युवा सङ्गठन नेपालको तीनमहिने साङ्गठनिक अभियान देशैभर उद्घाटन

काठमाडौं : हालै बसेको सङ्गठनको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार आज देशैभर सङ्गठन सुदृढ तथा विस्तार अभियान उद्घाटन भएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आमयुवाहरू एक हौँ ! वैज्ञानिक समाजवादका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा अघि बढौँ !! मूल नाराका साथ बाँके, बर्दिया, बझाङ, बैतडी, कञ्चनपुर, कैलाली, जाजरकोट, दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानमा एकै साथ अभियान उद्घाटन भएको छ । यसैगरी लुम्बिनी ब्युरो, गण्डक ब्युरो, धवलागिरि ब्युरो, उपत्यका ब्युरो, ताम्सालिङ ब्युरो, नारायणी ब्युरो र पूर्वी कमान्डका भोजपुर, उदयपुरलगायत देशका सबै जिल्लाहरूमा अभियान उद्घाटन भएको छ । सयौँ युवाहरूको उपस्थितिमा भएको उद्घाटन कार्यक्रमलाई सङ्गठनका केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका थिए । वक्ताहरूले आमबुद्धिजीवी, मानवअधिकारवादी, देशभक्त राष्ट्रवादी शक्ति, वामपन्थी, वकिल, व्यापारी, पत्रकारलगायत सम्पूर्ण क्रान्तिकारी युवाहरूलाई अभियानमा साथ, समर्थन तथा समाहित हुन अपिल गरे । देश भ्रष्टाचारको दलदलमा फस्दै गएको र नेपाली जनता ऋणको भारी बोक्न बाध्य भएको हुँदा अब सचेत नागरिकहरूले बेलैमा बुझ्नुपर्ने वक्ताहरुको भनाइ थियो ।

देशको ठूलो कर छली गर्ने एनसेललगायत विभिन्न सङ्घसंस्थाहरूसँग सत्ताका मालिक र राजनीतिक पार्टीका मुख्य नेताहरूको साँठगाँठ रहेकाले त्यसका विरुद्ध सशक्त सङ्घर्ष गर्न वत्ताहरुले युवालाई अपिल गरे । गाउँगाउँमा भएका बेथिति, विसङ्गति, चर्को कर र भ्रष्टाचारका विरुद्ध जस्तोसुकै चुनौतीका बीचबाट पनि सङ्घर्ष गर्न र जनकारबाहीसम्म गर्न युवाहरूमा अपिल गरे । साँच्चिकै समृद्ध नेपाल र सुखी नेपाल निर्माण गर्ने हो भने यो व्यवस्थाबाट सम्भव छैन, त्यसका लागि वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव रहेको वक्ताहरुले बताए । कथित केपी–प्रचण्डको राजनीतिक प्रतिबन्ध पानीको फोका भएर जाने भन्दै त्यसको डटेर सामना गर्न वक्ताहरूले जोड दिए ।

२०७६ असोज ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :