध्यै रुचाएका छन् । दसबर्से महान् जनयुद्धको ठूलो प्रभाव रहेको थियोे यहाँ । स्थानीय प्रहरी प्रशासन पनि खासै हाम्रो पार्टीप्रति नकारात्मक देखिएन । जे होस्, कालीकोटको जनउभारले देशभरि क्रान्तिकारीहरूलाई ठूलो प्रेरणा मिलेको छ ।
१५ देखि २० वर्ष उमेरसमूहका युवाहरूको आकर्षण पार्टीप्रति निकै छ । राजनीतिक रूपमा कालीकोटमा ठूलो उपलब्धि हासिल भएको छ । यो पार्टी बाहिर अन्य जिल्लाभन्दा निकै शक्तिशाली रहेको छ । कथित सत्तारूढ नेकपा, प्रतिपक्षी नेपाली काङ्ग्रेस र अन्य पार्टीका नेता–कार्यकर्ताको नेपाल कम्युनिस्ट पार्टी नेता पार्टी बनेको छ । जनताको अगाडि जुनसुकै तागत पनि निरीह बन्छ भन्ने कुरा कालीकोट जिल्ला पार्टीले पुष्टि गरेको छ । २०७६ पुस १ गतेदेखि शुभकालिका १ छातीबाट सुरु भएको जनसभा तथा सांस्कृतिक कार्यक्रम २०७६ माघ १० गते नरहरिनाथ गाउँपालिका वडा ८, लालुमा पगेर समापन भएको थियो ।
हिउँसँग मित्रता गाँस्दै लालबस्तीमा जनताको प्यारो सामना परिवार जनताको घरआँगनमा पुगिरहेको छ । मङ्सिर महिनाको मसान्तताका मौसमी प्रतिकूलता पनि उत्तिकै थियोे । २०७६ मङ्सिर ३० गते शुभकालिका १ छातीमा कालीकोट जिल्ला सङ्गठन समितिका सदस्य धनबहादुर कमरेडले स्वागत गर्नुभयो । हामी टाढाबाट आएकाले थकित थियौँ । मगरबस्तीमा जनशैली अपनाउँदै छाती ढुक्कै भएर रात काट्यौँ । पुस १ गते नयाँ महिनाको सुरुमै सयौँ जनताका बीचमा जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
जनतासँग बिदा माग्दै पुस २ गते छातीदेखि भर्तातिर हिँडियो । सबै कमरेड गाउँमा लामबद्ध भएर हिँड्दा विशिष्ट खालको अनुभूति भएको थियो । पहिलोचोटि सायद हिउँमा २ घन्टा हिँड्ने अवसर पाइयो । निकै रमाइलो भयो । हामीले दलित बस्तीका बासिन्दासँग पार्टीको आमनीतिसम्बन्धी विशेष छलफल गरेका थियोैँ । पुस ३ गते श्री जनज्योति मावि शुभकालिका ३ भर्तामा सयौँ जनता, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधिका बीचमा पार्टीका जिल्ला सेक्रेटरी रणदीपले सम्बोधन गर्नु्भएको थियोे । पुस ४ गते भर्ताबाट सामना कलाकार र जिल्ला पार्टीका साथीहरू हिँड्यौँ । शुभकालिका वडा २ कालप्कोटमा रहेको केन्द्रीय सामना परिवारका सदस्य पल रावलकी दिदीको घरमा बास बसियो ।
पुस ५ गते कालीकोटमा भव्य कार्यक्रम गरियो । मौसमी प्रतिकूलताका बीच कालीकोटपूर्वको अन्तिम दैलेख जिल्लाको सामरिक क्षेत्रसँग जोडिएको डिल्लीकोटमा पुस ९ गते कार्यक्रम भयो । हिउँले ढाकिएको डिल्लीकोट सौन्दर्यको हिसाबले निकै मनमोहक थियो । हामीले त्यहाँ पनि जनतासँग घनिष्ट समन्वय गर्दै नयाँ क्रान्तिकारी भाव पैदा ग¥यौँ । त्यहाँ पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिका विषयमा छलफल भएको थियोे । पुस १० गते डिल्लीकोटबाट करिब ८ घन्टाको बाटो लगातार हिँडियो । साँझ छाप्रेमा अवस्थित कमरेड रमेशको घरमा पुगियो । पुस ११ गते हजारौँ जनतामाझ कार्यक्रम सम्पन्न ग¥यौँ । पुस १२ गते त्यहाँबाट बिदा माग्दै कालीकोट र जुम्लाको सिमानामा पर्ने फुई महादेपमा पुग्यौँ । पुस १३ गते त्यहाँ पनि कार्यक्रम ग¥यौँ । पुस १४ गते त्यहाँबाट करिब ३ घन्टाको यात्रा गाडीबाट जितेमा पुगेर बास बसियो । त्यसपछि साँझ खाना खाएपछि रातको समय त्यो ठाउँमा बस्न त्यति अनुकूल नभएकाले बिहान हामी आधारक्षेत्रमा प्रवेश ग¥यौँ ।
पुस १४ खिनमा पुग्यौँ । १५ गते त्यही गाउँमा कार्यक्रम गरियो । जनमुक्ति सेनासँग भेट भयो । त्यो भेटघाटले हामी थप रोमाञ्चित भयौँ । त्यहाँबाट क्रमशः छलाहा, धौलागाउँ र लार्फको राडुनेटामा भव्यताका साथ कार्यक्रम सम्पन्न ग¥यौँ । मौसमी प्रतिकूलताका बीच पनि हाम्रो कार्यक्रममा पुरानो सत्ताका प्रतिनिधिहरू आएर कार्यक्रम हेरे । पार्टीको विचार पनि सुने । जे होस्, हजारौँ जनताका बीचमा पार्टीको विचार पु¥याउन ठूलो सहयोग पुगेको महसुस भयो । पुस २१ गते नानीकोटमा कार्यक्रम गरियो । पुस २२ गते भूकोटमा सांस्कृतिक कार्यक्रम गरियो । त्यहाँ भेरी–कर्णाली ब्युरोस्तरीय कलाकारको टिम र जनमुक्ति सेनाका कमरेडहरूसँग भेट भयो । पुस २४ गते श्रीपाट, पुस २६ गते मुम्रा, पुस २८ गते मेलमुडी, पुस २९ गते लुइटा, माघ १ गते राकु, माघ २ गते कोटबाडा, माघ ५ डाँडाखोला, माघ ६ गते रूपसामा भएका कार्यक्रमहरू निकै प्रभावकारी रहे । माल्कोट, कुमालगाउँ, लालुमा कार्यक्रम गर्दा तथा जनताको प्रत्येक घरमा पुग्दा जनताले नेपाल कम्युनिस्ट पार्टीमाथि निकै भरोसा गरेको कुरा गहिरो गरी महसुस भयो । त्यहाँ जनमुक्ति सेना र कलाकार बन्छु भन्ने युवाहरूमा पार्टी र क्रान्तिप्रति ठूलो आकर्षण र प्रभाव परेको पाइयो ।
हामीलाई लाग्छ, कालीकोटजस्तो देशका अन्य जिल्ला भएको भए क्रान्तिको लहर अर्कै हुने थियो । हाम्रो अभियानात्मक कार्यक्रममा ९९ प्रतिशत सफलता मिलेको छ । यसले हामीलाई निकै हौसला पनि दिएको छ । यहाँ फासिवादी प्रतिबन्धको कुनै महसुस गर्नु परेन । स्थानीय प्रशासन र प्रहरीकै अगाडि कार्यक्रम सम्पन्न भएका छन् । प्रतिबन्धको महसुस नै नहुने पार्टीको व्यापक प्रचारले कथित जनप्रतिनिधिहरूको सातो गएको छ । यसले हामीलाई मात्र होइन, सिङ्गो पार्टीलाई सकारात्मक सन्देश दिएको हामीले महसुस गरेका छौँ । साथै, एकीकृत जनक्रान्तिको उज्ज्वल भविष्य देखेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :