मलाई झूट्टा मुद्दा लगाएर फसाउन खोजियो : सूर्य भुजेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेलले आफूलाई सरकारले झूट्टा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । एनसेलमा घटना भएको बेला आफू बनेपामा आफन्तको घरमा बसिरहेको बताएको र प्रहरी आफैँले बुझ्दा बनेपामा भएको पुष्टि भए पनि जबर्जस्ती झूट्टा आरोप लगाएको उनले बताए ।

ललितपुरस्थित जिल्ला अदालत प्राङ्गणमा आफन्त र पत्रकारसँग कुरा गर्दै उनले प्रश्न गरे, ‘बिनाप्रमाण जबर्जस्ती मुद्दा लगाउने काम भइरहेको छ । घटना भएको बेला म बनेपामा भएको प्रहरीले आन्तरिक रूपमा बुझ्दा पनि पुष्टि भएको छ । फेरि मलाई किन कर्तव्य ज्यान र बम बिस्फोट मुद्दा लगाएको ?’

पक्राउ परेकै दिन आफूलाई चरम यातना दिएर जबर्जस्ती स्वीकार गर्न लगाउने षड्यन्त्र गरे पनि आफू घटनामा संलग्न नभएकाले कुनै हालतमा स्वीकार नगरेको उनले बताए । आफन्तको बिहेमा सहभागी भइरहेका बेला भुजेललाई फागुन १४ गते एसपीको नेतृत्वमा करिब चार दर्जन सादा पोसाकका प्रहरीले घेरा हाली अपहरणशैलीमा पक्रेको थियो ।

‘पेस्तोल देखाएर करिब चार दर्जन प्रहरीले बिहेमा आएका सर्वसाधारणलाई समेत आतङ्कित पार्दै मलाई पक्राउ गरे’, उनले भने, ‘त्यसपछि सिंहदरबार प्रहरी कार्यालयमा ममाथि कुटपिट भयो । मैले म निर्दाेष सामान्य कार्यकर्ता हुँ भन्दाभन्दै पनि कुटियो ।’ भुजेललाई मङ्गलबार जिल्ला अदालत ललितपुरले ८ दिन म्याद थपेको छ ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :