सिन्धुपाल्चोकको भीमटार नजिक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६० घाइते


काठमाडौं : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका अन्तर्गतको भीमटार नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेतिर हेलम्बु यातायातको बस भीमटार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तिमा ७ जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले जानकारी दिएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको उनले जानकारी दिए ।

उद्धारकालागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् । दशैं मनाएर काठमाडौं फर्कदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

२०७६ असोज २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :