सिंहदरबारभित्रै पत्रकारहरूको धर्ना र नाराबाजी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा वलीले सिंहदरबारबाट भारतीय प्रधानमन्त्रीसँग क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गरिरहँदा सिंहदरबारभित्रै केपी वली सरकारबाट पीडित पत्रकारले रेडियो नेपालमा कालो ब्यानर टाँसेका छ्न् । नेपाल पत्रकार महासङ्घले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरेका तीनजना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्रै रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको हो ।

महासङ्घका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरूले मङ्गलबार सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा एक घन्टा धर्ना दिएका हुन् । धर्नापछि रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरू टाँग्दै पत्रकारहरूले नाराबाजी गरेका थिए ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ सचिव दाहाल, महासङ्घका केन्द्रीय सदस्य तथा श्रमजीवी हित प्रवद्र्धन समितिका सहसंयोजक जन्मदेव जैसी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, बाबुराम भुसाल, पत्रकार महासङ्घ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासङ्घ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाललगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरे । उनीहरूले रेडियो नेपालले निष्कासन गरेका डोटीका तीनैजना पत्रकारको पुनर्बहाली गरेर श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयन नगरे सरकारविरुद्ध अझै आन्दोलन चर्काउने चेतावनी दिए ।

रेडियो नेपालले केही दिनअघि महासङ्घ डोटीकी उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए । महासङ्घले उनीहरूको सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासङ्घलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापनविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :