प्रहरी बलमा मानसिक रोग

भदौ २३ गते राती कति बेला हो रूपनी, सप्तरी पुग्दा नै कोसी नदीको चिसो हावा आएको थियो । अमानवीय र कायर प्रहरीहरू ले पिसाब फेर्न पनि दिएनन् । अदालत जाँदा दुईवटा एसएलआर, अश्रुग्याँसका लोला, सटगन, सानो पेस्तोल, लट्ठीसहित १० जना खटिन्थे । अहिले ४ जना मात्र भएका कारण लगलगी कामिरहेका हुँदा हुन् । निजी प्लग भएको स्कार्पियोमा चोर बाटो हुँदै ढल्केबर पूर्व सायद हरिपुर निस्केर पूर्वतर्फ लागेका थिए ।

कोसीबाँध पुग्नासाथ पारिपट्टि बाँधको मुखमा थारूहरूले ढडिया थापेझैँ सुनसरी प्रहरीको भ्यान बसेको रहेछ । दुईवटा प्रहरी टोली, भारत र नेपालका प्रहरी र कर्मचारी स्थानीय देखिन्थे । रातको १० बजिसकेको रहेछ । सवारीसाधनबाट झर्नासाथ बीच बाटैमा ‘ल खा’ भनेर पिसाब फेरिदिएँ । केही वर्षअघि आधुनिक सभ्यतालाई गिज्याउँदै बादी समुदायका महिलाले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका थिए । मैले पूरै प्रदर्शन गरिदिएँ कोसी बाँधतिर फर्केर । हाम्रो माटोमा सिँचाइ नगर्ने, विनास मात्र गर्ने कोसीको सम्मान नै किन गर्नु ! मलाई लिएर आएका धनुषाका आरनबाट पोल्दापोल्दै उफ्रेर निस्केका जस्ता, छाला र संस्कार दुवै काला भएका प्रहरी रातको अँध्यारोमा भूतप्रेतजस्ता देखिए । सुनसरीको भ्यानले इनरुवातिर लिएर गयो । इनरुवा जिप्रकामा धरान इप्रकाको भ्यान आएर बसेको रहेछ । हिजो धनुषामा गाँजाको चर्को दुर्गन्ध र लामखुट्टेको टोकाइले निद्रा लागेको थिएन । यतातिर चिसोचिसो भयो र निद्रा लाग्यो । धरान इप्रका पुग्दा रातको १२ बजेको थियो । चितवनबाट हिँड्दा मसँग ५ वटा औषधीसहितका झोला घटेर ३ वटा भएका थिए । झोलाको औषधी हेर्दै ‘कामरेडहरू सबै बिरामी पो आउँछ, कसरी क्रान्ति गर्छ हौ ?’ एकजना भन्दै एक हबल्दारले मलाई सेनिटाइजर दिए । शिष्ट व्यवहार गरे सबैजसो प्रहरीले । राती १ बजे नयाँ बन्दै गरेको कोठा हतारपतार सफा गरेर खाटमा प्लास्टिकको गुन्द्री (चकटिया म्याट) राखिदिएका रहेछन् ।

लेखक : अनिल शर्मा

बिहानपख निदाएँछु । कोटगार्डले मर्यो कि भनेर होला चर्को स्वरले बोलाएपछि ब्युँझिएँ । नुहाइधुवाइ गरेँ । झोला आज भने आफैँसँग थियो । इप्रकाको होटेल कोरोना सङ्क्रमणका कारण बन्द रहेछ । कोटगार्डले तातो पानी ल्याइदिए । २ नम्बर प्रदेशको लोकतन्त्रले तातो पानी पनि दिएको थिएन र औषधी र आफ्नो झोलाको तयारी खानेकुरा खान पनि तिनीहरू आफ्नै बराजुको ढुकुटी रित्तेलाजस्तो गर्थे । आज तातोपानी, वली ब्रान्डेड कोरोना दबाई (बेसारपानी) खाएँ । बिहान ८ बजेतिर प्रहरी निरीक्षक आए । बीसी सरलाई अस्पताल भर्ना गरेका छौँ । तपाईं आउने थाहा भएपछि हतारहतार गरेको भन्दै थिए । चर्पी टाढा भएकाले पिसाब फेर्न पानीका बोतल राखिदिए । कोठामा पानी जमेको थियो । केही घन्टापछि डीएसपी र इन्सपेक्टर परैबाट अभिवादन गरे । आफ्नो हिरासत देशकै नमुना भएको र राजनीतिक र भीआईपी थुनुवालाई अरूबाट अलग राख्ने गरी नयाँ भवन बनाएको बताए । बिरामी र अपाङ्गमैत्री थुनुवाघर अझ प्राथमिकतामा पर्नुपर्ने विषय भने उनीहरूको दिमागमा देखिन्नथ्यो । उनीहरूले व्यावहारिक कुरा गरे । इन्डियाका लाहुरेले उहिलेउहिले गाउँमा बोक्नेजस्तै रेडियो थियो । इन्सपेक्टरले ब्याट्री ल्याइदिए । त्यसपछि खाना खाइयो । खाना धनुषाको भन्दा बीसको १९ भए पनि सफा थियो । खाना ल्याउने महिला प्रहरी पनि सफा भएकाले खान दिगमिग भएन । धनुषामा मान्छे नै फोहोरी थिए । असभ्य शासक थिए ।

१ बजेतिर म्याद थप्न अदालततिर लगे । अदालतमा जानुपूर्व सरकारी वकिलको कार्यालय गइयो । ती बलराम तिमिल्सेनाका साथी रहेछन् । न्यौपानेले कवि बलरामले सामाजिक सञ्जालमा हिजो मेरो टिप्पणी हेरेको हुनाले छलफल गरे । हामीले सहानुभूति गर्ने भनेको प्रक्रिया छिटो गरिदिने हो, अरू केही गर्न सकिन्न भन्दै थिए । त्यहाँबाट जिल्ला अदालत गइयो । पुग्नासाथ एकजना महिलाले नमस्कार गर्दै अनिल सर म अधिवक्ता कला त्रिताल भनिन् । मैले बन्दीहरूको समाचार बनाउन धेरैपटक सम्पर्क गरेको थिएँ । पहिलो भेट भए पनि धेरै पुरानो चिनारी भएझैँ लाग्दै थियो । अर्को एकजना साथी पनि आउनुभएको रहेछ । बाहिर हुनुहुन्छ भनेपछि थाहा भयो । उनीहरूसँग राजनीतिक र कानुनी कुरा भए ।

साथीहरूसँग कुरा भयो । कसरी सोचिएको छ भन्ने कुरा भयो । कलाको फोनबाट शोभासँग कुराकानी भयो । अविरल आज नै सर्वोच्च अदालतमा रिट दायर गर्न गएको कुरा कलाले भनिसक्नुभएको थियो । अम्बिका, इन्द्र रेग्मी, खेम, रसुवाली कवि, बलरामले पनि सामाजिक सञ्जालमा सरकारी कदमको विरोध गरेका रहेछन् । पूर्वी नेपालमा पनि युवाहरूले रिहाइको माग गरेको विराटनगरकै साथीबाट थाहा भयो ।

बीसी र मलाइ एकै दिन मुद्दा टुङ्गो लगाउने गरी १४ दिन म्याद थपिएको रहेछ । फापरको रोटी खाजा खाइयो । कलाले बिरामीअनुसार खाना र उपचार गराउन आदेश गराउनुभएको थियो । थर्मस र गिलास ल्याइदिए । तयारी खानेकुरा र औषधी थियो । कलाले लुगाहरू छ कि छैन भनी सोध्नुभयो । प्रहरीहरू हाकिम र नेतालाई आमाचकारी गाली गरिरहन्थे । अवकाश भएपछि उपदेश दिने डीआईजी र आईजीपी बहाल रहँदा के गर्यो ? … फलानाका छोराहरू ! आफू घूस खाएर मोटाउने, हाम्रो भत्ता काट्ने ? मन्त्री खुसी पार्ने, हामीलाई मार्ने …फलानाका छोराछोरीहरू भनिरहन्थे ।

धरान इप्रका आउनासाथ इन्सपेक्टरले मेरो शारीरिक समस्याबारे सोधे । मैले भात नखाईकन फालिदिएको देखेका र आज न्यायाधीशको आदेशसमेत मनन गरेर होला व्यवस्था गरिदिए । धनुषाको भन्दा सुनसरीको जनसङ्ख्या बढी छ तर थुनुवा धनुषामा १० गुणा बढी देखिन्छ । भीडभाड ज्यादै छ र प्रहरीहरू १८ घन्टासम्म दैनिक काम गर्नु पर्दा कोरोना साम्य हुनासाथ जागिर नखाने बताउँछन् । उनीहरू दिक्दारी, झर्कोफर्को, तनाव, कुण्ठा र आक्रोशको भुमरीमा छन् । सुविधाको अभाव, हाकिम र जनता दुवैतिरबाट अपमान, पारिवारिक वातावरणको अभाव, पेन्सन अवधि बढ्नु र भत्ता कटौतीले अधिकांश प्रहरी जवान र हबल्दार मानसिक रोगीको अवस्थामा छन् । दुई नम्बर प्रदेशमा धेरै भए पनि धरान र चिवतवको स्थिति पनि कम थिएन ।

अबेर खाना खाएँ । खाना कुपोषणको कारखानाजस्तो थियो । प्रहरी जवान सबैले त्यही खान्छन् भन्थे । तर सफा र शिष्टता भने थियो । धनुषाका प्रहरी हबल्दार र जवान मान्छे हो र भन्थे तर थुनुवाप्रति उनीहरू पनि जङ्गली व्यवहार गर्थे । धरानमा आज दुई दिनसम्म त्यस्तो भएको छैन । आर्थिक दुरवस्थाले सांस्कृतिक पतनलाई गहिरो पार्दै लग्छ । २ नम्बर प्रदेशमा मुठीभर ठालुमा सामन्ती चिन्तन र आमसमुदाय दास अवस्थामा छन् । एउटालाई छपाछप काट्दा अर्को चूप बस्छ । त्यही पशुचेत समाजमा छ । यद्यपि यो दलाल पुँजीवादी समाजको प्रतिनिधि चरित्र नै हो ।

सरकारी वकिल नै भगुवा भएपछि

गृह मन्त्रालय र चितवन प्रहरीको दबाबमा भदौ २० गतेको ल्याब टेस्ट रिपोर्टसमेत चिकित्सकलाई हेर्न नदिई षड्यन्त्रपूर्ण तवरले असार ३ गते डिस्चार्ज गरेको पत्र भदौ २० गते थमाइयो । त्यसलगत्तै पक्राउ पुर्जी पनि दिए । त्यसपछि जिप्रका लगियो । वैशाख २३, जेठ १८ र भदौ २० गते गरी यो चार महिनामा तेस्रो गिरफ्तारी थियो । मलाई गिरफ्तार गर्नुअघि मेरो फोन जाम गराएर सम्पर्कविच्छेद गराइएको थियो । फोन जाम गराइएको कुरा भतिजको फोनबाट गरेपछि मात्र थाहा भयो । जिप्रकाको होटेलमा सातु, दूध र दुईवटा केरा खाएँ । राती ८ बजेतिर सिभिल जिपमा सादा पोसाकका प्रहरीले मूलबाटो छलेर महेन्द्र राजमार्गमा निकाले । विप्लवलाई भूमिगत भन्दै आफैँ भूमिगत कामकारबाही गर्दै थिए । बाटोमा प्ररहीसँग लामो छलफल भयो । कमान्डरले कुरैकुरामा कुमार पौडेललाई मार्नु गलत थियो । केडी शाह तराईको आपराधिक समूहसँग मिलेको पुष्टि भएपछि निलम्बन भएको हो । घूस खुवाएर पुनर्बहाली भएको, आपराधिक समूहसँग मिलेको पुष्टि भएपछि निलम्बन भएको हो । घूस खुवाएर पुनर्बहाली भएकाले आपराधिक मान्छे हो भन्दै थिए । मैले शाहभन्दा ठूलो मुख्य अपराधी सर्वेन्द्र खनाल हो र गृहमन्त्री र गृहसचिव मतियार हुन् । माथिको आदेशबिना त्यत्रो घटना हुँदैन भनेको थिएँ । बीचबीचमा बाटोमा रोक्दैरोक्दै गइयो । एमसीसीको कुरा भयो । प्रहरीमा हाकिम, नेता सबैप्रति आक्रोश देखिन्थ्यो । जागिरप्रति सन्तुष्टि थिएन । प्रहरी नेतृत्वले फुली थाप्न तीन सय, चार सय घूस खायो भनेर निलम्बन गरेको छ । ‘अख्तियार र सरकारलाई खुसी पार्ने, आफूले फुली थाप्ने, सानालाई जेल हाल्ने, ठूलालाई केही नहुने …फलानाका छोराहरू’ भन्दै गाली गरिरहन्थे । निजगढमा धनुषा प्रहरीको भ्यान रहेछ । अड्डासार गरे । ‘बिरामी हुनुहन्छ, राम्ररी लग्नुहोला’ चितवनका हाकिमले औपचारिकता पूरा गरे । बीचमा सजिलो सिटमा बस्नासाथ भ्यान अघि बढ्यो । ‘यस्तो नभईकन कसरी जितिन्छ, होइन सर ?’ टोली प्रमुख असईले भने । सबै कालाकाला थिए । राती १ बजे जिप्रका धनुषा पुुगियो । प्रक्रिया सकेर तुरुन्तै अस्पताल लगे । डाक्टर भनाउने ठेउकेले रक्सी खाएको छ कि छैन ? भन्यो । जाँचेर भन्नु न, मैले भनेर हुने भए कोरोना सार्न यो भद्रगोलमा किन ल्याएको भनेँ । डाक्टरले निलडाम छ ? भन्यो मैले हृदय र हड्डीको निलडाम हेर्नु्स पहिले भनिदिएँ । उसले हेरिहाल्यो । त्यसपछि आफ्नै भाषामा केही भन्यो । प्रहरीले मलाई जाऔँ सर भने । सुत्ने कोठा (कोत) पुग्दा ३ बजेको थियो । मेरो त सुत्ने होइन, उठ्ने बेला हुन लागेको थियो । निद्रा लागेन ।

राती ८ बजेतिर सिभिल जिपमा सादा पोसाकका प्रहरीले मूलबाटो छलेर महेन्द्र राजमार्गमा निकाले । विप्लवलाई भूमिगत भन्दै आफैँ भूमिगत कामकारबाही गर्दै थिए । बाटोमा प्ररहीसँग लामो छलफल भयो । कमान्डरले कुरैकुरामा कुमार पौडेललाई मार्नु गलत थियो । केडी शाह तराईको आपराधिक समूहसँग मिलेको पुष्टि भएपछि निलम्बन भएको हो । घूस खुवाएर पुनर्बहाली भएको, आपराधिक समूहसँग मिलेको पुष्टि भएपछि निलम्बन भएको हो । घूस खुवाएर पुनर्बहाली भएकाले आपराधिक मान्छे हो भन्दै थिए । मैले शाहभन्दा ठूलो मुख्य अपराधी सर्वेन्द्र खनाल हो र गृहमन्त्री र गृहसचिव मतियार हुन् । माथिको आदेशबिना त्यत्रो घटना हुँदैन भनेको थिएँ ।

बिहानै औषधी खानुपथ्र्यो, दिएनन् । औषधी, तयारी खानेकुरा, पैसा, कलम, लुगा सबै उनीहरूले नै कब्जा गरेका थिए । ११ बजेसम्म औषधी नदिएपछि मैले ‘औषधी खान नदिएर मार्न खोजेका, म नारा लगाएर आमरण अनशन बस्छु । त्यसो भयो भने म मरौँला तर तिमीहरूलाई हत्यारा बनाएर मर्छु’ भनेँ । निरीक्षकलाई पटकपटक भन्दा सुनेको थिएन । अपराधी प्रकृतिको मान्छे रहेछ । सबै औषधीसहित मलाई अस्पताल लगे । आकस्मिक कक्ष सानो, भीडभाड, मास्क, सेनिटाइजर केही थिएन । गरिबहरू भुइँमा लडिरहेका थिए । मेरो मनले ‘थुक्क वलीको समाजवाद र मधिसेको सङ्घीयता’ भनिरहेको थियो । डाक्टरले उही ‘गोपी कृष्ण कहु’ रक्सी खानुभएको छ भन्यो । मैले म रात्री क्लबबाट आएको होइन भनिदिएँ । उसले ‘ए, थाहा भएन’ भन्यो । यसरी चलिरहेको छ देश । हिजो बिहान १० बजेदेखि खाना खाएको थिइनँ । २८ घन्टापछि औषधी र खाना खाएँ ।

एउटा कोठामा १५ जनासम्म थुनुवा थिए । मास्क त प्रहरी नै नलगाउने रहेछन् । म बसेको छेउमा कोरोनाका ५ जना बिरामी थुनुवा थिए । खाना, पानी, बाटो, भान्से, भाँडा सबै एउटै । थाल र चर्पी मात्रै साझा थिएनन् । राती सुनसान भएपछि खान्थे, अलिकति धुपझैँ बालेर सुत्थे । छेउकै प्रहरी थाहा नपाएझै गर्थे । धेरैजसो थुनुवा चोरी, लागूपदार्थ, बलात्कार तथा देहव्यापारका थिए । एक दिन ३ वटी मुसहर जातिका महिला आए । महेन्द्रनगर बजारपश्चिम रातु खोलामा बढीको काठदाउरा छोपेका, महेन्द्रनगर प्रहरीले त्यही मागेको र नदिएपछि झगडा भएपछि पक्राउ गरिएको रहेछ । कति ससाना केटाहरू हरदम रोइरहेका हुन्थे । चर्पीको पानीले मन्जन, ब्रस, लुगा धुने, भाँडा माझ्ने, नुहाउने गर्नुपथ्र्यो । जेल र हिरासतभित्र देशको वास्तविक अनुहार देखिन्छ । म पानी किनेर खान्थेँ । फोहोर र महँगो देखेर खान मन लागेन । पानी र बिस्कुट सिरानमा राख्थेँ ।

तेस्रो दिन बयान दिइयो । फाँटवालाले उमा भुजेलको बयान दिए, ‘ब्रिगेड कमिसारलाई बम बनाउन नआउने रहेछ’ हाँस्दै–पढ्दै गरे । ‘मियाकी जुत्ती, मियाकी शर पर’ गर्नैपर्ने रहेछ । उमाले त इतिहास नै भन्नुभयो । मैले लेखिदिएँ,– रुकुम घर भएका कर्मचारी भन्दै थिए । न्यायाधीससँग पनि छलफल भयो । हामीलाई आरोप लगाइएको घटनाका विषयमा पनि कुरा भयो । न्यायाधीशको कुरा नलेखौँ । मैले ३ वटा कारण भनेँ– पहिलो, शङ्कास्पद वस्तु भेटेपछि एरिया सिल गरेर निष्क्रिय गर्नुपथ्र्यो । उनी सर्प खेलझैँ गरेर कर्तव्यच्यूत भए । दोस्रो ः मृतक घरवाला सुदखोर भएको स्थानीय र जिप्रकालाई थाहा हुँदाहुँदै औषधी पसलको कभरमा सुदखोरी भएको । तेस्रो : लेनदेनको विवाद रहिआएको अवस्था रहेछ । घटना भएपछि फसाउने नियतले परिपन्च रचियो ।

घटनालाई भेग फराकिलो बनाइएको र त्यसो गर्नु भनेको पीडितलाई न्यान नदिनु हो भन्ने एकजना न्यायाधीशको पनि सुनियो जसलाई मैले सत्ताको लास राजनीति भनेर बुझेको छु ।

धनुषामा पुगेको चौथो दिन अदालतमा पेस गरे । सरकारी वकिल आएनन् । अदालतले नै फोन गरेर बोलायो तर सरकारी वकिल मनोजकुमार गुप्ताले आउने–नआउने हाम्रो कुरा हो भन्ने ओठे जबाफ दिएछन् । सरकारी वकिलको औकात हेरेर न्यायाधीश नै गुनासो गर्दै थिए । न्यायमूर्ति र वकिलको बहस कुनै गोष्ठीको मन्थनजस्तो थियो । सरकारी बकिल अनुपस्थित भएपछि बहस अन्तरक्रियात्मक जस्तो भएको थियो । फैसला पर्र्खिंदै गर्दा प्रहरीले भने हाकिमलाई गाली गर्दै जीवन त्यसै गयो भनेर गुनासो गर्दै गरेका हुन्थे ।

अदालते जमानतमा रिहा गर्ने फैसला गर्यो । प्रहरी प्रमुखसँग अगाडिको कदमबारे बुझ्दा ‘थाहा छैन, आधा घन्टामा बुझेर भन्छु’ भन्यो र फोन बन्द गरेर बस्यो ।

अदालतको ढोकामा आएर फेरि गिरफ्तार गरे । मधेसी मूलकी महिला र पुरुष (पहाडे) दुवैले अदालतले छोडेको मान्छेलाई किन नछोडेको, छोड्नुपर्यो नि भन्दै थिए । फेरि जिप्रका लगे । वकिलहरू घर फर्के । राती ८ बजे मेरो सामान दिए । एकजना प्रहरी थिए, सहानुभूति राख्थे । औषधी, पानी, खाजा दिन झर्को मान्दैनथे । उनले के हो यो कानुन पनि, अदालतले छोड्ने, प्रहरी नछोड्ने भन्दै थिए । हामी पनि पार्टी ज्वाइन गर्दछौँ सर– थुनुवाहरू भन्थे । राती ८ बजे भूमिगत रूपमा गाडीमा हालेर हिँडे । पक्राउ पुर्जी थिएन । चोर बाटोबाट ढल्केबरपूर्व पुगेर पूर्वतिर लागे । लाहान कटेपछि बल्ल कोसीबाँध जाने हो भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :