वलीको ब्रुमेयर


२३ जुन १८६९ मा लन्डनमा बसेर कार्ल माक्र्सले एउटा किताब तयार पार्नुभयो– ‘लुई बोनापार्टको १८ औँ बु्रमेयर ।’ त्यो किताब वास्तवमा उहाँका मित्र जोसेफ वोइडमेयरद्वारा न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिकका लागि फ्रान्समा भएको घटनालाई लिएर नियमित लेख्नुभएको थियो । नेपोलियन बोनापार्टका भतिजा लुई बोनापार्ट जो फ्रान्सका राष्ट्रपति थिए, उनका समर्थकहरूले विधायकलाई खारेज गरेको एक वर्ष पुगेपछि सम्राट् घोषणा गरेका थिए । माक्र्सले उक्त किताबको सुरुमा नै हेगेलको भनाइ भन्दै भन्नुभएको छ– इतिहास दुईपटक दोहोरिन्छ तर हेगेलले एकपटक वियोगान्त भएर र अर्कोपटक मजाक भएर भन्ने कुरा थप्न बिर्सेका छन् । माक्र्सको यो किताब एङ्गेल्सको भनाइमा अति नै प्रवीण कामको परिणाम हो ।

यो पुस्तकमा १८४८ मा चुनावद्वारा राष्ट्रपतिमा चुनिएको भनिएको लुई बोनापार्टले आफँैलाई कसरी र किन सम्राट् घोषणा गर्न सक्यो र इतिहासलाई दोहो¥यायो भन्ने छ भने अर्को इतिहासलाई कसरी पुनरावृत्ति गर्न सकिन्छ र त्यो कस्तो राज्यप्रणालीमा हुने गरेको छ, त्यसबाट सच्चा सर्वहारा वर्गले के पाठ सिक्ने भन्ने कुरालाई उजागर गरिएको छ । त्यही किताबमा समावेश गरिएका तथ्यहरूको अध्ययन र मनन गरेर १८७१ मा पेरिसका कम्युनार्डहरूले वर्गसङ्घर्षको उद्घोष गरेर पहिलो सर्वहारावर्गीय सत्ता पेरिस कम्युनको स्थापना गरेका थिए । यसरी राष्ट्रपतिबाट सम्राट् बन्न पुगेको लुई बोनापार्टका पिँढीका विरुद्ध नै कम्युनार्डहरूको युद्ध भएको थियो । आजभन्दा १ सय ६८ वर्षअघि फ्रान्समा भएको घटनालाई यहाँ किन स्मरण गर्नुपर्ने भयो त ? के यो प्रसङ्ग अहिले उठाउन जरुरी छ ? यो प्रसङ्ग उठाउनुको तात्पर्य के हो भन्ने जिज्ञासा उठ्न सक्छ । यसका लागि धेरै दिमाग चलाउनु पर्दैन । दसबर्से महान् जनयुद्धको जगमा भएको १९ दिने आन्दोलनको बलमा भएको पहिलो संविधानसभा चुनावद्वारा निर्वाचित प्रतिनिधिहरूको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा गरिएको थियो । २०७० सालमा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाई दोस्रो संविधानसभाको चुनाव गरी जनताको व्यापक विरोध हुँदाहुँदै संविधान घोषणापछि भएको चुनावबाट केपी वलीको नेतृत्वमा दुई तिहाइको सरकार बन्यो । त्यसपछि नेपालमा मूल रूपमा जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरूलाई योजनाबद्ध रूपले गुमाइँदै लगिएको छ ।

केपी वलीले अहिले आफ्नो पार्टीभित्र एकलौटी पेलेको कुरा आइरहेको छ । सरकारमा पनि आफ्नै पाराले काम गरिराखेको भन्ने छ । संसद्मा सामान्य संसदीय पद्धति नअपनाएको भनी आलोचना भएको छ । जनतालाई उनले गरेका गलत र खराब कामका विरुद्ध बोल्न, लेख्न र विरोध गर्न प्रतिबन्धजस्तै लगाइरहेका छन् । उनका क्रियाकलापले देशमा हदैसम्मको अराजकता, राष्ट्रघात, भ्रष्टाचार बढेको छ । हत्या, हिंसा, बलात्कार, लुटपाट दिनदहाडै भइरहेका छन् । यस्तो अवस्थामा वलीले आफ्नो सरकारले राम्रो मात्र काम गरेको बखान गरिराखेका छन् र उनका आसेपासेहरू नाङ्गो बादशाहको कपडाको प्रशंसा गरिराखेका छन् । त्यसैमा वली जुँगामा ताउ लगाउँदै मुस्कुराइरहेका छन् ।

अब आयो ब्रुमेयरका कुरा । अहिले नेपालमा जुन व्यवस्थाको अभ्यास भइराखेको छ– दलाल संसदीय गणतन्त्र, यसको स्थापनाका लागि पनि हजारौँ नेपाली आमाका असल सन्तानहरूले रगत बगाएका छन् । त्यो रगत वलीहरूको नीति, योजना र कार्यक्रममा होइन । रगत बग्दै गर्दा वलीहरू त नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर वासिङ्टनको यात्रा गर्नुसरह रहेको उखान फलाक्दै थिए । यसरी हेर्दा

गणतन्त्रको कट्टर विरोधीहरू अहिलेको गणतन्त्रको तर मारिराखेका छन् । उनीहरूको हातमा अहिले राज्यको डाडुपन्यु रहेको छ ।
गणतन्त्र स्थापनासँगैको संविधानसभाको चुनावमा नराम्रोसँग आफ्नो गृहक्षेत्र र राजनीतिक कर्मभूमिबाट हारेका वली अहिले नेपालमा दोस्रोपटक प्रधानमन्त्री बन्न पुगेका छन् । पहिलोपटकको उनको प्रधानमन्त्रीको कार्यकालमा सामान्य स्वाद चाख्न पाएका वलीले यसपालिको कार्यकालमा आफ्नो पदको दुरुपयोग गरिराखेका छन् । उनीहरूले बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरूलाई समेत कुल्चिएर कम्युनिस्टका नाममा सच्चा कम्युनिस्टमाथि दमन थोपरिराखेका छन् । यसरी दमन गर्न अहिले रहेका विधान, कानुन, नियम र ऐनहरूबाट नपुगेर वा अवरोध खडा गरिराखेका प्रावधानहरूलाई संसदीय दुई तिहाइको ध्वाँसमा खारेज गरिराखेका छन् । सामान्य संसदीय दायराभित्रको प्रधानमन्त्री अधिकारभन्दा बढी अधिकार उनी आफूमा निहित गरिराखेका छन् । विप्लवले नेतृत्व गरेको नेकपामाथिको प्रतिबन्ध त्यसैको परिणति हो । सेना परिचालन गर्नसक्ने गरी विधेयक संसद्मा लैजानुले उनी आफू उन्नाईसौँ शताब्दीको लुई बोनापार्टको नेपाली संस्करणमा देखिने इच्छा व्यक्त गरेका छन् । सम्पादकीय

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :