एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा


काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सरकारले एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको निर्णय भन्दै एमबीबीएस र बीडीएसमा शिक्षण शुल्क बढाइएकोप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । चिकित्सा शिक्षा आयोगका भ्रष्ट कर्मचारी, त्रिवि प्रशासन, भ्रष्ट शिक्षामन्त्री र उसका कर्मचारी, मेडिकल शिक्षाका माफियाहरुसमेतको मिलोमतोमा एमबीबीएसमा झन्डै २ लाख र बीडीएसमा झन्डै १ लाख शुल्क बढाइएको छ । मेडिकल शिक्षाका माफियाहरुलाई पोस्ने र त्यसबाट आफूलाई मनग्गे कमिसन प्राप्त हुने योजनाका साथ बढाइएको शुल्कले कम्युनिस्टको बर्को ओढेर शिक्षा, स्वास्थ्यजस्तो गम्भीर विषयमा माफियाहरुको पुच्छर बनेको वर्तमान दलाल केपी वली सरकारको शिक्षा र स्वास्थ्यप्रतिको नीति र व्यवहार फेरि एकपटक उदाङ्गिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कथित संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा लेखेर पनि त्यसको कार्यान्वयनमा न्यूनतम् पनि नैतिकता प्रदर्शन नगर्नु वली सरकारको दलाल, नोकरशाही र सामन्ती चरित्रलाई प्रस्ट पारेको छ । मेडिकल माफियाहरुले मनोमानी ढङ्गले शुल्क आसुलिरहेको तथ्य थाहा पाउँदापाउँदै कारबाही गर्नुको सट्टा उल्टो अभिभावक विद्यार्थीहरुलाई लुटेर तिनै माफिया पोस्ने निर्णय अत्यन्तै दर्दनाक, दुःखद् र घृणायोग्य छ । यी दलालहरु आफैँले ल्याप्चे लगाएको संविधान र चिकित्सा शिक्षा ऐनविपरीत बढाइएको शुल्क तत्काल खारेज गर्न हामी यो प्रक्रियामा संलग्न भ्रष्टहरुलाई चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपालमा करिब ९५ प्रतिशत विद्यार्थी आर्थिक अवस्थाकै कारणले चिकित्सा शिक्षाबाट सुरुमै प्रवेश पाउँदैनन्, के यो कुरा दलाल सरकारलाई थाहा छैन ? चिकित्सा शिक्षामा बढाइएको शुल्कको विरोधमा उत्रँदै शिक्षाविद् तथा बुद्धिजीवीहरुले आफ्नो बुद्धि, बहादुरी देखाउँदै शिक्षाविद्को पगरीको जगेर्ना गर्न सविनय अनुरोध छ । नेपालका लाखौँलाख विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै बढाइएको शुल्क तत्काल फिर्ता गर्नका लागि एकताबद्ध भई आन्दोलनमा उत्रनका लागि सम्पूर्ण विद्यार्थी सङ्गठन, अभिभावक, शिक्षक, विद्यार्थी सबैमा हाम्रो सङ्गठन अपिल गर्दछ । साथै उक्त निर्णयको सशक्त प्रतिवाद गर्न हाम्रो सङ्गठनका सम्पूर्ण कमरेडहरुमा विशेष अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ कार्तिक ४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :