नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई केपी वली सरकारले कायरतापूर्वक गिरफ्तार गरेको छ ।

स्रोतका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट नेकपा नेता कञ्चनलाई बुधबार प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले नेता कञ्चनसहित प्रकाश शाही, विवेक कुमाल र विश्वासलाई पनि गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमणको महामारीपछि आक्रामक कारबाही स्थगन गरेर जनसेवामा तल्लीन रहेको नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर वली सरकारले आफैँले निर्माण गरेको संविधानले प्रदान गरेको फरक आस्था राख्न र राजनीतिक गतिविधि गर्न पाउने मौलिक अधिकारसमेत कुल्चिएर हदैसम्मको फासिवादी हर्कत प्रस्तुत गरेको छ ।

वली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । स्मरणीय छ, केपी वलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :