राजबन्दी जीवनसखालाई खुला जेलबाट चिठी


प्रिय जीवनसखा
न्यानो अभिवादन !

पिँजडाको बास तिम्रो अनि झेली–जालीहरूको थप प्रपञ्चमय सन्त्रास । घृणित र चुनौतीमय परिवेशलाई चिर्नसक्ने आँटी मेरी सखा ! तिम्रो त्यो दर्बिलो छातीभित्र चमचमाउने आशावाद र अनौठो सहजताको प्रदर्शन । महान् विचारको आलोकमा धैर्यशाली ओज । सगरको ज्योति चुम्ने सुन्दर सपना । तरोताजा जीवनको उत्कृष्ट नमुना । किञ्चित चिन्ता नगर्नू प्रिय, म पनि सन्चै छु र हाम्राले पनि गौरवको छाती चौडा पारिरहेकै छन् जुन हामीले बेलैमा सिकाएका थियौँ । उनीहरू कर्तव्यपरायणताले लछप्पै छन् ।

अँ, विगतको सम्झना आयो प्रिया । आज ठ्याक्कै एक वर्ष भएछ । काठमाडौँबाट एकाबिहानै मैले सुदूरपूर्वको यात्रा गर्नैपथ्र्यो । तिमीले भने सुदूरपश्चिमको । सौभाग्यशाली हामी सपनाका यात्री । एकातिर पारिवारिक र अर्कोतिर महान् जिम्मेवारीप्रतिको दोहोरो कर्तव्यबोधले लछप्प हाम्रो जिन्दगानी । सँगसँगै इमानदार र कर्तव्यनिष्ट कम्युनिस्टमा आइलाग्ने अभावको दबाब । जीवनसखालाई मेरातर्फवाट दायित्वबोधको पुल । तिम्रातर्फबाट यात्रा सफलताको कामनासहितको प्यारजडित उपहार । हाम्रा जूनजस्ता प्रिय सन्तान ! आफ्नो नैसर्गिक अधिकारको भरपूर प्रयोगमा तल्लीन भौतिक परिवेशमा टाढा रहे पनि उनीहरू पारिवारिक न्यानो स्नेह र गौरवमय उन्मुक्ति प्राप्तिको विरेचित भावले मिर्गको बच्चाझैँ बुर्कुसी मारिरहेझैँ प्रतीत हुने त्यो घडी । घरतिर मान्यजन र प्रियजनहरू आआफ्नो पौरखको कमाइमा जीवनको मूल्यबोध गरिरहेकै खबरले मनमा सन्तोष । हाम्रो यात्रारत गाडीले भने सुदूरपूर्व र पश्चिम सकुशल पुर्याउन सफल भएकै हो है प्रिया ! हामीबीच गौरवमय अनुभूतिको भाव आदानप्रदान । अनवरत जनक्रान्तिका लालजोडीकाई आह्लादित तुल्याएको त्यो क्षणले अनुभूतिको तरेलीमा आफ्नो ‘पैर’ जमाएकै रहेछ । ब्युँझियो स्वअवस्थाको वर्षगाँठमा । वैज्ञानिक समाजवाद प्राप्तिको बिन्दास यायावरलाई झकझक्यायो प्रिया । आखिर बिन्दास नाम त तिमीले नै राखिदिएकी हौ क्यारे । हो, मैले त्यो प्यारजडित उपनाम मन पराएकै छु ।

मलाई थाहा छ प्रिया, तिमीले मलाई जीवनसाथी, एउटा अभिभावक र सहयोद्धाको सम्बोधित आचार, कर्तव्य र अपेक्षाको कोटीमा राख्छ्यौ । म जीवनमा कुनै कुराले चित्तप्रसन्न छु भने त्यो हो तिम्रो मातृवात्सल्ययुक्त स्नेह अनि दर्बिलो साथ र वैचारिक आलोक । इमानदार एउटा किसानको लाडे सन्तान हुनुको प्राप्ति भनेकै तिमीजस्तो विशाल हृदय भएको जीवनसाथी । मैले तिमीलाई दिएको त्यो वचनबद्धता ! जीवनमा बुहार्तन खेप्नुपर्नेछैन । म बुहार्तनका विरुद्ध सङ्घर्षरत हुनेछु । तीजमा मेरो खुट्टा पखालेको पानी पिउनलाई स्वास्नीका नाममा दासी भित्र्याउने मेरो वर्गीय धरातल होइन र त्यस्तो चाहना पनि छैन ।

हो मैले भनेको थिएँ– तिम्रा आमा–बाबासँग हात थाप्दा । म सोझो किसानको सन्तान हुँ । मसँग सम्पत्ति छैन । किनभने मेरो परिवार दीनदुःखीको घडीले थिचेको परिवार हो । मेरी अति सरल, इमानदार आमालाई तिमीले देख्नै पाइनौ । उहाँको सद्गुण मात्र मलाई थाहा छ र छरछिमेकलाई पनि । ‘ आमा भैदिएको भए स्नेहपूर्ण हातले गाँस दिनुहुन्थ्यो होला हगि !’ तिमी र म घर पुगेको समयमा भन्थ्यौँ प्रिया जनयुद्धताका । मलाई राम्ररी सम्झ्ना छ किनभने तिमी त एउटा असल, सभ्य परिवारमा हुर्केकी, लाडप्यारले लछप्पै भएकी स्नेहकी खानी हौ । असल आमाबाबाकी आदर्शवान् र बेदाग छोरी । आज एउटी असल आमा, कुशल र सचेत महिलानेत्री । हामी औधी खुसी छौँ । हाम्रा आफन्तहरू पनि गौरव गर्दछन् । त्यति मात्र होइन, गाउँघर, जिल्लाबासी र राष्ट्रकै प्रियजनहरू पनि । हाम्रा बाबालाई हामी दुवै जान्दछौँ । कति सोझो हगि ! हामीलाई कस्तो प्यार ! मलाई बाल्यकालमै सिकाउनुभएको थियो बाबाले– चोरीचकारी नगर्नू, सबथोक खानु, हरेस नखानू । बाबाले मलाई एउटा उखानमा दिएको अर्ती अझै सम्झना छ– धीर रहनू, बिपत्ति सहनू जस्तै परे तापनि ।

अनपढ बाबाले मलाई एउटा अर्को ताजुबैको अर्ती दिने गर्नुहुन्थ्यो, ‘मजस्तो अनपढ नहोऊ छोरा । मेरा छोरी छैनन् । छोरीचेलीको ज्यादै माया लाग्छ । मबाट धनसम्पत्तिको आस नगर । दिलोज्यानले साँचेर राख्देको केही सम्पत्तिबाट अपसोच ! तिमी ठगियौ । चोरी भयो । यसको विकल्प तिमी पढ । मेरो चिन्ता बढी नगर । तिम्रो सम्पत्ति भनेको पढाइ हुनेछ र सँगीसाथी हुनेछन् ।’

हामी दुईजनालाई छोरा र छोरीको स्थानमा राखी क्याम्पस पढ्न पठाउनुभयो । परन्तु हाय ! बाबा नराम्ररी बिरामी पर्नुभयो । हामीले ऋण गरेर काठमाडौँ उपचारमा लग्यौँ । तत्कालीन अखिल क्रान्तिकारीले यतिविधि सहयोग गर्यो । कुनै प्रसङ्गमा सविस्तार गरौँला । लामो समयको उपचारपछि बाबालाई लिएर म घर फर्किएँ । सँगसँगै डाक्टरको सल्लाहअनुसार कात्रो पनि किनेर लग्दा आफन्तजनबाट गाली खेप्नुपरेको थियो । बाबालाई भने थाहा थिएन । म विज्ञानमा विश्वास गर्ने मान्छे । भोलिपल्टै बाबाको मृत्युको खबर बोकेर तिमीलाई भेट्न एकजना प्रियजन पुग्नुभयो । आज दुवैका आमाबाबा भौतिक रूपमा हामीमाझ हुनुहुन्न । उहाँहरू हाम्रो यात्राका असल गुरु हुनुहुन्थ्यो । ससुरा बाबाले मलाई ‘राजनीति गर ज्वाइँ’ भन्नुभएको थियो । त्यो सदिच्छा हामीले पूरा गर्नैपर्छ । मेरा बाबाले तिमीलाई ‘पढ छोरी’ भन्नुभएको थियो । हाम्रा असल आमाहरू हामीदेखि अति खुसी र बिछट्टै प्यार । क्या कमाल प्रिया हाम्रो सङ्घर्षमय जीवनयात्रामा । परन्तु हाय ! ससुरा बाबा जनयुद्धको समयमा खसेको खबर बोकी आएको प्रियजनलाई मात्र भेट्यौँ तर बाबालाई भेट्न पाएनौँ । सासूआमा कथित सरकारी कम्युनिस्ट सरकारले लादेको प्रतिबन्धको समयमा खस्दा भेट्न र उपचार गर्न पाइनौ । आखिर प्रतिबन्धका नाइकेहरू हिजोका हाम्रै र राम्रै नेताहरू हुन् क्यारे । क्याबात् जीवनका चक्रहरू । ठिकै छ । देश र जनताका लागि यो त्यागको पक्ष बुझी गर्व गरौँ ।

तर जनयुद्धका नाइकेलाई फर्केर हेर्दा र उसको वर्तमानको चर्तिकला चियाउँदा एउटा विषय–प्रसङ्ग अघि सारौँजस्तो लागिराखेको छ । त्यो के भने २०५२ सालदेखि २०६९ सम्म १७ वर्ष जनयुद्धका नाममा के उसका हली मात्र भयौँ ?! वर्तमानको व्यवहार र बोलीबचनले यही कुरालाई पुष्टि गर्दछ । हामी उसका हली नै थियौँ भने जनअदालतमा एउटा मुद्दा दायर गर्नुपर्यो प्रचण्ड साहूका नाउँमा प्रिया । हामी दुईजनाको ज्याला २,४८,२०,००० (दुई करोड अठ्चालीस लाख बीस हजार) भएछ । अब भन्नुहोस् सबै जनयोद्धाहरूको हिसाबको सूची कति भयो होला ?! ठगीमुद्दा लगाउनुपर्ने भयो । फैसला जनअदालतले गर्ला । होइन भने त्यो हाम्रो त्याग र समर्पण थियो । देश र जनताप्रतिको निष्ठा थियो । तसर्थ हामीलाई न्याय त चाहिन्छ नै । जनवाद ल्याउँछु भनी भर पारेर दोबाटोमा चटक्कै बचेरा छोडेर अर्कैका पोल्टामा जानेलाई अब के गर्ने ? ‘ मलाई मार्छन्…’ को भय र अर्थ यहाँ लुकेको छ । आफैँ सोत्तर परेकालाई कसले, किन मार्नु र ! बरु जनअदालतको कठघरामा बयान दिनु त पर्छ नै । अझै यतिले पुगेन भनेर उसले त स्वेच्छिक रूपमा सम्पत्तिलाई पार्टीकरण गर भन्थ्यो । उसलाई कसले दियो त्यो अधिकार ? कम्युनिस्ट घोषणापत्रमा त त्यो कुरा उल्लेख गरेका छैनन् माक्र्स–एङ्गेल्सले । बरु कम्युनिस्ट घोषणापत्रको पेज ११ मा निम्नकुरा लेखिएको छ, ‘हामीलाई जुन कुराले छिट्टै पहिचान गराउँछ त्यो भनेको खालि हामीले सामान्य न्याय मात्र चाहन्छौँ भन्ने होइन । हाम्रो स्पष्ट पहिचान भनेको विद्यमान सामाजिक व्यवस्था मात्र होइन, हामी निजी सम्पत्तिका पनि विरोधी हौँ । हामी सम्पत्तिलाई सामुदायीकरण गर्न चाहन्छौँ किनभने हामी कम्युनिस्ट हौँ ।’ कम्युनिस्टका नाममा माक्र्स–लेनिन–माओकै बदनाम हुने गरी एमाले– माकेले व्यक्तिगत सम्पत्ति कमाउन मरिहत्ते गर्ने पाठ पढाइरहेका छन् कार्यकर्तालाई । ‘जसरी पनि लुटको राज मच्चाऊ तर भोट भने हामीले तोकेको दलाल, तस्कर र भ्रष्टलाई देऊ’ को फर्मान जारी गरिरहेका छन् । आफ्नो सम्पत्ति खै सामुदायीकरण गरेको र नैतिक बलका साथ पार्टीनीति बनाएको ? किन अख्तियारको तर्सोमा भागीभागी बाँच्नुपर्यो ? यो चाल त हात्तीको देखाउने दाँत मात्र हो किनभने अख्तियार पनि भ्रष्टाचारको अंशियारमा परिणत भैसकेको छ भ्रष्ट ‘कम्युनिस्टराज’ मा । कुरा स्पष्ट छ, समाजिक दलाल पुँजीवादी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचारी कार्यदिशा लादिएको छ । असन्तुष्ट छन् आमकार्यकर्ता र जनता । तर विद्रोह गर्ने हुति भने देखिएन । यसरी सोत्तर पार्दोरहेछ ‘माद र उन्माद’ ले ।

झन्डै आमाबाबाले पौरखी हातले बचाइदेको बाजेको सम्पत्ति बुझाइदेको द्रव्यपिचास ठगलाई ! माओवादीका नाममा कस्तो अज्ञेयवादी हुने खतराले छोपिएका रहेछौँ बा ! निम्छरो पारिवारिक नियतिभित्र । तिमीले त्यसबेलाको पारिवारिक बैठकमा सुझाएकी थियौ– के बच्चाबच्चीको जिम्मा पनि लग्छ प्रचण्ड पार्टीले ? यो कुराले मलाई पनि हच्कायो । त्यागको घन्टी बजाएर खरानी घस्न सिकाउँदैथ्यो धोकेबाजले । कम्युनिस्ट नेता, कार्यकर्ताको जीवनशैली सरल र खुला हुनुको सट्टा कार्यकर्तालाई जोगी तुल्याई आफू भने भोगी बन्नेलाई के भनौँ र खै ?!

मलाई अर्को एउटा कुराले अहिलेसम्म पिरोलिरहेको छ । त्यो के भने मैले नेपालदेखि भारतका गल्लीगल्लीसम्म उद्घोषणमा दिउँसै रात पार्नेखालको एउटा बेतुके कोटेसन जोड दिएर ओकलिरहेछु, ‘हाम्रा महान् प्रचण्डले भन्नुभएको छ– हामी हाँस्दाहाँस्दै रोएका छौँ र रुँदारुँदै हाँसेका छौँ ।’ दिल्लीबाट चेन्नईको एक्सप्रेस रेलमा यात्रारत हुँदा एउटा गीत गुन्जियो, ‘हाँस्ते हाँस्ते रोना सिको, रोतेरोते हाँस्ना सिको ।’ आखिर अन्धा कानुन फिल्मी गीतको नेपाली भाषान्तर । वाहियात ! जनयुद्धकालमा भारतमा बसेर ह्विस्की र पाङ्ग्रा खाएर फिल्म हेर्दै वर्षदिनमा रणमैदानमा थर्थर काँप्दै गोहीका आँसु झारेर माक्र्सवाद होइन, मासुभात डकार्ने चतुरेका ढुसी डकारलाई महान् प्रचण्डको उक्ति भन्न लाज नमान्ने थुइक्क म पनि । मजस्ता गँवार चेतनामा चतुरेको भुरुङ खुब झुलेकै हो । शान्तिकालमा घर न घाटको पारेर गयो महाजन माडेकैतिर । हाम्रो हातमा केवल आफ्ना मात्र । स्याबास् प्रिया ! तिम्रो गहिरो अनुसन्धानले तिमीलाई सत्य बोल्न आँटी तुल्याएकै हो । सन्तानको साँचो माया र कर्तव्यबोधको कुन्जी मात्र एउटी असल आमासँग हुँदोरहेछ । यो पुरुषवादी समाजमा बाबा भनिने भकारीमा त धाकभन्दा धक्कु ठूलो पो हुँदोरहेछ । मेरा लागि तिमी महान् गुरु हौ जीवनसखा । कैयौँ विषयमा सत्य ज्ञानको उज्यालो तिमीबाट मैले पाएँ ।

पिँजडाको पन्छी र सागरको माछीबीच अन्तरसंवादमय यस घडीमा, अर्को एउटा प्रसङ्ग पस्कन मन लाग्यो । हामी सोल्टासोल्टी ! एकले अर्कोलाई मर्यादित व्यवहारले आकर्षित गर्ने संस्कार । उत्ताउलोपन कस्तो हुन्छ हामीलाई थाहा भएन । समाजको मूल्यमान्यताको परिधिमा बाँधिएका हामी राष्ट्रसेवक । त्यसबेला हाम्रो लक्का जवानी । लालीझैँ चमचमाउने मुखमुहार ! जिउडाल चिरिच्याँट्टै । एकअर्कामा आफ्नो चाहअनुसारको गुणको खोजी । प्यारपूर्ण ‘नजर’ को रोजी ! मानौँ हामी तत्कालीन नयाँ यौवनका कोलम्बस हौँ । हामीले एकअर्कामा मनको चाह भेटायौँ र आमाबाबासँग हात थाप्यौँ । राजीखुसीले हाम्रो माग स्वीकृत भयो । हामीले एक वर्षसम्म परीक्षणकालमा बिताउनुपर्ने नीति बनायौँ । हामी सन्तुष्ट भयौँ । पारदर्शिताले सबैलाई आकर्षित गर्यो । प्रियजनहरूमा समेत खुसीको वसन्तबहार आयो । एक दिन हामीले मिलनको कारकबारे समीक्षा गर्यौँ । एकले अर्कोलाई के कारण मन परायौँ त !.‘म सपनाशील, प्रतिभाशाली साथीको खोजीमा थिएँ । त्यो प्रचुर गुण तिमीमा देखेँ’, तिमीले मलाई भन्यौँ । ‘म उन्नत चेतना र श्रमशील आचरणको खोजीमा थिएँ । त्यो मैले भरपूर रूपमा तिमीमा देखेँ’, मैले तिमीलाई भनेँ । आखिर मुल कुरा दृष्टिकोण थियो । हामीबीच दृष्टिकोण पनि मिल्यो । तिमी २०३६ सालको मसाल निकट अखिलको बाल विद्यार्थी । म २०४० सालको मशाल निकट अखिलको विद्यार्थी । अन्ततः मालेमावादी प्रवाहमा हाम्रो जीवनयात्राको मिलन हुन पुग्यो वैचारिक र भावनात्मक रूपमा । देश र जनताको असल सेवक बन्ने प्रतिबद्धता हाम्रो । हो जीवनसखा ! हाम्रो त्यो उन्नत चेतना, श्रमशील आचरण र प्रतिभा कम्युनिस्ट चेतना, श्रमशील आचरण र प्रतिबद्धतामा विकास भैरहेको छ र त हामी जस्तोसुकै हुन्डरीमा पनि सहज रूपमा सपनाको यात्रामा यात्रारत छौँ र भई नै रहनेछौँ । जबसम्म वैज्ञानिक समाजवाद प्राप्तिको सपना पूरा हुँदैन तबसम्म विचलनले कुनै बास पाउनेछैन हाम्रो मनमस्तिष्कमा । साम्यवाद प्राप्तिको महान् यात्रामा पदचापहरू शिखरतिर बढाउँदा हरेस खाई लत्रनुको कुनै अर्थ हुँदैन कि कसो प्रिय !

ऊ त्यो पारि क्षितिजतिर हेर त प्रिया ! एकीकृत जनक्रान्तिको दृष्टिक्षितिजमा साम्यवादको सारतत्वमा जगमगाइरहेको वैज्ञानिक समाजवाद मुस्कुराइरहेको छ । एकीकृत जनक्रान्तिले अब्बलता प्राप्त गरिरहेको गौरवमय परिवेशमा जाँदाजाँदै एउटा गीत गुनगुनाऔँ है त जीवनसखा !

बगरका माछीहरू सागरमै मोती टिपिदेऊ !
पिँजडाका पन्छीहरू सगरकै ज्योति चुमिदेऊ !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :