अविरल वर्षाका कारण कतै पहिरो, कतै बस बगायो, पहिरोमा परि ४ को मृत्यु , एक बेपत्ता

काठमाडौँ : पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।


प्रहरीको अनुसार जिपकोे केहीवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन पाएनन् । यसैबीच, दाङमा बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गयो । र, बस ६ मिटर तलसम्म बगेको थियो । प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । अहिले घटनास्थलमा पुगेको प्रहरी टोलीले बसलाई नदीको किनारमा ल्याएको छ ।

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनको मृत्यु, कैलालीमा एकको मृत्यु

नजिकैको पर्खाल भत्किएर आएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका ५ सोइबाङमा ११ बजेतिर राजकुमार विकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी अविरल वर्षाका कारण कैलालीमा कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

बाँकेको बैजनाथमा नालामा डुबेर एकको मृत्यु, एक बेपत्ता

बाँकेको बैजनाथ गाउँपालिकामा नालामा डुबेर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
वैजनाथ ५ दलिपुर नालामा पौडी खेल्ने क्रममा डुबेर ३५ वर्षे लोकबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी टेकबहादुर तामाङले जानकारी दिए । यस्तै वैजनाथ गाउँपालिका ३ मा रहेको जेठीनाला तर्ने क्रममा बगेर सोही ठाउँका ६५ वर्षका तुलबहादुर बुढा बेपत्ता भएको एसपी तामाङले जानकारी दिए ।

२०७५ असार १८ गते सोमबार अपरान्ह ३ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :