प्रचण्ड र सीके राउत एकै !

फागुन २४ गते महिलाहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा व्यस्त थिए । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले काठमाडौँको भोटाहिटीमा कार्यक्रम गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी महिला नेताहरू गौरा धामी, विमला शेर्पा, रुक्मिणी पुडासैनी, उषा भुजेल र अन्य दुईजना पुरुष नवीन बिष्ट र सुरेश अधिकारीलाई गिरफ्तार गरेर दरबार मार्गमा लगिराखेको थियो । ठीक त्यही समयमा राष्ट्रिय सभागृहमा ‘समाजवादी गणतन्त्र’ का प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापाहरू चन्द्रकान्त राउत (सीके राउत) लाई अँगालो हाल्दै थिए । सीके राउतको प्रशंसा गरेर ओली भाषण छाँट्दै थिए । मञ्चमा पुष्पकमल, रामबहादुरहरू गजधम्म भएर ओलीको भाषणमा मन्त्रमुग्ध भएका थिए । त्यही क्रममा ओलीले जुँगामा ताउ लगाउँदै भनेका थिए, ‘सीके राउतसँग एउटा यस्तो अद्भुत क्षमता देखेँ त्यस्तै अद्भुत क्षमता मैले कमरेड प्रचण्डमा देखेको थिएँ ।’ ओलीले यसो भनिरहँदा पुष्पकमल दाहालको अनुहारमा एकाएक रुन्चे हाँसो देखापरेको थियो । उनलाई लाज लाग्यो कि ग्लानि भयो अनायासै मुख छोपे ।

फागुन २३ गते अदालतको आदेशमा छुटेका सीके राउत जेलबाट सीधै बालुवाटार प्रधानमन्त्रीलाई भेट्न गएका थिए । त्यहाँ गृहमन्त्री रामबहादुर थापा पनि थिए । त्यसैको फलस्वरूप भोलिपल्ट राष्ट्रिय सभागृहमा ११ बुँदेमा सीके राउत र रामबहादुर थापाका बीचमा हस्ताक्षर गरेर राजनीतिक सहमतिको मञ्चन गरिएको थियो । त्यही हस्ताक्षर कार्यक्रमको समापनमा सम्बोधन गर्दै ओलीले १० वर्षको जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल र सिङ्गो मधेसलाई नेपालबाट अलग गरी स्वतन्त्र राष्ट्रको माग गरिरहेका सीके राउतलाई एउटै कोटीमा राखेका थिए । सीके राउतले स्वतन्त्र मधेसको नारा मात्र लगाएका थिएनन्, उनले छुट्टै राष्ट्रको हैसियतमा झन्डा बनाए, ‘मधेस के राष्ट्रिय गान’ बनाए । उनले तयार पारेको राष्ट्रिय गानमा थियो ः

कोसी कमला गण्डक काली
जनक सीता बुद्ध धारी
अनन्त उर्वर मधेस जय
जय जय जय मधेस जय
सहस्र तलाव सरस मृणाली
सुलभ समृद्ध सतत् हरियाली
मनोरम महान् मधेस जय
जय जय जय मधेस जय
परित्राता परिपालक परम भवशाली
अजित अभिप आभा भारी
मेधावी महारथी मधेस जय
जय जय जय मधेस जय
जय जय जय मधेस जय

यति मात्र होइन, उनले मधेस भनी नक्साङ्कन पनि गरिसकेका थिए । त्यसैले सीके राउत उनको स्वतन्त्र मधेस सङ्गठनलाई पृथकतावादी भएको आरोप लगाइएको थियो । केपी ओली सरकारले समेत उनलाई पृथकतावादी भनेर धेरैपटक गिरफ्तार गरेको थियो । तर एकाएक नाटकीय रूपमा २४ गते उनी साजसज्जाका साथ प्रधानमन्त्रीलगायत सरकारका महत्वपूर्ण मन्त्रीहरूका साथमा राष्ट्रिय सभागृहमा देखापरेका थिए । त्यहाँ ११ बुँदे सहमति गरियो । त्यही दिन नै स्वयम् सरकार पक्ष पार्टीका नेताहरूले २ नम्बर बुँदालाई लिएर विरोध गरेका थिए । अहिले आएर नेपाली काङ्ग्रेस, सरकारी नेकपाका नेताहरू, बाबुराम भट्टराई, स्वतन्त्र व्यक्तित्वले विरोध गरिराखेका छन् । २५ गतेपछि त झन् उक्त सङ्गठनले सहमतिका पक्षमा जनकपुरमा विजय जुलुसमा देखाएको ब्यानर र भाषणले नेपाल झनै तरङ्गित हुन पुगेको छ । ब्यानरमा ‘स्वतन्त्र मधेस जिन्दावाद !, अब कि बार, एक हि माँग जनमत सङ्ग्रहको एलान हो’ लेखिएको थियो । प्रदर्शनकारीहरूले लिएको ब्यानरमा बुद्ध, गान्धी, अम्बेडकरलगायत व्यक्तिको फोटो राखिएको थियो । उक्त सहमतिलाई भारतीय खुफिया एजेन्ट रअ का सल्लाहकार भनेर चिनिने र सिङ्गापुरमा बसी दक्षिणएसियामा भारतीय पकड कसरी बनाइराख्ने भनी खोलिएको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस चलाएका सुकदेव मुनीले समर्थन गरेका छन् ।

यी तथ्यहरूले सरकार र सीके राउतका बीचमा भएको भनिएको ११ बुँदे सहमति राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका पक्षमा नरहेको सजिलै अनुमान लगाउन सकिन्छ । एक त एकाएक सहमति हुन पुग्यो । यसअघि केपी ओली सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीले सार्वजनिक रूपमा नै सीके राउत विखण्डनकारी भएकाले ऊसँग वार्ता हुँदैन भन्दै आएको थियो । दोस्रो सीके राउत जेलबाट छुट्नेबित्तिक्कै, १२ घण्टा नपुग्दै वार्ता र सहमति पनि भयो । तेस्रो सहमतिको बुँदा २ लाई लिएर सीके राउतले जनमत सङ्ग्रह भने केपीले जनअभिमत भने । चौथो कुरा मधेसमा भएको सभा र जुलुसमा जनमत सङ्ग्रहका पक्षमा विजय जुलुस र सभा भए । यसले यो सहमतिप्रति प्रशस्त शङ्का गर्ने ठाउँ देखाएको छ । तर केपीले बोल्दा प्रचण्डलाई जसरी सीके राउतसँग दाँजे प्रचण्डको मानमर्दन त गरेकै छ साथै जनयुद्धप्रति पनि उनको खिसिट्युरी रहेको छ । त्यसैले केपी ओलीले गरेको सहमति र अभिव्यक्तिको चौतर्फी विरोध गर्नुपर्छ । सम्पादकीय

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :