नेकपाका नेता–कार्यकर्तामाथि प्रहरीद्वारा हिरासतभित्रै कुटपिट


अछाम : बाजुरा प्रहरीको हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले कुटपिट गरेको बताएका छन् । गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका ३ बाट गिरफ्तार गरिएका १६ जना कार्यकर्ताले बाजुरा प्रहरीले कुटपिट गरेको बताएका हुन् । ‘प्रहरीले हामीमाथि दुव्र्यवहार गरेको छ । हामीलाई गिरफ्तार गरेर ल्याएको अर्को दिनसम्म कुटपिट गरेको थियो’, हिरासतमा रहेका उक्त पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ ले भने, ‘प्रहरीले कानुनी परामर्शका लागि वकिल र घरपरिवारलाई फोनसम्म गर्न दिएको छैन ।’

हिरासतमा पुगेको मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसमक्ष नेकपा नेता–कार्यकर्ताहरूले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको बताएका हुन् । उनीहरूका अनुसार प्रहरीले आफन्त भेट्न, आफन्तलाई फोन गर्न र वकिललाई सम्पर्क गर्नसमेत दिएको छैन । यस विषयमा बुझ्दा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले भने नेकपाका नेताहरूमाथि त्यस्तो अभद्र व्यवहार नगरिएको दाबी गरे ।

प्रहरीले हतियार बरामद भएको नक्कली बहाना बनाएको नेकपाका कार्यकर्ताहरूले बताएका छन् । गिरफ्तार भएकाहरुमा ११ जना पुरुष र ५ जना महिला छन् । महिलाहरूले प्रहरीले गिरफ्तार गर्दा कुटपिट गरेको बताएका छन् । गिरफ्तार भएकाहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका ३ जिनाबाङका नेकपाका केन्द्रीय सदस्य ओली, बाजुराको त्रिवेणी नगरपालिका २ छताराका डम्मर सुनार, अछामको ढकारी गाउँपालिका २ का नरेश शाही, कैलालीको घोडाघोडी नगरपालिका १ का दीपक प्रकाश सुनार, बाजुराको हिमाली गाउँपालिका १ का अमलाल थापा, त्यही ठाउँका धर्मबहादुर थापा, अछामको पञ्चदेवल विनायक नगरपालिका ८ का उदय कसेरा, अछामको ढकारी गाउँपालिका २ का राजेशकुमार शाही, सोही गाउँपालिका ७ का डबलबहादुर नेपाली, तुर्माखाद गाउँपालिका ८ का कृष्ण विक छन् । त्यसैगरी बाजुराको हिमाली गाउँपालिका १ का धर्मसिंह बोहरा, स्वामीकार्तिक गाउँपालिका १ बस्ने कुस्मा विक, सोही गाउँपालिका १ बस्ने अस्मिता विक, सुस्मिता विक, अछामको ढकारी गाउँपालिका २ बस्ने कमला विक र बझाङको मष्टा गाउँपालिका १ बस्ने सृष्टि सिंहलाई गिरफ्तार गरी प्रहरीले हातहतियार तथा राज्यद्रोहको मुद्दा चलाएको छ ।

२०७६ मंसिर १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :