निर्मला पन्तका हत्यारालाई सरकारी संरक्षण : सीपी गजुरेल

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरूकै संरक्षण गरेको बताएका छन् । सरकारले नै अपराधीहरू बचाइरहेको आरोप लगाउँदै गजुरेलले भने, “सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न ?”

संवाद डबलीमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले शनिबार आयोजना गरेको ‘बढ्दो महिला हिंसा र यसको निकास’ विषयक अन्तरक्रियामा गजुरेलले देशको आमूल परिवर्तनका खातिर लडेको तत्कालीन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्दारीको परिणाम आज महिला हिंसा बढिरहेको बताए ।

गजुरेलले भने, “प्रचण्डले जहाँ पनि आत्मसमर्पणको संस्कार बसाए । क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक केपी वलीसँग आत्मसमर्पण, अहिले अमेरिकासँग आत्मसमर्पण, प्रचण्डको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ । यसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरूलाई फेरि चुलो–चौको र महलभित्रै कैद हुने अवस्था आएको छ ।”

नेता गजुरेलले देशमा क्रान्तिकारी झन्डा पुनः एकपटक जोडदारसँग उठ्ने, त्यसको नेतृत्व होचा निमुुखा, उत्पीडित महिलाहरूले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे ।

आयोजक अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरीले कार्यक्रममा पेस गरेको कार्यपत्रमाथि बहस भएको थियो । मुडभरीले नयाँ कानुनले विगतमा जस्तै महिलालाई प्रशस्त अधिकार दिएको भए पनि त्यो कार्यान्वयनको कमीको कारण महिला हिंसा वा समस्या घट्नुको साटो बढेको बताइन् । राज्यका अङ्गहरूमा महिला सहभागिताका लागि आरक्षित कोटाको विषय उठ्ने हुनाले महिलाको क्षमतामै प्रश्न उठ्नु गलत भएको उनको भनाइ थियो । मुडभरीले महिलाले जनयुद्धमा पनि प्रमाणित गरिसकेको र अब पनि आफूलाई प्रतिस्पर्धी बनाउन ध्यान दिनुपर्ने बताइन् ।

जनयुद्धकालमा जाँडरक्सी, जुवा, तासजस्ता विकृतिविरुद्ध सशक्त अभियान सञ्चालन गरेकाले आममहिलाले मुक्ति र सुधारको सास फेरेर माओवादीलाई ‘भगवान्’ को संज्ञा दिने गरेको अनुभव सुनउँदै मुडभरीले भनिन्, “हाम्रा क्रान्तिनायकहरूले तिनै जाँडरक्सीका घैँटा र जुवातासका खालमा पसेर महिला हिंसा गर्ने अपराधीको संरक्षण गरेको देख्दा काहाली लाग्छ ।”

क्रान्तिकारी माओवादीका नेतासमेत रहेका प्रा.डा.जगदीशचन्द्र भण्डारीले सामाजिक, धार्मिक, आर्थिक क्षेत्रमा अत्यधिक पीडित भएकाले क्रान्तिकारी अन्दोलनमार्फत सगोलमा महिला मुक्तिको उपाय खोज्नुपर्ने धारणा राखे । उनले मिहिला हिंसा निकै खतरनाक विषय भएको धारणा राख्दै महिलालाई भोग गर्ने साधन र उपयोगिताको वस्तुका रूपमा पुँजीवादी व्यवस्थाले झन् विकराल समस्या थपेको बताए ।

कार्यक्रममा नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसियसनका कार्यबाहक अध्यक्ष अधिवक्ता देवकुमार मोक्तान, नेकपा (माओवादी केन्द्र) निकट महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष धनकुमारी मगर, आयोजक सङ्गठनकी पूर्वअध्यक्ष लक्ष्मी मुडभरीलगायतले नेपाली महिलाहरूले मुक्ति र स्वतन्त्रताका लागि निरन्तर क्रान्तिमा सहभागी हुनुपर्ने धारणा राखे ।

२०७६ जेठ २६ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :