नेकपा पुनर्गठनका ६ वर्ष

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको ६ वर्ष भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको गौरवशाली इतिहास र विरासत बोकेको नेकपाले देशभर प्रचारप्रसार, सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट, बन्दीहरूसँगको भेटघाट, जनतासँग अन्तरक्रिया, खेलकुद र खुसीयाली साटासाट गर्दै भव्य रूपमा जनताका बीचमा पार्टी पुनर्गठन दिवस मनाइएको छ । छैटौँ पार्टी पुनर्गठन दिवसको यो खुसीयालीमा सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्तिका लागि अर्थात् वैज्ञानिक समाजवाद– साम्यवादको स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा निरन्तर र अटल विश्वास बोकेर क्रान्तिमार्गमा हिँडिरहेका सम्पूर्ण क्रान्तिकारीहरूमा हार्दिक शुभकामना तथा शुभेच्छा व्यक्त गर्दछौँ । हाम्रो यो खुसीयाली एकीकृत जनक्रान्ति सफल भएपछि पूर्ण रूपमा सार्थक हुनेछ । यसका लागि सबैले आआफ्नो मोर्चाबाट निरन्तर, नजित्दासम्म लडिराख्नु आवश्यक छ । पार्टी पुनर्गठन दिवसका अवसरमा उत्पीडित–श्रमिक वर्गले गर्नुपर्ने प्रतिबद्धता हो यो । महान् जनयुद्ध, जनआन्दोलन र विद्रोहहरूमा बलिदान गर्ने हजाराँै सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्ग योद्धाहरू र उत्पीडित जनताका सपना साकार पार्न यस किसिमको प्रतिबद्धता, दृढता आवश्यक छ र त्यसलाई दृढताका साथ कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।

नेपाल कम्युनिस्ट पार्टी विश्व कम्युनिस्ट आन्दोलनको एक एकाइ र नेपाली श्रमिक– उत्पीडित–सर्वहारा वर्गको अग्रदस्ता हो । यो पार्टीको पुनर्गठन कम्युनिस्ट आन्दोलनकै बीचमा आन्दोलनका पत्रुहरूका रूपमा जन्मिएका आत्मसमर्पणवादी, विसर्जनवादी, दलाल, गद्दारहरूको चिहानमाथि भएको हो । महासचिव कमरेड विप्लवले भन्नुभएको छ, ‘पँुजीवादी, दलाल पुँजीवादी, विसर्जनवादी, आत्मसमर्पणवादीहरूले क्रान्तिको घाँटी निमोठेको, क्रान्तिकारी कम्युनिस्ट पार्टी समाप्त पारेको, नेपाललाई दलाल पुँजीवादभित्र थुन्न सफल भएको कल्पना गरेका थिए तर हामीले त्यो परिकल्पनालाई कल्पनामै समाप्त पारिदियौँ ।’ हो, यही दृढता, गम्भीरता, जिम्मेवारीबोध र तत्परताका बीचबाट ६ वर्षअघि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भएको थियो । यो पुष्पलालले २००६ सालमा स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीको असल उत्तराधिकारी हो । यो नेपालमा भएका सबै असफल विद्रोह, आन्दोलन र युद्धहरूलाई सफल र सार्थक बनाउने प्रतिबद्धताका साथ निर्माण भएको मालेमावादी क्रान्तिकारी विचार, आस्था, निष्ठा, क्रान्तिकारी आशावाद र क्रान्तिकारी योजना–कार्यक्रमसहित पुनर्गठित दस्तो हो । यो नेपाली जनताको मात्र नभएर विश्वकै क्रान्तिकारीहरूको आशा र भरोसाको केन्द्र हो । त्यसैले नेपालमा विद्यमान दलाल पुँजीवादी सत्ता ढाल्न, त्यसको चिहानमा वैज्ञानिक समाजवादी– साम्यवादी सत्ता स्थापना गर्न र संसारकै क्रान्तिकारीहरूलाई क्रान्तिका माध्यमबाट दलाल सत्ताहरूलाई खरानी बनाएर साम्यवाद स्थापना गर्न क्रान्तिको मार्गनिर्देशन गरिरहेको, सुकेको खररूपी दलाल पुँजीवादी सत्ता डढाउन तत्पर एउटा जाज्वल्यमान आगोको झिल्को हो । त्यसैले नेपाली दुष्ट शासकहरू मात्र होइन, विश्वसाम्राज्यवादका नाइकेहरू पनि यो भर्भराउँदो आगोको झिल्कोविरुद्ध एकगठ छन् । यसको ज्वाला निभ्न नदिन र दलाल सत्तारूपी सुकेको खरको जङ्गल डढाएर सुन्दर पालुवाले हराभरा उद्यान निर्माण गर्न सबै क्रान्तिकारीहरू, देशभक्तहरू, श्रमिक जनताका पक्षधरहरू यसमा गोलबद्ध र लामबद्ध हुन आवश्यक छ ।

फासिवादी दलाल पुँजीवादी सत्ताले यतिबेला क्रान्तिको यो दियो र फिलिङ्गो निभाउन झन्डै एक वर्षदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध मात्र लगाएको छैन, दसभन्दा बढी होनहार योद्धाहरूलाई लुकेर, छलेर, षड्यन्त्रपूर्वक हत्या गरेको छ, बलिदान गर्न बाध्य बनाएको छ । यतिबेला सुन्दर नेपाल निर्माण गर्न र नेपाली मुहार हँसमुख बनाउने यात्रामा हिँडिरहेका हजारौँ सन्ततिलाई केपी वली नेतृत्वको दलाल सत्ताले जेल र हिरासतका चिसा छिँडीहरूमा बन्दी बनाइराखेको छ । मूर्ख शासकहरू सुकेको खर वा भुसले छोपेर आगोको फिलिङ्गो निभ्दैन, उल्टै दावानल बनेर सल्किन्छ र सिङ्गो जङ्गललाई नै भष्मखरानी पारिदिन्छ भन्ने बुझ्दैनन् वा बुझपचाइरहेका छन् । त्यसैले उनीहरू फेरि पनि सहिदको खेती गरिरहेका छन्, हत्या–हिंसाको अपसंस्कृतिलाई राज्यको नीति बनाइरहेका छन् । महासचिव विप्लवले पार्टी पुनर्गठन दिवसको स्मरण गर्दै भन्नुभएको छ, ‘हामीले माओवादीको खरानीबाट ६ वर्षअगाडि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गर्यौँ । जनताले आफ्नो मुक्ति, देशको स्वाधीनता र वैज्ञानिक समाजवादी सभ्यताको नेतृत्व गर्ने नेतृत्व, साधन र दस्ता प्राप्त गरे । संयोगले हामीले यसको नेतृत्व गर्ने अवसर प्राप्त गर्यौँ । अहिले यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको छ । वैज्ञानिक समाजवादी व्यवस्थालाई कसैले पनि रोक्न सक्ने छैनन् । यो वास्तवमै ऐतिहासिक महत्वको क्षण हो ।’

हो, यतिबेला फेरि नेपाली जनताले आफ्नो काखमा, आफ्नो मनमा क्रान्ति र मुक्तिअभियानको नेतृत्व गर्ने पार्टी पाएका छन् र यो पार्टी हिजो क्रान्तिको नेतृत्व गरेका तर क्रान्तिको झन्डालाई हिलोधुलोमा फ्यालेर दुस्मन क्याम्पमा घुस्रिन पुगेका दलाल र गद्दारहरूलाई नाङ्गेझार र भन्डाफोर गरेर हिलोभित्रैबाट अङ्कुराएको क्रान्तिको फूल हो । संसारभरका जनताका दुस्मनहरूले क्रान्तिको घाँटी निमोठेर समाप्त पार्ने योजनाबद्ध षड्यन्त्र गरेर केही थान पुष्पकमल, बाबुराम र रामबहादुरहरूलाई आफ्नो चरणको दास बनाइसकेपछि त्यहीँबाट विस्फोट भएर निर्माण भएको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी । देश र जनताको आशाको केन्द्र यही पार्टीको छैटौँ पुनर्गठन दिवस यो वर्ष वली सरकारको प्रतिबन्धको प्रतिरोध गर्दै क्रान्तिको मोर्चाभित्र, दमन र विद्रोह, प्रतिबन्ध र प्रतिरोध, प्रतिरोध र बलिदान, क्षति र उपलब्धिहरूबीच मनाइएको छ । यो दिवसले नेपाली भूमिबाटै मालेमाको नयाँ प्रयोगका रूपमा एकीकृत जनक्रान्ति सफल हुँदैछ र वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना हुँदैछ, भएरै छाड्नेछ भन्ने सन्देश प्रवाह गरेको छ । सम्पादकीय

२०७६ मंसिर ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :