काठमाडौँ बम विस्फोटमा रामकुमार श्रेष्ठको पाँचौँ बलिदान


काठमाडौँ : नेपाल बन्दको पूर्वसन्ध्यामा जेठ १२ गते साँझ सुकेधारा बम विस्फोटमा परी गम्भीर घाइते भएका रामकुमार श्रेष्ठको शनिबार बिहान निधन भएको छ । मन्थली नगरपालिका ४, गैराथोक, रामेछाप जन्म भएर मावली ओखलढुङ्गामा अध्ययन गरेका श्रेष्ठको उपचार ओम अस्पताल चाबहिलमा हुँदै आएको थियो । भेन्टिलेटरमा राखेर उपचार हुँदै आएका रामकुमारको स्वास्थ्यमा सुधार आएपछि अस्पताल प्रशासनले केहीदिन आईसीयूमा राखेर उपचार गरेको थियो ।

रामकुमारसहित जेठ १२ गते आन्तरिक दुर्घटनामा परी बलिदान गर्नेको सङ्ख्या पाँच पुगेको छ । सुकेधारा विस्फोटमा परी जनमुक्ति सेनाका योद्धा एवम् जवसका महान, दीपेन्द्र र निरन्तर तथा अनामनगर घट्टेकुलो विस्फोटमा परी विद्यार्थी नेता प्रज्वल शाहीको निधन भएको थियो । सुकेधारा विस्फोटमा परी गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

सुकेधारा विस्फोटमा परी गम्भीर घाइते भएका रामकुमार, सुरेन्द्र र हरि तीनैजनाको अनुहार नचिनिने अवस्थामा उपचार भइरहेको थियो । गम्भीर घाइते भएका उनीहरूको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको र उपचारमा अस्पतालको राम्रो सहयोग रहेको स्रोतले जनाएको छ ।

केपी वली सरकारले जेठ ७ गते भोजपुरमा राजनीतिक कार्यक्रममा निःशस्त्र हिँडिरहेका नेकपाका युवा नेता तीर्थ घिमिरे ‘राजु’लाई गिरफ्तार गरी हत्या गरेपछि त्यसको विरोधमा जेठ १३ गतेकालागि नेपाल बन्दसहित आमहडताल घोषणा गरिएको थियो । बन्दको पूर्वसन्ध्या र बन्दमा काठमाडौँलगायत देशभर सयौँ स्थानमा विस्फोट गराइएको थियो । सुकेधारा विस्फोटका क्रममा महान, दीपेन्द्र, निरन्तर, रामकुमार, सुरेन्द्रर हरि घाइते भएका थिए । सुकेधारा विस्फोटका महान, दीपेन्द्र र निरन्तर तथा अनामनगर विस्फोटका प्रज्वलको तत्काल निधन भएको थियो । अनामनगरका घाइतेहरूको पनि विभन्न स्थानमा उपचार भइरहेको छ । यसअघि भोजपुरमा प्रहरीद्वारा मारिएका तीर्थ, सुकेधारा विस्फोटका महान, दीपेन्द्र, निरन्तर तथा अनामनगर विस्फोटमा बलिदान गर्ने प्रज्वललाई नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरी सहिद घोषणा गरिसकेका छन् ।

यसै क्रममा विस्फोटमा परी घाइते भएकाहरूलाई सरकारले भयभीत पारेर उपचारमै अवरोध गरिरहेको भन्दै नेकपाले वली–बादल गृह प्रशासनलाई चेतावनी दिएको थियो । नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘फासिस्ट दलाल सरकारको गृह प्रशासनले घाइतेका आफन्तलाई सहज रूपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, बिरामीलाई ‘एम्बुस’का रूपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, बिरामीलाई भयभीत पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यो व्यवहारको निन्दा गर्दछ ।’

स्मरणीय छ, युद्ध चलेको समयमा समेत घाइतेहरूको जीवन रक्षाकालागि विद्रोही र सरकारले मानवीय व्यवहार गर्ने चलन छ तर सरकारले घाइतेलाई नै मानवढाल र एम्बुस बनाएर नेकपाका नेता–कार्यकर्ता चिन्ने, गिरफ्तार गर्ने र घाइतेहरूको उपचारमा व्यवधान गर्ने गरेर अमानवीयताको निकृष्ट उदाहरण दिएको थियो ।

नेकपाले वर्तमान व्यवस्थालाई दलाल पुँजीवादी र सरकारलाई फासिवाद उन्मुख सामाजिक दलाल पुँजीवादी घोषणा गरेर एकीकृत जनक्रान्ति अघि बढाएपछि आठ जनाको बलिदान भइसकेको छ ।

२०७६ जेठ ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :