नेपाल कम्युनिस्ट पार्टी उदयपुरले ८ औँ पार्टी पुनर्गठन दिवस मनायो

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले ८ औँ पार्टी पुनर्गठन दिवस मनायो

उदयपुर : नेकपा उदयपुरले सदरमुकाम गाईघाटमा पार्टीको आठौँ पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमको पूर्वसन्ध्यामा गाईघाटको पीपलचोकबाट र्याली निकाली बजार परिक्रमा गरेर पीपलचोकमा कोणसभा गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् उदयपुरका इन्चार्ज विवेक कुमालले मैनबत्ती बालेर गरेका थिए । सहिद परिवारलाई प्रमुख अतिथि र अतिथिबाट खादा ओढाई सम्मान गरिएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज कुमालले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र जनक्रान्तिलाई गुणात्मक गति दिनका लागि गरिएको ऐतिहासिक दिन हो । यो आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र छद्म संशोधनवादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय थियो । जनयुद्ध सञ्चालन गरेका नेताहरू असफल भएर संसद्वादमा पतन भएपछि क्रान्तिकारीले उठाएको क्रान्ति र विद्रोहको झन्डा थियो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नयाँ आधारमा पुनर्सङ्गठित विद्रोह थियो ।’

पार्टी पुनर्गठनपछि नेकपाले तय गरेको कार्यदिशा, नीति र कार्यक्रमले पार्टी र अन्दोलनलाई देश, जनता र श्रमिक वर्गको मुक्तिको दिशातिर लगेर पुनर्गठनलाई व्यावहारिक रूपमै सफल पारेको उनले बताए ।

जिल्ला सेक्रेटरी लक्ष्मणले दलाल संसदीय व्यवस्थाले जबर्जस्ती थोपरेको व्यवस्था अब जनताले नस्वीकार्ने र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था खोजिरहेको बताए । देशमा जस्तासुकै समस्या आए पनि नेपाल कम्युनिस्ट पार्टी पछि नहट्ने र जनताको मुक्तिका लागि निरन्तर लागिराख्ने बताए ।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी उदयपुरका सदस्य तथा कटारी नगरपालिका इन्चार्ज अमृत खत्रीले र सञ्चालन उदयपुर जिल्ला कार्यालय सचिव दुर्गा तामाङले गरेका थिए । कार्यक्रमका विशेष अतिथिमा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल र अतिथिमा जनवर्गीय सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :