राष्ट्रियता बचाउन सडकमा निस्किएका स्रष्टाहरूमाथि प्रहरी दमन प्रहरी प्रतिरोध चिर्दै कवितावाचन

राष्ट्रियता रक्षाको माग गर्दै सडकमा निस्किएका स्रष्टामाथि प्रहरी दमन दमन चिर्दै सडकमै कविता वाचन


काठमाडाैँ : भारतीय साम्राज्यवादले कालापनी, लिपुलेक, लिम्पियाधुरालगायत ७१ स्थानमा गेको हस्तक्षेपविरुद्ध सडकमा कविता लिएर निस्किएका स्रष्टाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ । माक्र्सवादी स्रष्टाहरू बिहीबार संवाद डबलीमा कविता लिएर राष्ट्रियता रक्षाको माग गरिरहेका थिए तर प्रहरीले विप्लव नेकपाको कार्यक्रम भन्दै हस्तक्षेप गरेको थियो । हस्तक्षेप चिर्दै ओमप्रकाश कोइराला, नन्दु उप्रेती, चेतनाथ धमला, छायादत्त न्यौपाने बगर, रामबहादुर पहाडी, बाबुरा श्रेष्ठ, बैरागी जेठालगायत १८ स्रष्टाले देशभक्तिले ओतप्रोत सिर्जना वाचन गरेका थिए । कार्यक्रमको संयोजन संवाद डबलीले गरेको थियो ।

कार्यक्रममा सांस्कृतिक आन्दोलनका अगुवा नरेन्द्रजंग पिटरले राष्ट्रियता संकटमा परेको र सरकार साम्राज्यवादको पिछलग्गु बनिरहेको समयमा माक्र्सवादी स्रष्टाहरूले देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका थिए ।

उता नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र त्यसको आंगिक संगठन अखिल नेपाल लेखक सङ्घको आयोजनामा नेकपाको केन्द्रीय कार्यक्रमअनुसार प्रहरी दमन छल्दै डिल्लीबजारस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर प्राङ्गणमा कविगोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता तथा सञ्चालन महासङ्घका केन्द्रीय सचिव तथा लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष अशोक सुवेदीले गरेका थिए । सचिव सुवेदीले राष्ट्रियता संकटमा परेकाले यसको रक्षा नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्नसक्ने बताए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि एकीकृत जनक्रान्ति सफल पारेर वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने धारणा राख्दै उनले यसैका लागि महासङ्घ र लेखक सङ्घ सडकमा निस्किएको बताए ।

उनले संवाद डबलीमा आयोजित सिर्जनावाचन कार्यक्रममा भएको प्रहरी दमनको घोर निन्दा एवम् भत्र्सना पनि गरे । उनले चिनियाँ महान् सांस्कृतिक सर्वहारा सांस्कृतिक क्रान्ति एउटा कलेजको भित्तामा पोस्टर टाँसेर सुरु भएको स्मरण गराउँदै स्रष्टाहरूले आरम्भ गरेको आन्दोलनले देश र श्रमिक वर्गलाई मुक्त पारेरै छोड्ने दाबी गरेका थिए ।

कार्यक्रममा विद्रोही युवा कवि रसुवाली कवि, अर्का विद्रोही कवि एवम् अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य बीपी विद्रोही, प्रगतिशील स्रष्टा एवम् अभिनेता इन्द्रजित शर्मा चौलागाईं, विजय अधिकारी, ईश्वर लामिछाने (अभियान) लगायत एघारजना स्रष्टाले कविता वाचन गरेका थिए ।

कार्यक्रममा देवकोटाकी कान्छी छोरी मुना घिमिरे, कान्छा छोरा–बुहारी, स्थानीय बासिन्दालगायतको सहभागिता थियो । कार्यक्रममा सहिद इच्छुक, नेकपाका नेता एवम् स्रष्टा सुदर्शन, महासङ्घका अध्यक्ष माइला लामा, दिल साहनी, केवलपुरे किसान, कल्पना पौडेल जिज्ञासु, ऋषि लामिछाने, अराप, मेदिनीनाथ सुवेदी, द्रोणाचार्य क्षत्रीलगायत २० जना स्रष्टाका राष्ट्रियतासम्बन्धी कविता वाचन गरिएको थियो ।

भित्ताहरूमा कविता पोस्टरिङ

यसैबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत देशका भूभागाहरूमा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध क्रान्तिकारी माक्र्सवादी तथा देशभक्त युवाहरूको सडक कविता आन्दोलनको दोस्रो कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको विभिन्न चोकका भित्ताहरूमा माक्र्सवादी र प्रगतिशील स्रष्टाहरूका कविता पोस्टरिङ गर्दै निधारमा कालोपट्टी बाँधेर कविता वाचन गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसी, सडक कविता आन्दोलनका संयोजक रसुवाली कवि, कवि बीपी बिद्रोही, दिपेन सिम्खडा, दामोदर ढकाल, साहित्यकार रत्नप्रसाद अनामणि, नवराज बिस्ट, रणबहादुर रानालगायत स्रष्टाले आआफ्ना रचना वाचन गरे ।

कार्यक्रममा रसुवाली कविले मौसमी राष्ट्रवादले आक्रान्त पारिरहेको परिवेशमा स्रष्टाहरूले कवितामार्फत विद्रोह गर्नुको राष्ट्रिय अर्थ रहेको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जैसीले राष्ट्रियताको आन्दोलनमा सधैँ साथ रहने बताए । सडक कविता आन्दोलनमा सर्वसाधारणको राम्रो समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :