सरकारी नेकपाको सचिवालय बैठकमा भनाभन, वामदेवले भने– यो कार्यदल के हो ?

काठमाडौँ : सरकारी नेकपाको सोमबार बसेको सचिवालयको बैठकमा अनौठा दृश्यहरू देखिएको सार्वजनिक भएको छ । पार्टीविभाजन रोक्न र प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वलीमाथि दुवै पदबाट राजीनामा दिन परेको दबाब मत्थर गर्न गठित ६ सदस्यीय कार्यदलका बारेमा उपाध्यक्ष वामदेव गौतमले गम्भीर प्रश्न उठाएपछि केपी वली मौन बसेको स्रोतले जनाएको छ । सधैँ सहकर्मीहरूमाथि हाबी हुने वली मौन बस्नु, उनले द्वितीय अध्यक्ष पुष्पकमल दाहाललाई पूरै समय बैठक सञ्चालन गर्न दिनु र बैठकभरि दाहाल र गौतम हाबी हुनुलाई अर्थपूर्ण ढङ्गले हेरिएको स्रोत बताउँछ ।

सचिवालय बैठकमा उपाध्यक्ष गौतम दाहाल र वलीले शुक्रबार गठन गरेको ६ सदस्यीय कार्यदलको विरोध गर्दै ‘कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी समितिका सदस्यहरूको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ?’ भनी प्रश्नैप्रश्नको खात लगाएर जङ्गिएका थिए । गौतमले सचिवालय र स्थायी समितिभन्दा माथि हुने गरी कार्यदल गठन गर्न आवश्यक नै नभएको तर्क गरेको स्रोतले बताएको छ ।

उपाध्यक्षले नै कार्यदलको गठनप्रति गम्भीर प्रश्न उठाएपछि वली र दाहालबीचको सहमति पनि पानीको फोकाझैँ भएको बताइएको छ । बैठक सञ्चालन गरेका द्वितीय अध्यक्ष दाहालले भने कार्यदलको विरोध गर्दै आएका गौतम, माधव नेपाल, झलनाथ खनालतर्फ लक्षित गर्दै पार्टीमा देखिएको गम्भीर सङ्कट समाधानका लागि आफूहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

पार्टी विभाजनसम्मको अवस्थामा पुगेको विवाद साम्य पार्ने प्रयासस्वरूप कार्यदल गठन गरिएको भनिए पनि मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्रीहरूको हेरफेरमै चुरो कुरो अड्किएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :