अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व

मे १ का दिन विश्वभर र नेपालमा पनि १३० औँ मे दिवस मनाइएको छ । श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरुद्ध मजदुरहरूले गरेको विद्रोहको स्मरणस्वरूप मे दिवस मनाउने गरिएको हो। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनीतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो प्रभाव र महत्व रहेको छ ।

सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो सहरबाट सुरु भएको मजदुरहरूको आन्दोलनले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन गर्ने मान्यतामा स्थापना गराएको थियो । ८ घन्टा मात्र काम गर्ने मजदुरको माग पूरा नगरेपछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो सहरमा लाखौँ मजदुरहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पूरा नगर्ने निर्णय तत्कालीन अमेरिकी सरकारको थियो ।

आन्दोलन २ दिनसम्म शान्तिपूर्ण भए पनि तेस्रो दिनको प्रदर्शन र आन्दोलनमाथि सरकारले व्यापक दमन गरेको थियो । ६ जना मजदुरले सोही क्रममा सहादत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस, एङ्गेल्सलागयतलाई मृत्युदण्ड दिइएको थियो । त्यो गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो ।

यसअघि २० अगस्ट १८६६ मा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घन्टा कामको माग राख्दै ‘नेसनल लेबर युनियन’ भन्ने एक सङ्गठन निर्माण गरेका थिए । त्यसैको निरन्तरतास्वरुप आजसम्म मजदुर आन्दोलन जारी छ र मे १ को ऐतिहसिक महत्व कायमै छ । मजदुर हरूको त्यो अन्तर्राष्ट्रिय महत्वपूर्ण सङ्गठनको नेतृत्व प्रतिभाशाली मजदुर नेता एच. सिल्विसले गरेका थिए । उनी अन्तर्राष्ट्रिय नेताहरूसँग बारम्बार पत्र व्यवहार गर्ने गर्दथे । सन् १८६७ को अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो ।

सन् १८६९ मा लेबर युनियनले प्रथम अन्तर्राष्ट्रिय निमन्त्रणालाई स्वीकार गरी जरनल काउन्सिलमा एकजना प्रतिनिधि पठाउने निर्णय गरेको थियो । यसै समयमा मजदुर आन्दोलनका नेता एच. सिल्विसको दुःखद् निधन भएको थियो । त्यसपछि एसी केमरानलाई अन्तर्राष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उनी सिकागोबाट प्रकाशित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्रिकाका सम्पादक पनि थिए । एच. सिल्विसको मृत्युपछि लेबर युनियनमा खराब व्यक्तिको प्रवेशले बद्नाम हुँदै विघटन हुन पुग्यो ।

नेपालमा २००३ सालमा रघुपति जुट मिलमा पहिलोपटक मजदुर आन्दोलन सुरु भएको थियो । नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभए पनि देशमा चल्ने गरेका राजनीतिक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् तर अहिलेसम्म पनि मजदुर हरूले आफ्नै जीवनमा भने परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

काम गर्ने समयलाई सुनिश्चित गरेर जबसम्म कानुनी रूपमै व्यवस्थित गरिँदैन तबसम्म मजदुर वर्गको खुसी र स्वतन्त्रताका लागि गरिने सबै सङ्घर्षको प्रयास निरर्थक हुनेछन् भनेर सन् १९६६ को सेप्टेम्बरमा जेनेभामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय काङ्ग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो । नेसनल लेबर युनियनले उठाएको ८ घन्टा कामको मागलाई कार्ल माक्र्सले पनि जोडले समर्थन जनाएका थिए । सन् १९६७ मा प्रकाशन भएको पुँजीको प्रथम खण्डमा माक्र्सले निग्रो र गोरा मजदुर हरूको वर्गहकहितको कुरा उठाएका छन् ।

माक्र्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाँधिन जोड दिएको पाइन्छ । पुँजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन् । यसैबीच सन् १८८६ को मजदुर आन्दोलनताका विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको निधन भयो ।

मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता अझै उत्तिकै टड्कारो छ । मजदुरवर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो । यही शक्तिको दुरुपयोग गर्दै विभिन्न संशोधनवादी तथा अवसरवादी सङ्गठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन् । मजदुर हरूको मुक्ति अभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी सङ्गठनहरू क्रियाशील रहेका छन् ।

देश गम्भीर सङ्कटमा फसिरहेको अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नुपर्ने बेला आएको छ । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न र उद्देश्य पूरा गर्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुन्छ । विभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ । त्यसो त विश्वकै मजदुर आन्दोलन त्यति शक्तिशाली बन्न सकिरहेको छैन । विभिन्न अवसरवादी सङ्गठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एक हुनु जरुरी छ । श्रमिक, मजदुर र सर्वहारावर्गसहितको क्रान्तिले नै श्रमिक वर्गलाई मुक्ति दिलाउने कुरामा दुईमत छैन ।

२०७६ वैशाख २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :