फासिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद : पुन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुनले आफ्नो पार्टी निरन्तर क्रान्तिको बाटोमा रहेको भन्दै सरकारले आफ्नो असफलता छोप्नका लागि आत्तिएर नेकपामाथि प्रतिबन्ध लगाएको बताएका छन् ।

दलाल पुँजीवादी व्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्ने आफ्नो पार्टीको एक मात्र उद्देश्य भएको बताउँदै नेता पुनले आफ्नो पार्टी प्रचण्ड–बाबुरामजस्तो यही व्यवस्थामा हिस्सा खोज्ने गद्दारी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेता पुनले वार्ता षड्यन्त्र मात्र भएको र यसबाट क्रान्ति नहुने पनि बताएका छन् ।

नेता पुनले अवसरवादी विचार बोकेकाहरू पार्टीबाट भाग्नु र आत्मसमर्पण गर्नु क्रान्तिको नियमभित्रै भएको भन्दै दुईचारजनाले पार्टी छोडेर भागेमा आफूहरूलाई केही फरक नपर्ने बताए । उनले क्रान्तिमा व्यक्ति आउने–जाने कुराले त्यति अर्थ नराख्ने भन्दै विचारको श्रेष्ठता हुने प्रस्ट पारे ।

लामो समयदेखि पार्टीको अविश्वासमा परी निष्क्रिय भएका र केही स्वास्थ्य समस्या देखाउँदै पार्टीको वर्तमान भूमिकामा रहन सक्दैनौँ भन्नेहरू पार्टी छोडेर बाहिर जानु स्वाभाविक भएको उनले बताए । वर्गसङ्घर्ष घनीभूत हुँदै जाँदा कोही पनि लडाइँबाट अछुतो नरहने उनको भनाइ थियो । जनताका लागि लडेर महान् योद्धा र मरेर महान् सहिद हुने वा प्रतिक्रियावादी बनेर गद्दार हुने भन्ने प्रश्न गर्दै उनले आफ्नो पार्टी कुनै पनि हालतमा प्रचण्डहरूसँग समाहित नहुने प्रस्ट पारे । त्यो असम्भव र काल्पनिक कुरा भएको दाबी उनले गरे ।

एक कार्यक्रममा नेता पुनले भने, ‘अब नेपालमा आम बुद्धिजीवीले देश र जनताले भोगेको महँगी, भ्रष्टाचार, राष्ट्रघात, जनघात, अशान्ति, गरिबी, चर्काे कर, राष्ट्रिय सम्पत्तिमाथिको लुटपाट र राज्यको सबै निकायमा देखिएको नोकरशाही प्रवृत्ति र सामाजिक फासिवादको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने बहस चलाइसकेका छन् । त्यसकारण अब दलाल पुँजीवादको असफलता पुष्टि भैसकेकाले क्रान्ति नै त्यसको एक मात्र विकल्प हो ।’

२०७६ असोज १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :