नेपाललाई सघाउन चीन तयार

सन्दर्भ : दौत्य सम्बन्धका ६५ वर्ष

काठमाडौँ : भारतसँग सीमा विवाद र अमेरिकासँग व्यापार शीतयुद्ध लडिरहेको शक्तिसम्पन्न मुलुक चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक नेपाललाई सघाउन र असल छिमेकीको सम्बन्ध राखिरहन तयार रहेको बताएका छन् । नेपाल–चीन दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा सीले भनेका छन्, ‘नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ ।’

नेपाल चीनका लागि अत्यन्त संवेदनशील छिमेकी मुलुक पनि हो । चीनलाई घेर्न अमेरिकाले नेपालमा लाद्न लागेको एमसीसी परियोजना नेपाली जनताबाट बहिष्कृत भइसकेको छ भने चीनले अघिसारेको महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालले स्वीकृत गरिसकेको छ । त्यसैले पनि चीनका लागि नेपाल रणनीतिक महत्वको छिमेकी मुलुक हो ।

दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगतिपथमा अगाडि बढाउन सकियोस् भन्ने विश्वास व्यक्त गरेको शनिबार चिनियाँ समाचार एजेन्सी सिन्ह्वाहले उल्लेख गरेको छ । समाचारअनुसार राष्ट्रपति सीले दुई देशलाई बढी फाइदा पु¥याउन र क्षेत्रीय स्थिरता र विकासमा सकारात्मक योगदान पु¥याउनका लागि नेपालसँग काम गर्न तयार रहेको बताएका छन् ।

यस्तै नेपालकी राष्ट्रपति विद्या भण्डारीले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदै जाने विश्वास व्यक्त गरेकी छिन् । उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोरोना भाइरस महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :