वली सरकार पाँच वर्षसम्म अस्तित्वमा रहे जनमत समाप्त हुन्छ : खनाल

सरकारी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।
सहाना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ । हाम्रो जनमत समाप्त हुन्छ ।’
सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । उनले नेकपासामु तीनवटा विकल्प रहेको बताए । खनालले भने, ‘यथास्थितिमा जाने, सुधार गरेर जाने र अनिश्चित भविष्य बोकेर हिँड्ने ।’
उनले अगाडि भने, ‘पार्टी फुट्ने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा वलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।’
कार्यक्रममा खनालले अगाडि भने, ‘प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनुभएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’
दोस्रो विकल्प सुधार गरेर जाने विषयमा उनले भने, ‘पार्टीभित्रै सुधारको आवश्यकता छ । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुईतिहाइ सरकारले खाइसकेको छ । तत्काललाई दुईतिहाइको कल्पना गर्न सक्दैनौँ ।’
तेस्रो विकल्प अनिश्चित भविष्यका बारेमा उनले भने, ‘सुधार गर्न नसकेर यथास्थितिमा बस्यौँ भने अनिश्चिततातिर जान्छौँ । सही नीति लिन सकेनौँ भने भूराजनीतिक कारणले कम्प्युनिस्ट पार्टी मात्रै होइन, कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :