रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

म्याग्दी : रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको जीप रातोपहिरोमा दुर्घटना भएको छ । ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा शुक्रबार एक बालिकाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । जीपमा ११ जना सवार थिए । एक जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :