नेकपाद्वारा सरकारको आततायी क्रियाकलापको घोर निन्दा एवम् भत्र्सना गिरफ्तार नेता–कार्यकर्ता तत्काल रिहाइको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले सरकारी आततायी क्रियाकलापको निन्दा र भत्र्सना गरेको छ । ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केपी वलीको दलाल सामाजिक फासिवादी सरकारले सामुदायिक बन उपभोक्ताको इच्छाविपरीत जबर्जस्ती कैलाली, कञ्चनपुरलगायत चुरे र महाभारत क्षेत्रमा समेत जथाभाबी रूख कटानी गरिरहेको छ । यसै सिलसिलामा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मैनापोखरी सामुदायिक बनमा कथित वैज्ञानिक बनका नाममा रूख काटीरहेको जनगुनासो आएपछि यही पुस ७ गते हाम्रो पार्टीको स्थानीय समितिको नेतृत्वमा रोक्न खोज्दा उल्टै पुलिसले फायरिङ गर्दै र जनतालाई आतङ्कित पार्दै हाम्रो पार्टी निकट दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक टेकबहादुर विक र साधारण जनता दिनेश विकलाई गिरफ्तार गरेको छ । हाम्रो पार्टी यसखाले राज्यको आततायी क्रियाकलापको घोर निन्दा एवम् भत्सर्ना गर्दछ र गिरफ्तार गरिएकाहरूलाई तत्काल रिहा गर्न माग गर्दछ ।’

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै कथित वैज्ञानिक बन व्यवस्थापनका नाममा भैरहेको बन फडानीको सशक्त विरोध गर्दै आएको छ र यसलाई खारेज गर्ने मत पनि राख्दै आएको छ । विश्वमा असफल साबित भएको र नेपालका लागि झन् निकै उनुपयोगी घातक साबित हुँदै गएको कथित वैज्ञानिक बन व्यवस्थापनका विरुद्ध हाम्रो पार्टी मात्रै नभएर कैयौँ राजनीतिक दल, सामुदायिक बन महासङ्घ, उपभोक्ता समूह, जनता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरू पनि यसका विरुद्ध छन् । यसलाई रोक्न आन्तरिक पत्र र सार्वजनिक विज्ञप्तिमार्फत हाम्रो पार्टीले सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आएको छ । सामुदायिक बन महासङ्घले पनि धेरैपटक राष्ट्रिय र स्थानीय स्तरका कार्यक्रम गरी सङ्घर्षका कार्यक्रम अघि सारेको छ । तर केपी वलीको दलाल सामाजिक फासिवादी सरकारले यसको कुनै सुनुवाइ नगरी उल्टै मापदण्डविपरीत कार्ययोजना बनाउदै सामुदायिक बन उपभोक्ताको इच्छाविपरीत जबर्जस्ती कैलाली, कञ्चनपुरलगायत चुरे र महाभारत क्षेत्रमा समेत जथाभावी रूख कटानी गरिरहेको छ । यसै सिलसिलामा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मैनापोखरी सामुदायिक बनमा कथित वैज्ञानिक बनका नाममा रूख काटिरहेको जनगुनासो आएपछि यही पुस ७ गते हाम्रो पार्टीको स्थानीय समितिको नेतृत्वमा रोक्न खोज्दा उल्टै पुलिसले फायरिङ गर्दै र जनतालाई आतङ्कित पार्दै हाम्रो पार्टीनिकट दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक टेकबहादुर विक र साधारण जनता दिनेश विकलाई गिरफ्तार गरेको छ । हाम्रो पार्टी यसखाले राज्यको आततायी क्रियाकलापको घोर निन्दा एवम् भत्र्सना गर्दछ र गिरफ्तार गरिएकाहरूलाई तत्काल रिहा गर्न माग गर्दछ । जनताको सम्पत्ति बन रक्षाका लागि सङ्घर्ष गर्ने, सिमाना मिचिएकोमा विरोध गर्ने, भ्रष्टाचारका विरुद्ध र न्यायका पक्षमा लड्नेहरूका विरुद्ध बन्दुक सोझ्याउने कथित दलाल सरकार र त्यसका आदेशपालक कथित सुरक्षाकर्मीहरूको यस्तोखाले आतङ्ककारी क्रियाकलापले हामीलाई प्रतिरोध गर्न बाध्य पार्दै लगेको छ । जसरी केपी वलीको दलाल सरकारको आडमा अमेरिकाको दक्षिणएसिया प्रशान्त रणनीतिका नाममा नेपालमा सैन्य अखडा राख्ने, मिलेनियम च्यालेन्ज कर्पाेरेसनका नाममा बजेट ल्याउने र हाम्रो देशको युरेनियम कब्जा गर्ने रणनीति लिएको छ । त्यसरी नै साम्राज्यवादी पुँजीवादीहरूको योजनामा सामुदायिक बनका नाममा समुदायमा आएको अधिकारलाई कटौती गरी निश्चित दलाल ठेकेदार, भ्रष्ट कर्मचारी, बदमास सामुदायिक बनका पदाधिकारीको निहित स्वार्थ पूरा गर्न र नेपालको पर्यावरण र जैविक विविधतालाई ध्वस्त पारी राष्ट्रलाई परनिर्भर बनाउने खेलअन्तर्गत यो कथित वैज्ञानिक बन व्यवस्थापन ल्याइएको छ । यसलाई निम्नकारणले रोक्नुपर्छ र खारेज गर्नुपर्छ :

१) यो देश र जनताको हितमा भन्दा पनि साम्राज्यवादीहरूको डिजाइनमा पुँजीवादीको फाइदा र दलाल सरकारको राजस्वमुखी छ ।
२) यो सामुदायिक बनलाई खारेज गर्ने र समुदायलाई अधिकार र उपभोगविहीन बनाउने उद्देश्यले आएको छ र सङ्घीयताविरोधी छ ।
३) यो नेपालको जमिन, हावापानी र वनस्पतिको चरित्रविपरीत छ । यसले जनावर, जडीबुटी र पर्यावरण ध्वस्त पार्नेछ ।
४) यसले तत्काल निश्चित वर्ग र पक्षलाई मात्रै फाइदा हुनेछ । दीर्घकालमा हाम्रो भाबी पुस्तालाई सर्वाङ्ग नाङ्गो बनाउनेछ ।
५) यो संसारभरि असफल भएको परियोजना हो र नेपालमा यसलाई केही दलाल वर्गले कमाइखाने भाँडो बनाउन ल्याएको हो । यसमा केही दलाल वर्ग र भ्रष्ट कर्मचारीतन्त्रको स्वार्थ गाँसिएको छ, जनताको होइन ।
६) यसले सामाजिक सद्भाव र समुदायगत विकासलाई समाप्त पार्नेछ र बनलाई निश्चित फटाहाहरूले मात्रै कमाइखाने साधन बनाउनेछन् । जनताको संस्कृति समाप्त हुनेछ ।
७) यो अन्तर्राष्ट्रिय मानकविपरीत जल, जङ्गल र जमिनमा आदिवासी जनजाति र स्थानीय जनताको अधिकारविरोधी छ ।
८) यो दिगो बन व्यवस्थापन र स्थानीय उद्योग विकासको पनि विपरीत छ । यो नेपालको भूगोल सुहाउँदो छैन । यो हरियो बन नेपालको धनविपरीत हरियो बन दलाल र तस्करको धन उन्मुख छ ।

त्यसकारण कथित वैज्ञानिक बनका नाममा भैरहेको बन विनासलाई रोक्न सबै जिल्लाहरूमा सम्पूर्ण पार्टी समितिले प्रतिरोध सङ्घर्षलाई अगाडि बढाउन हार्दिक आह्वान गर्दछौँ । साथै सामुदायिक बन महासङ्घ, सामुदायिक बन उपभोक्ताहरू, नागरिक समाज र सरोकारवाला सङ्घसंस्थालाई पनि संयुक्त सङ्घर्षमा आउन अपिल गर्दछौँ । जनताको आग्रहविपरीत व्यक्तिगत स्वार्थमा पछि लाग्ने सामुदायिक बनका केही पदाधिकारीहरू, कमिसनखोर र भ्रष्टाचारी, बनका कर्मचारी, जनताको छातीमा बुट र गोली बर्साउन आउने कथित सुरक्षाकर्मी, सुराकी गरेर पुलिस बोलाई टेकबहादुर विक र दिनेश विकलाई गिरफ्तार गराउने र दमन गराउने मैनापोखर सामुदायिक बनका अध्यक्ष प्रेम चौधरी, जडै सामुदायिक बनका अध्यक्ष गगन साउद र सदस्य दिलबहादुर साउद, सम्बन्धित क्षेत्रको बन सबडिभिजन प्रमुख र जिल्ला बन अधिकृतलाई हामी जनताको तहबाट सशक्त प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयम् उल्लिेखत व्यक्ति र संस्थाले लिनुपर्ने चेतावनी पनि दिन्छौँ ।

विज्ञप्तिसहित….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :