सरकारी दमनको प्रतिरोध गर्छौं : विषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी केन्द्रीय कमान्डस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त आधार भूत राजनीतिक तथा वैचारिक प्रशिक्षण शिविरको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज विषमले युवाहरूलाई माक्र्सवादका आधारभूत विषयको ज्ञानले समाज रूपान्तरणका लागि निकै योगदान पुयाउने भन्दै विचारधारात्मक काम निकै पछाडि परेको बेला यसप्रकारको स्कुलिङले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

नेता विषमले भने, ‘राज्य पूरै फासिवादी तरिकाले जनता र उसको प्रतिनिधिमाथि दमन गर्न उत्रिएको छ । हामी एकीकृत जनक्रान्तिको मौलिक तरिकाबाट त्यसको प्रतिरोध गर्दै जानेछौँ ।’

उक्त उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू सन्देश, निर्मल र देवनारायणले आधारभूत प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिएका थिए । त्यस अवसरमा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुव र सदस्य गतिले स्कुलिङको महत्वबारे प्रस्ट परेका थिए । जोखिमको अध्यक्षतामा सञ्चालित उक्त उद्घाटन कार्यक्रमको सञ्चालन राकेश र स्वागत दीपकले गरेका थिए ।

उक्त आधारभूत राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा राजनीतिक अर्थशास्त्रका बारेमा ध्रुव, वैज्ञानिक समाजवादका विषयमा गति, दर्शनशास्त्रका विषयमा विजेता र सैन्य विज्ञानका विषयमा सरलले प्रशिक्षण दिएका थिए भने सचिवालय सदस्य तथा उक्त कार्यक्रमका प्रमुख अतिथि विषमले एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा व्याख्या गरेका थिए ।

यस्तै विज्ञानप्रविधिका बारेमा केन्द्रीय सदस्य सन्देश पौडेलले प्रशिक्षण दिएका थिए । ६० जना युवाको सहभागिता रहेको उक्त ५ दिने राजनीतिक प्रशिक्षणमा स्थानीय जनसमुदायले महत्वपूर्ण सहयोग गरेका थिए । निकै उपलब्धिपूर्ण भएको उक्त स्कुलिङको समापनमा रेखा, सङ्ग्राम, उमेश र गोपालले स्कुलिङको अनुभूति मन्तव्य राखेका थिए भने विभागका प्रमुख ध्रुव र सदस्य विजेताले संश्लेषण मन्तव्य राखेका थिए । 

२०७६ भदौ २३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :