चाइनिज ताइपेईविरुद्ध नेपालको सहज जित

चाइनिज ताइपेईविरुद्ध नेपालको सहज जित

काठमाडौँ : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौँ खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध सहज जित हासिल गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन बिष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरेका छन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन बिष्टले गोल गरेपछि नेपाल अघि बढेको थियो । सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका चेङ हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसमा अन्जनले सहजै गोल गरेका थिए ।

यससँगै अन्जन ताइपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यसअघि ताइपेईको घरेलु मैदानमा नेपालले २–० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

त्यसपछि खेलको ८१ औँ मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाएका हुन् ।

यो जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :