चितवन मेडिकल कलेजको घटनाप्रति सङ्घर्ष समितिद्वारा भत्र्सना


चितवन : चिकित्सा शिक्षा सङ्घर्ष समिति तथा चितवन मेडिकल कलेज, विद्यार्थी परिवारले चितवन मेडिकल कलेजमा भएको घटनाको भत्र्सना गरेका छन् । दुवै संस्थाका तर्फबाट चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले विज्ञप्ति प्रकाशित गरी खेद र भत्र्सना गरेका हुन् । उनको विज्ञप्तिमा राज्यको न्यायिक निकाय, अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति नागरिकको अविश्वास र राज्य र अस्पताल प्रशासन दुवै स्वास्थ्यकर्मी र नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परिणामस्वरूप उक्त घटना भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यस चितवन मेडिकल कलेजका विद्यार्थीहरू विगत लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय बनाउँदै आमनागरिकको पहुँचमा पुर्याउन र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उचित पारिश्रमिक, सेवा, सुविधा र सुरक्षाका लागि विभिन्न चरणका सङ्घर्ष गर्दै स्वास्थ्यकर्मीहरूको हकअधिकार सुनिश्चित गर्न निरन्तर रूपमा लागिरहेको सबैलाई अवगत नै छ । हामी विद्यार्थीहरू विभिन्न माग राखी विगत ३ महिनादेखि कलेज प्रशासनविरुद्ध आन्दोलनरत छौँ । यद्यपि मिति २०७६ कात्तिक ३ गते बिरामीको मृत्युलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गरिएको तोडफोड, स्वास्थ्यकर्मी र विद्यार्थीमाथि भएको हातपात, गालीगलौज, अश्रुग्यास प्रहारजस्ता सबै अमानवीय र घृणित घटनाको घोर भत्र्सना गर्दछौँ ।’

संयोजक प्रकाशको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राज्यको न्यायिक निकाय र अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति नागरिकको अविश्वास र राज्य र अस्पताल प्रशासन दुवै स्वास्थ्यकर्मी र नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परिणामस्वरूप उक्त घटना भएको हो भन्नेमा दुईमत छैन र हुनु हुँदैन । तसर्थ राज्यले सत्यतथ्य छानबिन गरी जोकोही भए पनि कानुनअुनसार दण्डित गरोस् । साथै स्वास्थ्यकर्मीले कहिल्यै पनि बिरामीलाई बचाउनुपर्छ भन्ने सिद्धान्त भुलेको हुँदैन तर कहिलेकहीँ अरू पक्षको कमीकमजोरी पनि स्वास्थ्यकर्मीको टाउकोमा हाल्ने प्रवृत्तिप्रति सचेत रही संयमित भई पीडित पक्षलाई कानुनी प्रक्रियाबाट न्याय खोज्न पनि अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामी स्वास्थ्यकर्मी र विद्यार्थीको जनधनको रक्षा गरी सुरक्षाको प्रत्याभूति दिलाउने काम राज्य र अस्पताल सञ्चालक समितिको हो । यस्तो खालको असुरक्षाभित्र रहेर कुनै पनि स्वास्थ्यसेवा सम्पादन गर्न हामी असमर्थ हुन्छौँ । तसर्थ हामी स्वास्थ्यकर्मी र विद्यार्थीहरूको सुरक्षा ग्यारेन्टी गर्न सबै सरोकारवाला निकायसमक्ष जोडदार माग गर्छौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ कार्तिक ४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :