बलिदानी संस्कृति र गोहीका आँसु

नेपालको राजनीतिक–सांस्कृतिक आन्दोलन र सङ्घर्षको इतिहास त्याग, साहस, शौर्य र बलिदानले भरिएको छ । निरन्तर सङ्घर्षका क्रममा नेपाल आमाका हजारौँ सुन्दर सन्तानले यो भूमिमा रगत बगाएका छन्, बेपत्ता जीवन व्यतीत गरेका छन् र अङ्गभङ्ग भएका छन् । तर राजनीतिक आन्दोलन, सङ्घर्ष र युद्धहरूको नेतृत्व गर्नेहरूले बारम्बार सम्झौता गरेर दलाली र गद्दारी गरेका कारण योद्धा र सहिदहरूको सपनाको कदर हुन नसकेको मात्र होइन, अपमान नै भएको छ । जनयुद्धका दसौँ हजार सहिदहरूको हकमा पनि त्यही लागू भएको छ । जनयुद्धकै मुख्य नेतृत्व अध्यक्ष रहेको पार्टीको सरकार भएको समयमा पनि जनयुद्धका सहिदहरूलाई सहिद घोषणा नगरिनुले उनीहरूको ओठेभक्तिप्रति पनि गम्भीर प्रश्न उठेको छ ।

यो महिना जनयुद्धमा नेकपा (माओवादी) को उच्च नेतृत्व अर्थात् पोलिटब्युरो स्तरबाट बलिदान गर्ने सरल, इमानदार र कर्तव्यनिष्ठ माओवादी नेता सुरेश वाग्ले ‘ वासु’ र उहाँसँगै बलिदान गर्ने भीमसेन पोखरेलको स्मृति दिवस पर्यो । केही दिनअघि जनयुद्धको पूर्वसन्ध्यामा नेकपा (माओवादी) को केन्द्रीय स्तरबाट बलिदान गर्ने रामवृक्ष यादव ‘मास्टरसाहेब’ को पनि स्मृति दिवस पर्यो । लगत्तै त्यसअघि दोरम्बामा भएको कुख्यात हत्याकाण्डमा बलिदान गर्ने २१ जना महान् सहिदहरूको स्मृति दिवस मनाइयो । यी महान् बलिदानहरू थिए । त्याग, शौर्य, क्रान्ति र वर्गप्रतिका समर्पण र बलिदानकै कारण जनयुद्धमा लाखौँ जनताको लामबन्दी थियो । त्यसैले त्यो जनयुद्ध थियो । महान् योद्धाहरूको बलिदानका गाथाहरू हाम्रा लागि गौरवका विषय हुन् । नेतृत्व र जनताले एउटै स्पिरिटमा हत्यारो सत्तासँग प्रतिरोध गर्दै निर्माण गरेको प्रतिरोध र बलिदानको संस्कृति नेपालका लागि मात्र होइन, वर्गसङ्घर्षको विश्वइतिहासमै उदाहरणीय छ ।

एकीकृत जनक्रान्तिमा लामबद्ध भएपछि सामाजिक दलाल फासिवादी सरकारको प्रतिबन्ध खेपिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धमा झैँ यी दिवसहरूलाई पर्व, उत्सव र एकीकृत जनक्रान्तिका ऊर्जाका रूपमा मनाइरहेको छ । नेकपाका महासचिव कमरेड विप्लवले जनताका बीचमै यी दिवसहरू मनाएका सूचनाहरू पनि प्राप्त भएका छन् । क्रान्तिका लागि यी सुखद खबरहरू हुन् । वासु, भीमसेन, रामवृक्ष, आजादहरूको बलिदान कुहिगन्धे दलाल संसद्वादी सत्ताका लागि थिएन, निरन्तर क्रान्तिका लागि, वैज्ञानिक समाजवाद स्थापनाका लागि थियो । नेकपाले सहिदहरूको त्यही लक्ष्य प्राप्तिका लागि जनवादी/समाजवादी संस्कृतिका रूपमा यी पर्वहरू र दिवसहरू मनाउँदै आएको छ ।

जनयुद्धका महान् सहिदहरूको त्याग, शौर्य र बलिदानको सम्मान गर्ने मात्र होइन, त्यसको अपमान गर्ने दलाल सत्तासंस्कृति पनि देखिएको छ । जनयुद्ध नस्वीकार्ने, जनयुद्धलाई द्वन्द्व भनेर होच्याउने, जनयुद्धका उपलब्धिलाई षड्यन्त्रपूर्वक हत्या गर्ने, जनसरकार, जनसत्ता, जनसेना, हतियार, जनन्यायालय समाप्त गर्ने तर जनयुद्धका सहिदहरूको तस्बिर अघिल्तिर राखेर गोहीका आँसु खसाउन दलाल संस्कृति निन्दनीय छ । विचार परित्याग गरिसकेपछि सहिदहरूलाई भँजाउनुको कुनै अर्थ छैन । यसो गर्नु बेइमानी हो । सहिदहरूको व्यापार हो । यो नौटङ्की बन्द गर्नुपर्छ । बलिदानको संस्कृति निरन्तर क्रान्ति र आमूल परिवर्तनसँग सम्बन्धित छ । दलाल पुँजीवादमा रमाउने तर आमूल परिवर्तनका लागि बलिदान गर्ने महान् सहिदहरूको तस्बिर झुन्ड्याएर अर्थ न बर्थका गोहीका आँसु चुहाउने षड्यन्त्रपूर्ण सत्तासंस्कृतिको अन्त्य हुनु आवश्यक छ ।

बीसको दशकको उत्तराद्र्धमा पूर्वमा केही युवाको नेतृत्वमा झापा विद्रोह भयो । त्यस विद्रोहमा कयौँ योद्धाहरूको बलिदान भयो । विद्रोही युवाहरूको पहलमा नेकपा माले निर्माण भयो तर त्यो पार्टीले झापा विद्रोहप्रति घोषित/अघोषित रूपमा आत्मालोचना गर्दै त्यसको स्पिरिटलाई छोडिदियो । कुनै दिन पार्टीको बैठकमा अध्यक्षको कुर्सी अध्यक्ष माओका लागि खाली राख्ने पार्टीले माओविचार र माओवाद परित्याग गर्यो । तर विडम्बना ! माक्र्सवाद लेनिनवादबाट पूर्ण रूपमा च्यूत भएर कम्युनिस्ट पार्टीलाई भोट बैङ्क बनाउन र कम्युनिस्ट समर्थित जनतालाई भेडाबाख्राजस्तो चुनावमा किनबेचमा दुरुपयोग गरिहेको उक्त समूह अझसम्म पनि झापा विद्रोहका सहिदहरूको नाउँ लिइरहेकै छ । त्यसैगरी जनयुद्धको मूल लक्ष्य र उद्देश्य बीचैमा छाडेर दलाल संसद्वादमा भासिएको पुष्पकमल दाहाल–रामबहादुर थापा समूह पनि जनयुद्धमा बलिदान गरेका महान् योद्धाका परिवारहरूलाई गुमराहमा पार्न ती सहिदका तस्बिरको दुरुपयोग गरिरहेको छ । मूल लक्ष्य र आदर्शबाट च्यूत भइसकेपछि तस्बिर झुन्ड्याएर गोहीका आँसु खसाल्नु कलाविहीन नाटक, धोका र गद्दारीशिवाय केही होइन । त्यसो गर्नु अनैतिक कदम हो । बुर्जुवाकरण भइसकेपछि सहिदहरूको रक्तरञ्जित झन्डाहरू छुनु हुँदैन । छोडिदिनुपर्छ ।

हुनत नेकपाका संस्थापक पुष्पलालको आदर्श छोडेको दसकौँ भइसक्दा पनि तत्कालीन एमाले अर्थात् हालको सरकारी नेकपाले पुष्पलालको तस्बिर झन्ड्याएर र पुष्पलालका नाउँमा प्रतिष्ठानहरू खोलेर सरकारी ढुकुटीमा तर मार्न छोडेको छैन । हुँदाहुँदा यो गलत प्रवृत्ति जनयुद्धका महान् सहिदहरूको नाउँमा एनजीओ खोलेर भ्रष्टाचार गर्ने हदसम्म आइपुगेको छ । यतिबेला सरकारी नेकपाका नेताहरूले जनयुद्ध, जनक्रान्ति र जनआन्दोलनका सहिदहरूको नाउँ लिनु भनेको आफ्ना कार्यकर्ताहरूलाई एनजीओ खोलिदिनु र सहिदका नाममा निरन्तर लुट्ने बाटो बनाइदिनु हो । तत्कालीन एमाले त एनजीहरूको महासङ्घजस्तै बनिसकेको थियो । होली वाइनकाण्डसम्म आइपुग्दा त्यस समूहमा क्रिस्चियनहरूको पकड र स्वार्थसमेत कति गहिरोसँग मिसिएको रहेछ भन्ने बुझ्न कुनै गाह्रो परेन । हाज पुष्पकमल दाहाल समूहको पनि त्यही अवस्था देखिँदैछ । जनयुद्धका सहिदहरूलाई सहिद घोषणा गर्न÷गराउन नसक्ने, सहिदहरूका आदर्श लत्याउने तर सहिदहरूका तस्बिर टाँगेर रोइटोपल्ने खराब प्रवृत्तिका कारण जनतामा ठूलो भ्रम छरिएको छ । यो खराब प्रवृत्तिको अन्त्य गर्नुपर्छ । महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरूका सपना साकार पार्न र वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिमा लामबद्ध हुनुको विकल्प छैन । सम्पादकीय

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :