कालिकोटको गाउँगाउँमा प्रहरी दमन नरोके प्रतिरोध गर्ने नेकपाको चेतावनी

द्वन्द्वको झझल्को, स्थानीयहरु दमनको सामना गर्दै


कालिकोट : नेपाल कम्युनिस्ट पार्टीको दबदबा रहेको भनिएको कालिकोट जिल्लामा प्रहरी र नेकपा कार्यकर्ताबीच जुनसुकै बेला भिडन्त हुने अबस्था सिर्जना भएको छ । आफ्नो आधार क्षेत्र मानिरहेको कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरीले उपस्थिति जनाउँदै ब्यापक सर्च अपरेशन गरेपछि नेपाल कम्युनिस्ट पार्टी कालीकोट निकै आक्रोशित बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले सर्लाही घटना दोहोर्याउने सपना बोकेर प्रहरी गाउँ प्रवेश गरेमा खरानी पार्ने चेतावनी दिएका छन् । कालिकोटको एक विकट गाउँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले त्यस्तो चेताबनी दिएका हुन् । जिल्लाभित्र भएका केही घटनालाई आधार मानेर प्रहरी गाउँ–गाउँ छिरेर खानतलासी गर्ने, ब्यापक धरपकड गर्ने, जनता आतंकित गर्ने र आफ्ना नेता तथा कार्यकर्ताको प्रहरीले पिछा गर्ने गरेमा आफ्नो पार्टीले प्रतिरोध गर्ने जानकारी दिंदै उनले त्यसकालागि तयार रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । आफुहरुको लडाइँ सेना र पुलिससँग नभएको जिकिर गर्दै नेता रणदिपले देशको ढुकुटी खत्तम पारेर लुट मच्चाउने भ्रस्ट जनप्रतिनिधि र देशका भ्रष्ट दलालहरुबिरुद्धको लडाइँमा साथ दिन सम्पूर्ण सुरक्षाकर्मीसँग अनुरोधसमेत गरे ।

शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउँने अधिकारलाई सरकारले प्रतिबन्ध लगाएकाले आफुहरु बाध्य भएर संघर्षमा जानुपरेको बताउँदै नेता रणदीपले यही संघर्षका क्रममा झुट्ठा मुद्दा लगाएर गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरे । यदि गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहा नगरी पार्टी थप शसक्त संघर्षमा जाने चेतावनी दिंदै त्यसबाट उत्पन्न हुने परिणामको भागीदार सरकार स्वंम हुने उनको भनाई थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि नेकपाको गतिविधि कालिकोटमा झन् बढ्दै गएपछि सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंगलबार राती नरहरीनाथ गाँउपालिकाको कार्यालय स्थानीय जनताहरुले जलाएपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए । उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ ।’

नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ । नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोटवाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो ।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेको छ ।

नेकपाविरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै नेकपाको कालिकोट जिल्ला कमिटीमा रहेका ८८ जना नेताहरुको घरघरमा पुगी गिरफ्तार गर्ने बताए । उनले भने, ‘हामीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेका छौँ । कुनै पनि हालतमा चारैतिरबाट घेराबन्दी गरेर नेकपाको कालिकोटका नेताहरुलाई पक्राउ गर्छौँ ।’

कालिकोटका ग्रामिण स्तरमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र नेकपाविरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन् । २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको दशबर्षे जनयुद्धको दर्दनाक पीडा भोगेका कालिकोटका नागरिकहरु पुन मुलुक द्वन्द्वमा जान्छ कि भन्ने अनुमान लगाउन थालेका छन् । गाँउमा नेकपाले गतिविधि बढाउनु र सरकार नेकपाप्रति दिन प्रतिदिन आक्रामक बन्नु, प्रहरी पनि गाउँ केन्द्रित हुनुले स्थानीय नागरिक द्वन्द्वको चपेटामा पर्ने डर सिर्जना भएको छ । अहिलेसम्म त्यहाँका जनताहरु भने दमनकाविरुद्ध प्रतिरोध गर्दै आइरहेका छन् ।

२०७६ असार १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :