नेकपा लुम्बिनी ब्युरोद्वारा एमसीसीविरुद्ध मशाल जुलुस


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू हुन नहुने भन्दै त्यसको विरोधमा मशाल जुलुस निकालेको छ । शनिबार जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा लुम्बिनीका ६ वटै जिल्लामा मशाल जुलुस गरेको नेकपा लुम्बिनी ब्युरोले जनाएको छ ।

रूपन्देही – नेकपा रूपन्देहीले बुटवल नगरपालिकामा मशाल जुलुस गरेको छ । मशाल जुलुसमा नेकपा निकट जनवर्गीय सङ्गठनहरूको सहभागिता थियो । मशाल जुलुसमा युवा सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणलगायतले बोलेका थिए ।

त्यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि नेकपाले जुलुस प्रदर्शन गरेको छ । जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै जीवन र समीरमानले एमसीसी अमेरिकी सैन्य रणनीति भएको भन्दै यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताएका थिए । मशाल जुलुसमा एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको थियो । प्रदर्शनमा स्थानीय जनताको समेत सहमागिता रहेको थियो ।

पाल्पा –नेकपा पाल्पाले तिनाउ गाउँपालिकामा एमसीसीविरुद्ध मशाल जुलुस गरेको छ । मशाल जुलुसमा नेकपा पाल्पाअन्तर्गत रहेका जनवर्गीय सङ्गठनहरूको सहभागिता थियो । मशाल जुलुसपछि दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य निशानले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले यसका विरुद्ध सङ्घर्षको विकल्प नभएको बताए । कार्यक्रममा अमर विकले पनि बोलेका थिए ।

नवलपरासी –नेकपा नवलपरासीले सुनवल नगरपालिकामा मशाल जुलुस सम्पन्न गरेको समाचार प्राप्त भएको छ । मशाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा नवलपरासीका सेक्रेटरी अग्निपुञ्जले एमसीसी असफल पार्न देशभक्त नेपालीहरूले सङ्घर्ष गर्नुपर्ने भन्दै त्यसका लागि एक हुन जरुरी रहेको बताए । जुलुसमा नेकपा नवलपरासीअन्तर्गत जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरूको सहभागिता थियो ।

कपिलवस्तु –नेकपा कपिलवस्तुले वाणगङ्गा नगरपालिकामा एमसीसीविरुद्ध मशाल जुलुस सम्पन्न गरेको बताएको छ । नेकपा कपिलवस्तु स्रोतका अनुसार जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा गरिएको मशाल जुलुसमा एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियो ।

अर्घाखाँची –नेकपा अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानहरूमा जनवर्गीय सङ्गठनमार्फत एमसीसीविरुद्ध मशाल जुलुस सम्पन्न गरेको बताएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, शीतगङ्गा नगरपालिकाका तीन स्थानमा मशाल जुलुस सम्पन्न गरिएको नेकपा अर्घाखाँचीले जनाएको छ ।

गुल्मी –नेकपा गुल्मीले मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकामा मशाल जुलुस गरेको बताएको छ । जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा गुल्मीका नेता शिव पोखरेल र चन्द्र विकले एमसीसी परियोजना संसदबाट पास गराउन लागेको भन्दै यसलाई रोक्नका लागि शसक्त सङ्घर्ष गर्नुपर्ने बताए ।

जनवर्गीय सङ्गठनमार्फत गरिएको उक्त मशाल जुलुसमा स्थानीय जनतासमेत सहभागी भएका थिए ।

नवलपुर –नेकपा नवलपुरले मध्यबिन्दुमा मशाल जुलुस सम्पन्न गरेको छ । जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा सम्पन्न मशाल जुलुसमा जिल्लाका जनवर्गीय सङ्गठन र स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।

कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठनका जिल्ला अध्यक्ष अविनाशले एमसीसी कुनै पनि हालतमा संसद्बाट पास हुन दिन नहुने भन्दै यसका विरुद्ध सङ्घर्ष गर्न देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए । उनले एमसीसी अमेरिकी सैन्य रणनीतिसित सम्बन्धित रहेको भन्दै वली र देउवा यसको मतियार भएको बताए ।

नेकपा लुम्बिनी ब्युरोले ब्युरोअन्तर्गतका विभिन्न जिल्लाहरूमा एमसीसीविरुद्ध सङ्घर्ष गर्दै आएको छ । यसभन्दा अगाडि पोस्टरिङ, पर्चा वितरण, रित्तो थाली बजाउने, साहित्यिक कार्यक्रम, अन्तरक्रिया, सडकमा एमसीसीबारे छलफल, अध्यापन, युवा प्रदर्शन, कोणसभालगायत कार्यक्रम सम्पन्न भइसकेको नेकपाले जनाएको छ । भिडियाे .. Please, Like/Share/Comments & Subscribe.

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :