पाल्पामा युवा संगठन नेपालको अध्यक्ष लिला सारु


पाल्पा : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल पाल्पाको चौथो जिल्ला सम्मेलन शनिबार तानसेनमा सम्पन्न भएको छ । ‘वैदेशिक हस्तक्षेप र फासिवादी प्रतिवन्धको विरुद्ध युवा आन्दोलन, वैज्ञानिक समाजवाद र सुदृढ संगठनकालागि चौथो जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्पन्न भएको जिल्ला सम्मेलनले लिला सारुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

जिल्ला सम्मेलनमा प्रमुख आतिथि युवा संगठन नेपालका केन्द्रीय महासचिव सागर पुन, विशिष्ट अतिथि पाल्पा जिल्ला इन्चार्ज पूर्ण सिंह, अतिथिहरु युवा संगठन लुम्विनी ब्युरो संयोजक विश्लेषण, अखिल (क्रान्तिकारी)का लुम्बिनी ब्युरो संयोजक विरेन्द्र बि.क. लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनमा केन्द्रीय महासचिव पुनले युवाहरुलाई देश परिवर्तनका निम्ति अन्तिम पटक क्रान्तिमा सहभागी हुनका निम्ति आव्हान गरे । त्यस्तै जिल्ला इन्चार्ज सिंहले देशमा विद्यमान दलाल संसदीय व्यवस्थाको खारेजी र त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति एकीकृत जनक्रान्तिमा लामबद्ध हुन युवाहरुलाई आग्रह गरे ।

साथै युवाका व्युरो संयोजक विश्लेषण र विद्यार्थी व्युरो संयोजक विरेन्द्र विकले देशमा मौलाइरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, कर, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापार, वैदेशिक हस्तक्षेप, एमसीसी जस्ता विकराल समस्याहरुको विरुद्धमा उत्रिन युवाहरुलाई अपिलसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :