प्रहरीको लापरबाहीले दुर्घटना

काठमाडौँ : गत वर्ष मङ्सिर २७ गते राती धनुषा जिल्ला, क्षिरेश्वरनाथ नपा ५, महेन्द्रनगरमा भएको बम विस्फोट र प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश शाह र उनका छोरा आनन्द शाहको उपचारका क्रममा मृत्यु भएको र अरू केही व्यक्ति घाइते भएको घटना सम्बन्धमा धनुषा प्रहरीले विभिन्न व्यक्तिउपर लगाएको अभियोगपत्र रातो खबर अनलाइनलाई प्राप्त भएको छ ।

मृतक राजेश शाहले प्रहरीलाई खबर गरेका, विस्फोटक पदार्थजस्तो लागेपछि सतर्क भएका र प्रहरी निरीक्षक दाहालको टोली घटनास्थलमा आएपछि शङ्कास्पद वस्तुप्रति अपनाउनुपर्ने न्यूनतम् सावधानी पनि नअपनाएको र त्यसकारण घरवाला र स्थानीयसमेत ढुक्क भएर शङ्कास्पद वस्तु चलाउँदा अप्रिय घटना भएको यथार्थ घटना लगत्तै राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । नक्कली बम ठानेर असावधानी र लापरबाही गर्दा उक्त घटना भएको थियो ।

प्रहरी बलले कर्तव्यपालनामा असावधानीवश भएको घटनापछि उक्त दुर्घटना तथा भवितव्यलाई नेकपा समाप्त पार्ने रणनीतिअनुसार प्रहरीले झूट्टा अभियोगपत्र तयार गरेको देखिन्छ । हामीलाई प्राप्त ९२ पृष्ठको उक्त अभियोगपत्रको पृष्ठ ६ मा ‘सो ठाउँमा भेला–जम्मा भएका मानिसहरूलाई हटाई एरिया क्लियर गर्ने क्रममा २०७६ मङ्सिर २८ गते राती अन्दाजी २४:२५ बजेको समयमा उक्त प्रेसर कुकर बम विस्फोट हुँदा …..’ सो घटना भएको भनिएको छ । घटनास्थल सिल गरेर प्राविधिक टोली ल्याएको भए त्यत्रो घटना हुने नै थिएन । प्रहरी, घाइते र स्थानीय सबैको एउटै र एकै प्रकारको भाषा–शैली र प्रस्तुति देखिन्छ । त्यसबाट प्रहरीले तयार गरेर नाम मात्र फरक गरी आवश्यक सबैलाई हस्ताक्षर गर्न लगाएको देखिन्छ ।

नेकपाको व्यक्तिहत्या गर्ने नीति नभएको र प्रहरीमाथि आक्रमण नगर्ने नीति रहेको जगजाहेर छ । मृतक राजेश शाह औषधी पसले रहेको तर औषधी पसल सम्पर्क स्थल बनाएर सूदखोरी गरिरहेको प्रहरीसमेत परिवार र स्थानीयको एउटै भनाइ देखिन्छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय संस्थाबाहेक अरूले लाखौँको वित्तीय कारोबार गर्नु गैरकानुनी कार्य हो । त्यस्तो कार्य बर्सौंदेखि भइरहँदा प्रहरीले किन नियन्त्रण गरेन ? यसबाट प्रहरीकै संरक्षणमा सूदखोरी भइरहेको देखिन्छ । सूदखोरीका कारण दर्जनौँ गरिब, दलित, निम्छराको उठीबास भएको र त्यसले अन्तरविरोध बढ्दै गएको देखिन्छ । नेकपाले सूदखोरहरूलाई दबाब दिएर पीडितलाई उद्धार गर्ने गर्दै आएको र त्यही उद्देश्यबाहेक शाह र परिवारको हत्या गर्ने उद्देश्यले घटना गराएको भन्ने अभियोग बदनियतपूर्ण देखिन्छ । बदनियतपूर्ण प्रतिशोध र बदलाभावले अन्तरविरोधलाई अझ चर्काउन सक्छ । प्रहरीले चन्दा प्रसङ्गलाई जोडेर पार्टीलाई बदनाम गर्न खोजेको नेकपको धारणा देखिन्छ । अझ पार्टीको त्यस्तो घटना गराउने केन्द्रीय नीति नै नभएको र कर्तव्यपालनमा खटिएको प्रहरी बलको असावधानीले हुन गएको घटनालाई नेकपाका महासचिव विप्लवसहित सबै केन्द्रीय नेताहरूलाई जिम्मेवार ठहर्याउनु वा त्यसआसयको अभियोग लगाउनु हास्यास्पद देखिन्छ ।

न्यायशास्त्रमा आरोपितलाई अत्यन्त झूठो र सामान्य घटनामा भयानक आरोप लगाउनु भनेको अभियोगलाई स्वतः कमजोर बनाउनु हो भनिन्छ । अभियोगपत्रमा गिरफ्तार आरोपितलाई निर्मम यातना दिएर झूटो बयानमा हस्ताक्षर उराउनुबाहेक प्रहरीले अभियोग पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेको देखिन्न ।

सूदखोर राजेश शाहको परिवारलाई नै क्षति पुर्याउने उद्देश्य भएको भए कम्पाउन्डको गेटमा निशाना बनाइने थिएन भन्ने बुट्टन सकिन्छ । घटनास्थल बरामदी मुचुल्का, गिरफ्तार गर्दाको स्थिति आदिमा पनि प्रहरीले ठोस प्रमाण पेस गर्न सकेको देखिन्न । रोहित ढकाललाई प्रहरीले नै पत्रकारको भूमिकामा रहेको भनेको छ भने प्रकाशन सामग्री कब्जा गरेकै आधारमा अभियोग कसरी पुष्टि हुनसक्छ ? घटनाको वास्तविकता शाह बदनाम सूदखोर रहेको, प्रहरीकै संरक्षणमा उक्त धन्दा चलिरहेको, निज शाहले उठीबास पारिएकालाई उद्धार गर्ने पार्टी नीति रहेको र दबाब मात्र दिन खोज्दा प्रहरीको असावधानीको कारण दुःखद् घटना भएको देखिन्छ । तर धनुषा प्रहरीले विभिन्न दबाबमा परेर आफ्नो कमजोरी छोप्ने, प्रतिशोध साध्ने र द्वन्द्व चर्काउने गरी अभियोगपत्र तयार गरेको देखिन्छ । नक्कली बम भनेर प्रहरी असावधानी हुनुले प्रहरी अधिकारी र स्थानीयको जनधनको क्षति भएको यथार्थ हो भन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :