भव्य रूपमा मनाइयो माओ दिवस

काठमाडौँ : माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको श्रमवीवी वर्गले संसारभर १२७ औँ माओ दिवस मनाएको छ । नेपालमा पनि नेकपाले भव्य रूपमा माओ दिवस मनाएको छ । नेकपाका महासचिव विप्लवले श्रमिक जनता, जनमुक्ति सेना र पार्टी नेता–कार्यकर्ताका बीचमा माओ दिवस मनाएको समाचार प्राप्त भएको छ ।

चिनियाँ जनताका महान् नेता, विश्व–सर्वहारा वर्गका गुरु माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३मा चीनको ग्रामीण क्षेत्रमा भएको थियो । २६ डिसेम्बर तदनुसार पुस१०गते विश्वभरिका क्रान्तिकारी पार्टी र जनताले १२७ औँ माओ दिवस मनाएका छन् । रातोखबर प्रकाशन गृहले विशेष महत्वका साथ माओ दिवस र माओवादसम्बन्धी सामग्री प्रकाशन गरेको छ भने आफ्नो सहप्रकाशन विचारप्रधान मासिक‘दृष्टिकोण निर्माण’को अङ्कलाई माओ विशेषाङ्कका रूपमा प्रकाशित गरेको छ ।

अध्यक्ष माओले लेनिनवादलाई चीनमा नयाँ र चिनियाँ विशिष्टतामा लागू गर्नुभयो । अध्यक्ष माओ लामो समयसम्म सोभियत सङ्घ र स्टालिनपन्थीहरूका कारण पार्टीमा अल्पमतमा हुनुहुन्थ्यो । ‘लम्बे अभियान’ पछि माओको कार्यदिशाले बहुमत पायो । कालान्तरमा स्टालिनको समर्थन पनि माओकै पक्षमा आयो । चिनियाँ क्रान्तिलाई रोक्न च्याङकाइसेक र जापानी आक्रमण भयो । अध्यक्ष माओले फराकिलो संयुक्त मोर्चाको नीति अवलम्बन गर्नुभयो । सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि जापानकै भूमिकामा अमेरिकी साम्राज्यवाद पर्दाअगाडि आयो । ती सबैका विरुद्ध लड्दै सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति पूरा भयो ।

वामपन्थ र दक्षिणपन्थ नेतृत्वको कार्यदिशाका कारण चीनमा ठूलो क्षति र रक्षात्मक अवस्था उत्पन्न भएको थियो । जब माओत्सेतुङको कार्यदिशा र नेतृत्व स्थापित भयो, त्यसपछि पार्टीले विकास ग¥यो । क्रान्ति सम्पन्न गर्यो विचार । राजनीति सही हुनु र नहुनु क्रान्तिमा निर्णायक हुन्छ । चीनको लामो दुई लाइन सङ्घर्ष र विजय–पराजयको संश्लेषण गर्दै अध्यक्ष माओले ‘वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ’ भन्नुभएको थियो जुन चिनियाँ जनताले रगतको मूल्य चुकाएर आविष्कार गरेका थिए । त्यसैगरी जनताको परिवर्तनको चाहना र प्रतिरोधलाई शासक वर्गले अवैधानिक र गैरकानुनी घोषणा गरेका थिए । अध्यक्ष माओत्सेतुङले प्रतिक्रियावादीहरूको चोटिलो जबाफ दिँदै ‘विद्रोह गर्नु अधिकार हो’ भन्नुभयो । त्यो भनाइ भयानक तरङ्गमय भयो ।तीव्र गतिमा विश्वभरफैलियो । शोषणर लुटका विरुद्ध जनताले विद्रोहको अधिकार प्रयोग गरे । विद्रोहले नैतिक हक स्थापित गर्यो । माओले चिनियाँ क्रान्तिका क्रममा राजनीति, अर्थनीति र दर्शन सबै क्षेत्रमा गुणात्मक विकास गर्नुभयो ।

सन् १९७६, ९ डिसेम्बरमा माओत्सेतुङको निधन भयो । चियाङ चिङ नेतृत्वका क्रान्तिकारीहरूले दक्षिणपन्थी मुख्यालयका विरुद्ध मध्यपन्थीसहित सबै गैरसर्वहारा प्रवृत्तिलाई आफ्नो सहयोगी बनाउन सकेनन् । माओ त्सेतुङ जीवितै छँदा माओत्सेतुङ र चिनियाँ जनताको सहयोग र विश्वास लिन पनि सकेन । न त माओले समयमा नै नेतृत्व हस्तान्तरण गर्ने वातावरण बन्यो । माओत्सेतुङको निधनलगत्तै तेङमण्डलीले चियाङ चिङसहितका क्रान्तिकारीहरूलाई बैठकका लागि आमन्त्रण गरेर गिरफ्तार गर्यो । जनमुक्ति सेना पुनगर्ठन गर्यो र सोभियत संशोधनवादसहित बाह्य समर्थनमा प्रतिक्रान्ति गर्यो । त्यसपछि ‘बिरालो सेतो होस् वा कालो त्यसले मुसा मार्नुपर्छ’ भनी तेङमण्डलीले घोषणा गर्यो । आर्थिक विकास गरे हुन्छ अरू केही आवश्यक छैन भन्न थाल्यो । आर्थिक विकासको नाराभित्र पुँजीवाद हुर्कियो । धनी र गरिबको खाडल बढ्दै गयो । आज चिनियाँ पुँजीवाद साम्राज्यवादको नयाँ संस्करणका रूपमा हुर्किरहेको छ । उसले पश्चिमी साम्राज्यवादका विरुद्ध लडिरहेको देखिन्छ । त्यत्तिनै पर्याप्त हुँदैन । त्यत्ति नै समाजवादी धारा हुनुको प्रमाण हुन सक्दैन ।

२६ डिसेम्बरको दिन विश्वभरिका कम्युनिस्टहरूले अध्यक्ष माओलाई सम्झिए । नेपालमा कम्युनिस्ट नामधारी पार्टी सरकारमा रहेको छ । तर उसले र उसको पार्टीले माओलाई सम्झन आवश्यक ठानेन । अमेरिकी स्वार्थसँग टक्कर परेकै कारण चीनका वर्तमान राष्ट्रपतिलाई पश्चिमाहरूले माओत्सेतुङको बाटोमा फर्केको आरोप लगाइरहेको बेला साम्राज्यवादको त्रासले माओको नाम लिन डराइरहेको बुझ्न सकिन्छ । सत्तारूढ पार्टीमा आइरहेको तीव्र वर्गीय पतन त्यसको अर्को कारण हुनसक्छ । २०३५ सालमा माओको विषयलाई ‘ड्रप’गरेर ख्रुस्चोभको गीत गाउन थालेको तत्कालीन ‘माले’ (हाल नेकपा) दलाल पुँजीवादको कारिन्दा बनिसकेको छ । कम्युनिस्टका नाममा भयानक लुटपाट, दलाली, चाकरी, भ्रष्टाचार गरिरहेको छ । आलोचनाको स्वरलाई दमन गरिरहेको छ । राष्ट्रघातले सीमा नाघिसकेको छ । चुनावद्वारा नै फासिवाद सत्तारूढ भएको छ । फासिवाद सैन्य कू र चुनाव दुवै तरिकाले उदाउने गर्छ । यस्तो बेला अध्यक्ष माओ र उनका सिद्धान्तहरुलाई नेपाली विशेषताअनुरूप लागू गर्नुपर्दछ । यस अर्थमा नेपालमा माओ दिवसको सान्दर्भिकता अझ टड्कारो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :