तिमी लड प्रिय

तिमी लड प्रिय
आफैँसँग लड
आफ्नैसँग पनि लड
बुर्जुवा चेतनाले भरिएको
समाजसँग लड !
तिमी लड प्रिय…
जनघात, राष्ट्रघातका विरुद्ध
बलात्कारी, हत्याराका विरुद्ध
अन्याय, अत्याचारका विरुद्ध
गरिबी, भोकमरीका विरुद्ध
अशिक्षा, बेरोजगारीका विरुद्ध
कालोबजारी, तस्करीका विरुद्ध
दलाल पुँजीवादका विरुद्ध
हो, प्रिय तिमी लड्नैपर्छ !

हेर फर्केर एकचोटि
तिमी बसेकै समाजलाई
बलात्कृत भएर न्याय नपाउँदै
आत्महत्या गर्न बाध्य भएकी नारी
एक छाक खान नपाएर भोकभोकै
सडकको किनारमा दिनरात बिताउन बाध्य
कलिला मुनाहरु
बेरोजगारीकै कारण
साहूको ऋणले थिलथिलो भई
बिदेसिएका लाखौँलाख युवा
न्याय र स्वतन्त्रताका लागि
गणतन्त्रको नारा लगाउँदै गर्दा
छातीमा गोली थापेर बलिदान दिने
उनै महान् सहिदहरु
बेपत्ता योद्धाका परिवारहरु
शरीरमा अझै बन्दुकका गोली र
बमका छर्रा बोकेर
उपचारका निम्ति छट्पटाइरहेका
उनै हजारौँ छापामार योद्धाहरुलाई
हो, यो त्यही समाज हो
जहाँ तिमीले
अनगिन्ती सपनाहरू बाँडेका थियौ !
आज यहाँ
समानता, स्वाधीनता, राष्ट्रियता
अनि
आत्मनिर्भर समाज र सिङ्गो मानवमुक्तिको कुरा उठाउने
योद्धाहरुलाई गिरफ्तार गरिन्छ
भ्रष्टाचारीलाई संरक्षण गरिन्छ
पैसा र पावरले
अड्डा, अदालत र प्रशासन किनिन्छ
त्यसैले तिमी लड प्रिय
यो सिङ्गो दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध !
आऊ प्रिय
हातमा हात मिलाउँदै तिमी
समाजवादको सपना सजाएर
क्रान्तिको ज्वाला बोकेर
विद्रोहको विगुल फुकेर
समानताको दियो बालेर
फेर्नु छ अझै काँचुली
बनाउनु छ सुन्दर समाज
चुम्नु छ साम्यवादी सपना
त्यसैले तिमी लड प्रिय
निरन्तर लड !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :