दाङ : खोलामा डुबेर दाङमा तीन जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा तुलसीपुरको खोलामा दुई र घोराहीको कुलोमा एक शिशुको खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान साढे दश बजेतिर घोराही उप–महानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो । एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै तुलसीपुर उप–महानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुर पालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका प्रहरीले जनाएको छ ।
२०७६ भदौ २१ गते शनिबार प्रकाशित