अनेमसङ्घ (क्रान्तिकारी) ले मनायो श्रमिक महिला दिवस


बुटवल : ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) रूपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सङ्गम पुनले अहिले विश्वमै सबैभन्दा धेरै महिलाहरू हिंसामा परेको भन्दै नेपालमा पनि हिंसाको सीमा निकै बढेको बताए । कतिपय हिंसाहरूका घटना बाहिर नआए पनि खासमा महिलाहरू घरभित्रदेखि राज्य तहसम्म हिंसा हुने गरेको बताए । उनले माक्र्सकी श्रीमती जेनी माक्र्सदेखि माओकी श्रीमती च्याङ हुईसम्मले महिला आन्दोलनमा दिएको योगदानको चर्चा गर्दै महिला मुक्तिका लागि महिला पहिले एकजुट हुनुपर्ने बताए । पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा उदाएको कोरोना भाइरसविरुद्ध सचेत हुन आग्रह गर्दै उनले अमेरिकी एमसीसी परियोजना नेपालका महत्वपूर्ण सम्पत्ति कब्जा गर्ने र नेपाललाई उपनिवेश गराउने योजना रहेको समेत बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विजयले महिलाहरूले केही गर्न सक्दैनन्, केवल घरबारीमा सीमित रहन्छन् भन्ने मान्यतालाई जनयुद्धमा काँधमा बन्दुक भिरेर लडी नेतृत्वसम्म पुगेर उल्ट्याइदिएको बताए । उनले आज त्यसैको परिणाम प्रहरी र सेनामा समेत महिलाहरूको उल्लेख्य प्रतिनिधित्व भएको स्मरण गरे । उनले पुरुष सत्ता चल्ने समाजमा महिलाहरूको हैसियत खालि उपभोगको साधनमा मात्रै सीमित गर्न खोजेको भन्दै महिला उत्पीडिनविरुद्ध सबै एकजुट हुन आग्रह गरे । सत्ताधारी नेकपालाई नक्कली कम्युनिस्टको संज्ञा दिँदै उनले यो सत्ताले महिला अधिकारका नाममा झनै शोषण गरेको बताए । उनले महिलाको मुक्तिका लागि पहिले वर्गीय मुक्ति जरुरी रहेको र त्यसका लागि एकीकृत जनक्रान्तिमार्फत आन्दोलनमा जोडिनुपर्ने बताए ।

सहिद तथा बेपत्ता परिवार समाज लुम्बिनी ब्युरो संयोजक जया पौडेलले जनयुद्धमा महिलाले महान् भूमिका निर्वाह गरेको तर महिलाका अधिकार स्थापित गर्ने बेलामा धोका भएको बताउँदै अब नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको बाटोबाट महिला मुक्तिका लागि सबै लामबद्ध हुन अपिल गरिन् ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी पूर्वअध्यक्ष वर्षा रोका, अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष इन्दु ओलीलगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम उषा सुवेदीको सञ्चालनमा भएको थियो भने देवी भट्टराईले स्वागत गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता गरेकी जिल्ला अध्यक्ष रेखा भुसालले महिलाहरू सबैखाले अधिकारबाट वञ्चित रहेको भन्दै समान अधिकारका लागि लडाइँ जारी राख्नुपर्ने बताइन् । उनले महिला अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने भएकाले महिला मुक्तिसँगै समग्र वर्गीय मुक्तिका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुनसमेत आग्रह गरिन् ।

यस्तै यता नवलपरासी अनेमसङ्घले पनि मार्च ८ को कार्यक्रम गरेको छ । जिल्ला संयोजक हरिकला चौधरीले अध्यक्षता गरेको कार्यक्रममा उक्त पार्टी निकटका नेताहरू सहभागी थिए भने वक्ताहरूले महिला अधिकारका लागि थप सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :