कैलाली र कञ्चनपुर जिल्लामा भीषण आँधीहुरी : एकको मृत्यु, ४५ बढी घाइते


धनगढी : सुदूरपश्चिम प्रदेशको दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार साँझ गरिव ८ बजे भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ भने ४५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र हावाहुरीले ठूलो नोक्सानी पुर्याएको छ । स्थानीयले हुरीसँगै असिनासमेत परेको बताएका छन् ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं पक्की तथा कच्ची घरका छानाहरु उडाएको छ । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको छ । हावाहरीका कारण घर टहराको छाना उडेको छ भने रुखहरु ढलेका कारण आवतजावतमा समस्या परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिएका छन् ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

२०७६ जेठ २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :